कानूनको रक्षक हुनुपर्ने सरकार आफैं भक्षक भयो – अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कानूनको रक्षक हुनुपर्ने सरकार आफैं भक्षक हुन पुगेको बताएका छन् । 

समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई आइतबार सम्बोधन गर्दै उनले संसदको समितिमा विचाराधिन भएका विधेयकहरु फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न नपाइने बताएका हुन् । उनले भने,‘ दुई पार्टी सत्तामा छन्, उनीहरुमा दम्भ सवार भएको छ । त्यो दम्भ सवार भएकाले संविधान, कानून, सबै जे पनि मिच्न सकिन्छ भन्ने मान्यता विकास भएको छ । कतिपयलाई मूर्ख बनाउन सकिन्छ भनेर मूर्ख बनाउने काम पनि विगतमा गरेका छन् । तर असत्य धेरै दिन टिक्दैन । सबैलाई थाहा छ । संसदको समितिमा विचाराधिन भएका विधेयकहरु फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न पाइँदैन । कानूनको खुलेआम उलङघन गरेर सरकार अगाडि बढेको छ । कानूनको रक्षक हुनुपर्ने सरकार आफैं भक्षक हुन पुगेको छ ।’

उनले संसदको बैठक अधिवेशन बोलाउनुपर्ने बेलामा त्यसलाई छलेर अध्यादेश ल्याउने काम गर्नुको पछाडि राम्रो नियत नभएको पनि बताए । उनले भने,‘संसदको नियमित अधिवेशनमा कानूनमा सुधार गर्नुछ भने त्यसको प्रक्रियाबाट जानुपर्नेमा संसद नै छलेर संसदको बैठक अधिवेशन बोलाउनुपर्ने बेलामा त्यसलाई छलेर जसरी अध्यादेश ल्याउने काम भएको छ । यसका पछाडि राम्रो नियत देखिदैन ।’ उनले पार्टीबाट जानेहरु घर न घाटको भएको भन्दै समय मिलाएर कसैले थाहा नपाउने गरी भेट्ने कुरा भएको पनि बताए । 
 

प्रतिक्रिया