मुगुका कृषक स्याउ खेतीमा आकर्षित, प्राविधिक ज्ञानको अभाव

मुगु । मुगुमा सडक संजाल विस्तार भएसँगै उत्पादित स्याउको माग बढ्न थालेको छ ।

स्याउको माग बढेपछि कृषकहरु खेतीप्रति आकर्षित छन् । यतिबेला यहाँका कृषक स्याउको बिरुवाको काँटछाँट, गोडमेल, मलजल गर्ने चटारोमा छन् ।माघ–फागुन महिना स्याउका बिरुवामा पालुवा, कोपिला हाल्ने समय भएकाले अनावश्यक हाँगा काँटछाँट, गोडमेल, मलजल गर्ने उपयुक्त मानिन्छ ।त्यसैले काँटछाँट, गोडमेल, मलजल, निलोतुथो, चुना लगाएपछि स्याउको उत्पादन राम्रो हुन्छ । त्यसैले स्याउ पकेट क्षेत्र रहेको ताल्चा, पिना, झ्यारी, कोटीला, बाम, रोवा, सोरुकोट ,कालापाल्त, धैन, सेरी, जाम, रासकोटीवाड, खमाले, लुमेरा, कोटीलामा कृषकहरु स्याउ बगैचामा व्यस्त देखिन्छन् । 

१५ बर्षको उम्मेरमा घर परिवारसहित भारतको हिमान्चल प्रदेशमा ३२ बर्षसम्म बसेर काम गरेका कृषक जसन्त कुलाल भारतबाटै विरुवा ल्याएर स्याउ खेतीमा सक्रिय रहेको बताउछन् । ‘यतिबेला आफ्नै बगानमा पाँच सय स्याउका फल दिने बिरुवा छन् । दुई हजार पाँच सय साना बिरुवा छन् । हामी पाँच जना स्याउ स्याहर्ने काममा व्यस्त छौ,’ उनले भने ।

‘बिगतका बर्षहरुमा ‘कोदो, जौ, गहुँ, तरकारी खेतीले बालबच्चा र घर चलाउन समस्या भयो । पछिल्लो समयमा सडक सन्जाल जोडिएपछि स्याउको माग बढ्न थाल्यो । त्यसैले पुरानो काम छाडेर स्याउ खेती शुरु गरेका हौं । अहिले घरखर्च र छोराहरुको पढाइ खर्च स्याउ खेतीले धानेको छ, बिहान उठेदेखि बेलुकीसम्म स्याउकै काममा व्यस्त छु’, छाँयानाथ रारा नगरपालिका १० का कृषक कर्णसिंह सेजुवालले भने । 

‘जै, फापर,कोदो, आलु खेतीबाट राम्रो आम्दानी नभएकाले स्याउ खेतीबाट राम्रो हुने भएकाले एक दशकदेखि यसमै सक्रिय छु’, अगुवा कृषक मणिचन्द्र भामले भने । 

मुगु जिल्ला स्याउ खेतीका लागि उपयुक्त हावापानी भएको जिल्ला हो । जिल्लाभर क्षेत्रफलको हिसावमा स्याउ उत्पादन हुने पाँच सय ५ हेक्टर क्षेत्रफल भएपनि फल दिने स्याउ ३ सय ७५ हेक्टरमा फैलिएको छ । कृषकहरुले व्यवसायिक स्याउ खेती गरि रहेको भएपनि प्राविधिक ज्ञानको अभाव रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइका प्रमुखले बताए । 

प्रतिक्रिया