पुलिसलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलको पुलिसलाई २–० गोलले पराजित गर्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । नवयुगले खेलको १९ औं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएको थिए । जिलेस्पी जंग कार्कीले बायाँ विंगबाट दिएको क्रसलाई नवयुगले पहिलो टचमै गोलको दिशा दिएका थिए ।

पहिलो हाफमै पुलिसको बराबरी गर्ने प्रयासमा क्रसबार बाधक बन्यो । ४३ औं मिनेटमा संजीव लामाले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहार क्रसबारमा लागेको थियो । ८० औं मिनेटमा आर्मीको आक्रमणमा रहेका चारै खेलाडी आवद्द मुभमा अग्रता दोब्बर भयो । निराजन धामीले मिडफिल्डमा खोसेको बल बक्सभित्र लगेर कटब्याक गरे । त्यसमा जिलेस्पीको प्रहार गोलरक्षक शत्रुघन चौधरीले बचाए । फुस्केको बललाई नवयुगले लो क्रस दिँदा दिनेशले फिनिस गरे ।

आर्मीले अब सेमिफाइननलमा भोलि हुने संकटा र एपिएफको विजेतासँग खेल्नेछ । आज हुने दोस्रो क्वाटरफाइनलमा आयोजक केपी एफसी र एनआरटीबीच खेल हुनेछ ।

प्रतिक्रिया