काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको मिति टुंगो नलाग्दै महाधिवेशनबाट कसले नेतृत्व हत्याउने भन्ने प्रतिस्पर्धा सुरू भइसकेको छ । नेताहरू पार्टीभित्र आफ्नो प्रभाव देखाउन कोही देश दौडाहामा छन् भने कोही गुटगत गतिविधिमा सक्रियता बढाउँदै छन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि फेरि आफ्नै गुटलाई सक्रिय बनाउने कसरत थालेका छन् ।
१३ औँ महाधिवेशनमा पार्टीभित्र नयाँ पुस्ताको नेतृत्व गर्दै सभापतिको प्रत्यासी बनेका सिटौलाले पहिलो चरणमा तेश्रो भएपछि अर्को चरणमा शेरबहादुर देउवालाई सभापतिमा समर्थन गरे, देउवा सभापति भए । १५ औँ महाधिवेशनमा त सिटौला सभापतिको उम्मेदवार समेत बनेनन्, र देउवालाई सघाए ।
त्यसयता पार्टीको संस्थापन पक्षमै देउवाकै सहयोगीकारुपमा देखिएका सिटौला पछिल्लो समय पुनः आफ्नै गुटलाई मजबुत बनाउने र पार्टीभित्र आफ्नो दाबी बलियो बनाउने प्रयासमा लागेका छन् । उनको नेतृत्वमा रहेको तत्कालीन तेश्रो धारमा लागेका नेताहरूको छुट्टै भेला बोलाएर सिटौलाले आफ्नो गुटको उपस्थिति दर्ज गरेका हुन् । झापाबाट चुनाव हारेपछि हाल राष्ट्रिय सभाको सदस्य रहेका सिटौला राष्ट्रिय सभा संसदीय दलका नेता समेत छन् । अब पार्टीको वैधानिक प्रावधानले नै देउवालाई फेरि सभापतिमा उम्मेदवार बन्न नमिल्ने व्यवस्थाका कारण यतिबेला १५ औँ महाधिवेशनमा सिटौलालाई सभापतिको एक दाबेदारको रुपमा समेत हेर्न थालिएको छ ।
१३ औँ महाधिवेशनबाटै पार्टीको नेतृत्वबाट किनारा लागेका सिटौला महत्वपूर्ण निर्णय गर्ने बेला पार्टीमा मात्रै होइन, राष्ट्रिय राजनीतिमा समेत देउवाका विशेष सहयोगी रहँदै आएका छन् । संविधान निर्माण गर्ने बेला मस्यौदा समितिको सभापतिकारुपमा भूमिका निभाएका सिटौला वर्तमान संविधानको पूर्ण कार्यान्वयनका पक्षमा प्रतिबद्ध छन् । तर संविधान कार्यान्वयनको चरणमा देशले उनलाई नेतृत्वकोरुपमा पाएको छैन । जसकारण कांग्रेसभित्रै एकपटक पार्टीको नेतृत्वमा सिटौलालाई परीक्षण गर्नुपर्ने धारणा राख्नेहरू थुप्रै छन् ।
सिटौलाले शनिबार आफ्नो निवासमा लामोसमयदेखि आफूनिकट रहेर काम गरिरहेका पार्टीका नेताहरूसँग छलफल गरे । १४ औँ महाधिवेशनपछि आफ्नो अलग्गै समूह खडा नगरेका सिटौला अहिले अर्काे महाधिवेशन आउने बेला भने आफ्नै गुट बलियो बनाउने प्रयासमा देखिन्छन् । शनिबार सिटौलाले आफ्नो गुटको भेला गरे, तर नाम दिए– संस्थापन पक्षको ।
सिटौलाले बोलाएको भेलामा केन्द्रीय सदस्यहरू शिवप्रसाद हुमागाईं र कुन्दन काफ्ले, कोशी प्रदेश समितिका महामन्त्री भूपेन्द्र राई, पूर्वमन्त्री भीमसेनदास प्रधान, बागमती प्रदेश समितिका महामन्त्री राजु श्रेष्ठ, गण्डकी प्रदेशका सांसद जित शेरचन र तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनलगायत उपस्थित थिए ।
नेताहरूका अनुसार उक्त छलफलले पार्टीभित्र प्रतिपक्षी समूहले आफ्ना गतिविधि तीब्र बनाइरहेकोमा संस्थापन पक्षले पनि अब तयारी सुरु गर्नुपर्नेमा जोड दिएका छन् । ‘हामी पुरानै साथीहरू बसौँ भन्ने हिसावले छलफल भएको हो । यस्तो भइरहन्छ,’ केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले भने, ‘यसलाई सिटौला गुट भन्न मिल्दैन । हामी सबै संस्थापन पक्षका हौँ ।’ १५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारको रुपमा मात्रै भन्दा पनि पार्टी र देशको हितका लागि नै सिटौलालाई अघि सार्नु उपयुक्त हुने निष्कर्ष रहेको उनले बताए ।
सिटौलाले यसअघि पनि आफ्नो समूहलाई सक्रिय बनाएका थिए, तर बन्द कोठामा होइन, खुला छलफलमा । उनको समूहले देशव्यापी संविधान कार्यान्वयन बहस चलाएको थियो– टक सेण्टरको नाममा । तर त्यसपछि भने उनको गुट निष्क्रिय जस्तै थियो ।
त्यसो त सिटौलाको गुट पनि टुटिरहन्छ । १३ औँ महाधिवेशनमा उनी सभापतिको उम्मेदवार बन्दा गगनकुमार थापा महामन्त्री पदका उम्मेदवार थिए । केन्द्रीय सदस्यमा प्रदीप पौडेल सहित उम्मेदवार थिए । थापा र पौडेलसहित हुँदा उनको गुट तेश्रो धारकारुपमा शक्तिशाली स्थापित थियो । तर समयक्रममा उनी आफैँ सभापति देउवाको छायाँ बन्दै थिए । उनको समूहमा फुट सुरु भयो । १४ औँ महाधिवेशनसम्म आइपुग्दा थापाले सिटौलाको साथ मात्रै छोडेनन्, शेखर कोइरालाको समूहबाट उम्मेदवार भएर महामन्त्री जिते । सिटौलाले थापाले आफूलाई छोडेर महामन्त्री उम्मेदवारी दिएको रिसमा अर्का युवा नेता प्रदीप पौडेललाई आफू सभापतिको उम्मेदवार नबनेर देउवाको टिमबाट महामन्त्री उम्मेदवार बनाए । पौडेल महामन्त्री पराजित भएपछि सिटौलाबाट अलग्गिए ।
अहिले महामन्त्री थापा र महामन्त्रीमा पराजित पौडेल एकजुट छन् । तर सिटौला फेरि थापा र पौडेल जस्तै अर्को युवा नेतृत्व खडा गर्ने र आफू पनि सभापतिको बलियो प्रत्यासी बन्ने कसरतमा जुटिरहेका छन् ।
१५ औँ महाधिवेशनलाई लिएर सिटौलाका दुई दाउ छन्– पहिलो आफैँ देउवाको उत्तराधिकारी बन्ने गरी सभापतिको उम्मेदवार बन्ने । त्यसकालागि उनले दुई पटकसम्म देउवाका लागि त्याग गरिसकेका छन् भने यसबीचमा हरेक काममा देउवाको सहयोगी बनेका छन् । जसले गर्दा देउवाले आफूपछि अर्को सभापति कसलाई बनाउने भन्ने प्रश्न उठ्दा देउवाले सिटौला रोज्ने सम्भावना उत्तिकै रहेको नेताहरू बनाउँछन् ।
सिटौला देउवा समूहमा घुलमिल भइसकेका छन् । देउवापछि दोश्रो वरीयताका नेतामध्ये सिटौला चतुर राजनीतिक खेलाडी मानिन्छन्, जसले गर्दा त्यो लहरमा उनी अगाडि देखिन्छन् । हालै सिटौलाले आफ्नो वरियताका ११ भाइ नेताहरूलाई देउवासमक्ष पु¥याए, र १५ औँ महाधिवेशनको तयारी थाल्नुपर्ने राय राखे । देउवा निवासमा भएको उक्त छलफलमा उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू शशांक कोइराला र प्रकाशमान सिंहसहित नेताहरू सहभागी थिए ।
सिटौलाको दोश्रो दाउ आफूनिकट नेताहरूलाई स्थापित गर्ने हो । यदि आफू सभापतिको उम्मेदवार नभए आफूनिकट नेताहरूमध्येबाट कसलाई कहाँ कुन जिम्मेवारीमा पु¥याउने भन्ने कसरत सिटौलाले गरिरहेका छन् । यसपटक उनले केन्द्रीय सदस्य कुन्दनराज काफ्लेलाई टेको दिइरहेका छन् । बागमती प्रदेशसभा सदस्य रहेका काफ्ले यसअघि प्रमुख सचेतक भइसकेका छन् भने हाल बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री छन् । सिटौलाले आफ्नो गुटका नेताहरूलाई ठाउँ–ठाउँमा अवसर दिलाएका उदाहरण धेरै छन् ।
नेता शेखर कोइरालाले दुई वर्षअघि नै सभापतिको उम्मेदवारी घोषणा गरेर मैदानमा छन् । महामन्त्री गगनकुमार थापाले पनि सभापतिका लागि आफूले तयारी थालिसकेको बताउँदै आएका छन् । यस्तोमा संस्थापन पक्षमा भने देउवाले कसलाई इशारा गर्ने र को अघि बढ्ने भन्नेबारे अन्योल छ ।
त्यही अन्योलका बीच सिटौला आफूलाई सभापतिको उम्मेदवार बनाउन देउवा समूहभित्रै वातावरण बनाउन चलखेल गरिरहेका छन् । त्यसो त कांग्रेसमा देउवापछि योगदान र सबैलाई समेटेर लेजान सक्ने पात्रका रूपमा सिटौलालाई हेरिन्छ । सिटौला कांग्रेसको आन्तरिक र अन्य दलसँग समेत समन्वय गर्न सक्ने स्वीकार्य पात्रका रूपमा हेरिन्छन् । नेपालको शान्ति प्रक्रियामा उनको महत्वपूर्ण भूमिका रहेको मानिन्छ ।
१२औँ महाधिवेशनपछि तत्कालीन सभापति सुशील कोइरालाले सिटौलालाई कांग्रेसको महामन्त्री मनोनीत गरेका थिए । महामन्त्री हुँदा कोइरालाको प्रिय पात्र रहेका उनी राष्ट्रिय राजनीतिमा त्यहीबेला उत्कर्षमा रहे ।
उपप्रधान तथा गृहमन्त्री भइसकेका सिटौलाले पछिल्ला चुनावमा निरन्तर पराजय भोग्नुपरेका कारणले पनि उनलाई राजनीतिकरुपमा धक्का लागेको छ । ०७० सालको संविधानसभामा मस्यौदा समितिको सभापतिकोरुपमा प्रभावकारी काम गरेका सिटौला संविधान जारी भएपछि भने निर्वाचित भएर संसद् प्रवेश गर्न पाएकै छैनन् ।
०७४ र ०७९ को गरी दुवै निर्वाचनमा उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भए । निरन्तर पराजयले थाकेका सिटौलालाई कांग्रेस सभापति देउवाले राष्ट्रिय सभामा ल्याएर संसदीय राजनीतिमा सामेल गराएका हुन् ।
प्रतिक्रिया