शाखा अधिकृतको विज्ञापन रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) को पदपूर्तिसम्बन्धी विज्ञापन यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश रामबहादुर थापाको एकल इजलासले पुस १८ गतेसम्म विज्ञापन प्रक्रिया यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

लोकसेवा आयोगले मंसिर २९ गते पदपूर्तिको विज्ञापन गरेको थियो । अदालतले पुस १८ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ । छलफलमा एकल इजलासबाट जारी अल्पकालीन आदेशले निरन्तरता पाएमा विज्ञापनको बाँकी प्रक्रिया रोकिने छ। आदेश खारेज भएमा विज्ञापन अनुसारको पदपूर्ति अघि बढ्ने छ । यसअघि २०७६ सालमा आयोगले सञ्चालन गरेको परीक्षाको नतिजा प्रकाशन नभएसम्म प्रक्रिया रोक्न निवेदकहरुले माग गरेका छन्।

राजबहादुर सार्की , नमोनाथ प्रसाद यादव , दिनेश भट्टराई, रवीन्द्र ओखेडा र अंकित शर्माले रिट दर्ता गरेका हुन् । कर्मचारी समायोजनमा असन्तुष्ट पक्षले सर्वोच्च अदालतमा दायर रिटमा जारी आदेशका कारण अघिल्लो वर्षको शाखा अधिकृतको अन्तिम नतिजा पनि रोकिएको छ। पछिल्लो समय अदालतमा उक्त रिटको पेसी तोकिए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो। रिटमा अन्तिम सुनुवाइ नहुँदा नतिजा प्रकाशन हुन सकेको छैन।

प्रतिक्रिया