‘कांग्रेसको कार्यकारी पदमा उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले पार्टीको कार्यकारी पदमा उम्मेदवार दिनका निम्ति सम्पत्ति विवरण बुझाउनपर्ने विधानमा व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

नेपाल विद्यार्थी संघ पूर्वकेन्द्रीय समिति (२०६८–२०७३) ले आयोजना गरेको बृहत भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको घोषणापत्र सार्वजनिक गर्दै नेताहरूले ४० वर्षभित्रका युवालाई ३० प्रतिशत प्रतिनिधित्व सुनिश्चितताको माग गरेको छन् । उनीहरूले युवासँगै विज्ञका निम्ति १० प्रतिशतसम्मको प्रतिनिधित्वको सुनिश्चित गराउन विधानमै व्यवस्था हुनुपर्ने माग गरेका हुन् । संविधान सभा सदस्य एवं नेपाली कांग्रेसका नेता रञ्जीत कर्णले नगरकोट घोषणापत्र सार्वजनिक गर्दैै जुनसुकै तह र क्षेत्रमा उम्मेदवारी दिन कार्य योजना प्रस्तुत गर्ने बाध्यकारी व्यवस्था हुनुपर्ने बताएका छन् । कर्णले आरक्षणमा नदोहोरिने व्यवस्था मिलाउन पनि ध्यानाकर्षण गराएका छन् ।

अन्तरक्रियामा वडा तहदेखि संसदसम्मको उम्मेदवार प्रस्तुत गर्न कार्यकालको कार्ययोजना अनिवार्य वैधानिक व्यवस्था गर्ने समानुपातिक निर्वाचन प्रणाली हटाइ संसद संख्या कम गर्ने र उम्मेदवारीमा समावेशीलाई पूर्ण रुपमा लागु गर्नेगरी व्यवस्था मिलाउन संविधान संशोधनमा पहल निर्णय भएको छ । नेता कर्णका अनुसार नेपाली कांग्रेसको नीतिः उद्यमशीलता सहितको राजनीति अभियान सञ्चालन गर्ने निर्णय पनि भएको छ । उनले नेपाली कांग्रेसले राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्न सके मात्र राष्ट्रिय समृद्धिको नेतृत्व पनि लिन सक्ने छलफलको निष्कर्ष सुनाए ।

‘यसका निम्ति पार्टी संगठनको वैचारिक र सांगठनिक क्षेत्रमा आमूल परिवर्तनको आवश्यकता छ । राजनीतिक दलको मस्तिष्क भनेको यसले अङ्गिकार गरेको विचार, सिद्धान्त, नीति तथा कार्यक्रम हुन् । संगठन यसका शारीरिक र भौतिक अङ्गहरु हुन्,’ उनले भने । नेता कर्णले कांग्रेसले स्थापनाकालदेखि अङ्गिकार गर्दै आएका नीति तथा कार्यक्रमको गहन अध्ययन गरी तीन तहको सरकारले देश र जनताका निम्ति गर्नु पर्ने नीति तथा कार्यक्रमको बृहत खाका निर्माण गरिने जानकारी दिए ।

उनले पार्टीले आयोजना गरेको न्युनतम तीनवटा कार्यक्रममा सहभागी र एक वटा प्रशिक्षणमा सहभागी भएको मापदण्डका आधारमा सक्रिय सदस्यता वितरण गरी यसलाई थप जिम्मेवार बनाउने अवधारणा प्रस्तुत गरे । छलफलमा सहभागी कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीमा शुद्धीकरण आवश्यक रहेको बताउँदै नेता कार्यकर्ताले नैतिक मूल्य मान्यताअनुसार नचल्दा समस्या भएको दावी गरे ।

प्रतिक्रिया