सुजाता कोइराला नेतृत्वको काँग्रेस प्रतिनिधिमन्डल चीनको छेन्दुमा,  चिनियाँ नेताहरुसँग छलफल

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ एवम पूर्व उपप्रधान एवम परराष्ट्रमन्त्री सुजाता कोइराला नेतृत्वको काँग्रेस प्रतिनिधिमन्डल र चीनको सिचवान प्रान्तका प्रमुख नेताहरुबीच छेन्दुमा महत्त्वपूर्ण भेटवार्ता भएको छ । 

भेटमा आपसी सद्भाव र सहयोग अभिबृद्विसँगै कृषि, शिक्षा, स्वास्थ्य, संचार, पर्यटन लगायतका विषयमा गर्न सकिने सहकार्यबारे समेत छलफल भएको भेटमा सहभागी नेता बर्मा लामाले जानकारी दिए । 

नेतृ कोइरालाले लिखित मन्तब्य राख्दै चीन नेपालको एक असल छिमेकी भएको र चीनको चासोको विषयमा नेपाली काँग्रेस र नेपाल सरकार सदैव सचेत रहेको जानकारी गराइन् । उनले नेपाल र नेपालीको हित र विकासका लागि चीनले पुर्याउँदै आएको सहयोगको पनि सराहना गरिन् । 

भेटमा सहभागी नेता लामा, किरण यादव र  देवराज चालिसेका अनुसार यो भेटले  चिनियाँ कम्युनिस्ट पार्टी र  काँग्रेसबिचको  सम्बन्ध अझै बलियो बनाउन मद्वत पुग्नेछ ।

भेटमा काँगेसका १५ जना नेता सहभागी थिए । चीनकोतर्फबाट सीपीसी  सिचवान प्रान्तका स्थायी कमिटी सदस्य पुबु डुन्झु,सीपीसी  सिचवानकै विदेश विभाग निर्देशक झाङ फेन लगायत ८ जना नेता सहभागी थिए । 

चिनियाँ नेताहरुले नेपालसंगको साँस्कृतिक सहकार्य र विकासलाई पनि सँगसँगै अघि बढाउन इच्छा व्यक्त गरेका थिए । 

भेटवार्ताअघि कोइराला नेतृत्वको ट‍ोलीले सिचवानको  प्रसिद्व म्युजियम र साँस्कृतिक क्षेत्रको अवलोकन गरेको थियो । 

कोइरालासहितको टोली चार दिन छेन्दुमा बसेर बेइजिङ पुग्नेछ । बेइजिङमा पनि चिनियाँ नेताहरुसंग सौहार्दपूर्ण भेटवार्ताको कार्यक्रम रहेको नेतृ कोइरालाले जानकारी दिइन् ।

प्रतिक्रिया