समाचार विश्लेषण

आरजु राणाको कुटनीतिक कौशल र कांग्रेसभित्र छिपेको राजनीतिक भविष्य

काठमाडौं। केही वर्षअघिसम्म डा आरजु राणा देउवाको परिचय फरक थियो- उनलाई कसैले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीकारुपमा चिन्थे, कसैले सामाजिक अभियन्ता । श्रीमान् शेरबहादुर देउवा पाँच पटकसम्म देशको प्रधानमन्त्री भइरहँदा उनको सहयोगी बनेर देखिएकी आरजु महिला आन्दोलन र खासगरी गैरसरकारी क्षेत्रमा भने अन्तर्राष्ट्रियस्तरमा काम गरिरहेकी थिइन् । श्रीमान् शक्तिमा भएका कारण उनको राजनीतिक सक्रियता भने ओझेलमा परेको थियो । 

राजनीतिक दलका शीर्षस्थ नेताका श्रीमतीहरूको राजनीतिक सक्रियतालाई नकारात्मक नजरले हेर्ने नेपाली समाज कहिले आरजुको क्षमतामा प्रश्न उठाउँथ्यो, त कहिले शेरबहादुरले परिवारवाद लाद्‌न खोजेको आरोप । तैपनि २०६२/०६३ जनआन्दोलनपछि आरजुलाई सक्रिय राजनीति गर्न कसैले रोक्न सकेन । दुई पटक संविधानसभा सदस्य, पार्टीको केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्य हुँदै आरजु अहिले आठ महिनादेखि परराष्ट्र मन्त्रीका हैसियतमा देशको कुटनीति सम्हालिरहेकी छिन् ।

परराष्ट्रमा रहेर उनले गरेको कामले आरजुलाई त क्षमतावान महिलाकोरुपमा परिचित गराएकै छ, उनी नेपालको कुटनीतिक सम्बन्ध र पहिचानलाई समेत अन्तर्राष्ट्रिय समुदायमाझ थप उचाइमा पुर्‍याउन सफल भएकी छन् । 

वर्तमान सरकारमा प्रभावशाली मन्त्री र मुलुकको पूर्व प्रधानमन्त्रीकी पत्नी भएर मात्रै होइन, उनी आफैँ विद्यावारिधि अब्बल कुटनीतिज्ञ र अनुभवी सांसद भएका कारण पनि उनलाई नेपालको कुटनीतिको नेतृत्व गर्न सहज भएको छ । 

सँगसँगै पूर्व प्रधानमन्त्री देउवा पार्टीको सभापति पदबाट बाहिरिने तयारी गर्दैगर्दा आरजुले पार्टीभित्र आफ्नो बौद्धिक र राजनीतिक प्रभाव जमाउन समेत सफल भएकी छन् । विगतमा प्रधानमन्त्री पत्नीकारुपमा अनावश्यक हस्तक्षेप गरेको आरोप खेपेकी उनलाई यसपटक मुलुकको कुटनीतिको नेतृत्वमा देखाएको भूमिकाले राजनीतिक छवि सुधार्न समेत मद्दत मिलेको छ । 

त्यसो त कुनै समय कुटनीतिमा पुरुषमात्रै हुन्थे । अझ नेपाली समाजको बुझाइ त के थियो भने महिलाले कुटनीतिक नेतृत्व गर्नै सक्दैनन् । तर आरजुले परराष्ट्रको नेतृत्व सम्हाल्दै गर्दा यस्तो संयोग जुर्‍यो कि परराष्ट्रमा मन्त्रीमात्रै होइन, सचिव पनि महिला नै थिइन्- सेवा लम्साल । लम्साल पहिलो महिला परराष्ट्र सचिव थिइन् भने आरजु चौथो महिला परराष्ट्रमन्त्री । यसअघि सहाना प्रधान, सुजाता कोइराला र विमला पौडेल राई परराष्ट्र मन्त्री रहीसकेका थिए । 

संसद्का दुई ठूला दलको गठबन्धन र प्रमुख प्रतिस्पर्धा दलका नेता नेतृत्वको सरकारमा कूटनीतिको जिम्मेवारी सम्हाल्नु आरजुका लागि कम चुनौतीपूर्ण थिएन । तर आठ महिनासम्म परराष्ट्र मन्त्रालयको नेतृत्वमा आरजुलाई हेर्दा यो आशा गर्न सकिन्छ कि सरकार असफल भएपनि आरजुको कुटनीतिक नेतृत्व असफल हुने छैन । 

परराष्ट्र मन्त्रालयको काम हो( देशको परराष्ट्र नीति कार्यान्वयन र छिमेकी राष्ट्रहरूसँगको सम्बन्ध कायम र व्यवस्थापन। जुन काममा आरजुले कुशलतापूर्वक सक्रियता देखाएकी छन् । यो सरकार बनेपछि आरजुले पटक(पटक भारत भ्रमण गरेर सम्बन्धमा सन्तुलनको प्रयास गरेकी छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीको चर्चित चीन भ्रमणमा समेत उनको भूमिकाको प्रशंसा भयो । त्यसबाहेक अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा त उनले कुशल प्रदर्शन मात्रै गरेकी छैनन्, प्रशंसा नै कमाएकी छन् । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा नै प्रथम महिलाका हैसियतमा दर्जनौँ देश पुगेर राजनीतिक भेटघाटमा सरिक भइसकेकी उनका लागि अहिले परराष्ट्रको नेतृत्वमा कुटनीतिक जिम्मेवारी पूरा गर्न धेरै सहज भएको छ । 

उनी जहाँ पुग्छिन्, त्यहाँ उनको सक्रियता र भूमिका नेपाली समुदायले अनुभूति गर्न पाउँछ । उदाहरणका लागि अहिलेको उनको जेनेभा भ्रमणलाई हेरौँ- उनी चार दिनदेखि स्वीटजरल्याण्डको जेनेभामा छिन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रमा भाग लिन जेनेभा पुगेकी उनले त्यहाँ नेपाललाई मानवअधिकार परिषदको सदस्यको उम्मेदवारका रुपमा खडा गरेकी मात्रै छैनन्, साइडलाइन वार्ता, भेटघाट र संवादमार्फत् नेपालको कुटनीतिक सम्बन्धमा थप उचाइ दिन समेत सक्रिय छिन् । नेपालले मानव अधिकारको क्षेत्रमा फड्को मारेको कुरादेखि जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको तितो यथार्थसम्म, अनि पग्लिँदा हिमालको रक्षाको सवालदेखि कार्बन व्यापार र नेपाली समुदायको उत्थानसम्म । परराष्ट्रमन्त्री राणाले जेनेभाका साइडलाइन वार्ताहरूमा यी नै विषयहरूलाई जोड दिएकी छन् । 

अर्को नेपालका तर्फबाट निम्तो बाँडिरहेकी छन्- 'सगरमाथा संवाद'का लागि । जलवायु परिवर्तनको असरबारे छलफल गर्न आयोजना गर्न लागिएको उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय समुदायको सहभागिताका लागि मन्त्री राणाले समकक्षीहरूसँग छलफलमा परामर्श गरिरहेकी छन् । 

उनको सचिवालयका अनुसार यसबीचमा मन्त्री राणाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकदेखि स्लोभाकियाका विदेशमन्त्री जुरज ब्लानरसम्मलाई भेटेर संवाद गरेकी छन् । नर्वेका उपविदेशमन्त्री एन्ड्रे क्राभिक, किर्गिज रिपब्लिकका उपप्रधानमन्त्री एडिल बइसालोभ, फिलिपिन्सका उपविदेशमन्त्री चाल्र्स सि जोसे, स्पेनका विदेशमन्त्री जोसे म्यानुअल अलबारेस् बुएनो, मेक्सिकोका उपमन्त्री एनरिक जेभियर ओच मर्टिनाज, स्वीट्जरल्याण्डका विदेशमन्त्री इग्नाजियो डेनि र अजरबैजानका विदेश राज्यमन्त्री एलनुर ममादोभसँग समेत मन्त्री राणाले छुट्टा(छुट्टै भेटवार्ता गरेकी छन् । 

ती भेटहरूमा मन्त्री राणाले आगामी ुमेुमा नेपालले जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यलाई केन्द्रीत गरेर आयोजना गर्ने 'सगरमाथा संवाद' कार्यक्रमबारे जानकारी र परामर्शसँगै द्विपक्षीय हितमा छलफलहरू भएको उनको सचिवालयले जनाएको छ । जेनेभा जानुअघि आरजुले ओमनको मस्कटमा आठौँ हिन्द महासागर सम्मेलनमा सहभागिता जनाइन् । 

त्यहाँ रहँदा पनि उनले थुप्रै महत्त्वपूर्ण भेटघाट गरिन् जस्तो कि इरानका विदेशमन्त्री अब्बास अराघ्चीसँगको भेट । अराघ्चीसँग उनले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि पहल गरिदिन कुराकानी गरेकी थिइन् । 

त्यही सम्मेलनका क्रममा उनले जापानका विदश राज्यमन्त्री मियाजी ताकुमासँग गत असोज ११ को बाढीपहिरोबाट क्षतिग्रस्त वीपी राजमार्ग र त्यसको पुनर्निर्माणबारे छलफल गरिन् । भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँगको पुरानो हार्दिकताले पनि उनलाई अन्तर्राष्ट्रिय कुटनीतिमा तालमेल गर्न सहज भएको छ । यतिबेला आरजुको ध्यान अब प्रधानमन्त्री ओलीलाई भारत भ्रमण गराउनेतर्फ केन्द्रीत छ । आगामी निर्वाचनसम्मै वर्तमान गठबन्धनलाई लैजाने र ओलीपछि देउवा प्रधानमन्त्री बन्ने समझदारीले पनि परराष्ट्रमन्त्री राणालाई भारतसँगको सम्बन्धलाई सन्तुलनमा राख्न प्रधानमन्त्री ओलीलाई भारत भ्रमण गराउनैपर्ने दबाब छ । 

यही साता मन्त्री राणाले भारतीय सञ्चारमाध्यम 'दि हिन्दु' सँगको कुराकानीमा प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको निम्तो दिने अपेक्षा रहेको वक्तव्य दिएकी छन् । सन् २०२५ मा प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्ने उनको भनाइ छ । गत नोभेम्बरमा चीनको भ्रमण गरेका प्रधानमन्त्री ओलीले सेप्टेम्बरमा न्यूयोर्कमा भएको एक सम्मेलनका क्रममा भेटवार्ता गरेका थिए । तर त्यसपछि भने ओली र मोदीबीच शुन्यताको वातावरण छ । 

मन्त्री राणाले भने भारतमा भएको चुनावका कारण प्रधानमन्त्री मोदीले ओलीलाई भ्रमणको निम्तो नदिएको बताएकी छन् । ‘सुरुमा मैले प्रधानमन्त्री मोदी चुनावका लागि व्यस्त हुनुहुन्छ भन्ने सूचना पाएको थिएँ । मलाई आशा छ सन् २०२५ को पहिलो भागमा नै प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्नुहुन्छ,' मन्त्री राणाको भनाइ छ । 

भारतसँगको सम्बन्ध सन्तुलनमा मेहिनेत गरिरहेकी राणाले अन्य अन्तर्राष्ट्रिय समुदायमाझ भने बलियो छाप छोडेकी छन् । यसबीचमा उनले भारत र चीनसँगै अमेरिका, जापान, स्वीटजरल्याण्ड, युरोप, खाडी राष्ट्र, संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूसँग सम्बन्ध सुधार र सुदृढीकरणमा महत्त्वपूर्ण योगदान गरेको मन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकले  बताए । पछिल्लो समय भारतको ओडिसाको केआइआइटी कलेजमा भएको हिंसाको घटनादेखि विपीन जोशीको रिहाइमा पहलसम्म राणाले आफ्नो सक्रियतालाई पुष्टि गरेकी छन् । 

पार्टीमा प्रभावशाली नेताकारुपमा आरजुको उदय

सभापति देउवाकी पत्नी रहँदै पार्टीमा हाबी देखिएकी आरजुले यसपटक परराष्ट्र मन्त्रालयको नेतृत्वमा रहेर देखाएको कुशल कुटनीतिक प्रदर्शनले उनलाई पार्टीमा पनि शक्तिशाली नेताकारुपमा स्थापित गरेको छ । 

कांग्रेसको वर्तमान केन्द्रीय समितिमा केन्द्रीय सदस्यमात्रै रहेकी उनी १५औँ महाधिवेशनबाट अब प्रभावशाली जिम्मेवारीसहित पदाधिकारी बन्ने दौडमा छिन् । सभापति देउवा आफैँ पार्टीको जिम्मेवारीबाट बाहिरिँदै गर्दा आरजुलाई नेतृत्वदायी भूमिकामा स्थापित गर्न चाहान्छन् । देउवाको चाहनामा आरजुको सक्रियताले थप टेवा दिएको छ । 

प्रतिनिधिसभामा समानुपातिकतर्फ निर्वाचित आरजुले मन्त्री हुनुअघि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिकारुपमा काम गरिन् । त्यसबेला उनले आफू किसानको छोरी भएको भन्दै दिएको अभिव्यक्तिले निकै चर्चा समेत कमाएको थियो । 

सांसद हुनुअघि महिला अधिकार, महिलाको प्रजनन स्वास्थ्य अधिकार, समान नागरिकताको अधिकार, सम्पत्तिको अधिकार, राज्यका हरेक निकाय तथा राजनीतिमा महिलाको समान एवं समतामूलक प्रतिनिधित्व तथा महिला हिंसाविरुद्धको अभियानलगायत मुद्दामा उनको नेतृत्वदायी वकालतले महिला आन्दोलनलाई यहाँसम्म दिशा दिएको अधिकारकर्मीहरू विश्वास गर्छन् । उनी दक्षिण तथा पूर्वी एसियाका लागि आइयुसिएनको क्षेत्रीय परिषद् सदस्य भएर समेत दुई कार्यकालसम्म काम गरेकी थिइन् । म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान) को पहिलो महिला अध्यक्षका रुपमा निर्वाचित डा राणा गरिबी निवारण कोषको बोर्ड सदस्यसमेत थिइन् । उनले सुरक्षित मातृत्वसम्बन्धी ‘एलाइन्स’ ह्वाइट रिबन एलाइन्सको अध्यक्ष तथा बोर्ड सदस्यका रुपमा सन् २०१० देखि २०१४ सम्म दुई कार्यकाल काम गरेकी थिइन् ।  

उनले सन् १९९६ मा सेफ मदरहुड नेटवर्क (सुरक्षित मातृत्व) संस्थाको स्थापना गरी महिलाको प्रजनन तथा समग्र स्वास्थ्य तथा यसका माध्यमबाट महिला अधिकारका विषयमा काम गर्दै आएकी छिन् । देशव्यापी कार्यसंयन्त्र रहेको सो संस्थासँग नेपालको ७२ जिल्लाका कम्तीमा पनि सात सय ५० गैरसरकारी संस्था आबद्ध छन् । हाल ५२ जिल्लामा शाखा रहेका सो संस्थामा देशभर करिब ५० हजार सदस्य छन् ।

त्यसैगरी, उनी संस्थापक रही सन् १९९२ मा स्थापना गरेको ‘साथी’ नामको अर्को गैरसरकारी संस्थामा आबद्ध भई महिला हिंसा विरोधी अभियानमा सक्रिय छिन्। महिलामाथि हुने विभेद तथा विविध प्रकारका हिंसाका विरुद्धमा काम गरी उनीहरुलाई आफ्ना हक अधिकारप्रति जागरुक गराई महिलालाई सशक्तीकरण गर्ने साथी संस्थाको उद्देश्य रहेको छ । यो संस्थाले नेपालको दूरदराजसहित सुगम क्षेत्रका महिलाविरुद्ध हुने हिंसाको अध्ययन गरी निराकरणका लागि राज्यसम्बद्ध निकायसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्दै आएको छ।
 

प्रतिक्रिया