शैक्षिक मेलामा आएका विद्यार्थी भन्छन् : यस्तो मौका सबैले पाउँदैनन्

काठमाडौं । काठमाडौं महानगरपालिकाले फागुन १६ र १७ गते राष्ट्रिय सभागृहमा काठमाडौँ शैक्षिक मेला आयोजना गर्यो ।

मेलामा विद्यार्थीहरुले नृत्य, अभिनय, नाट्य, संवादका माध्यमबाट नविनतम सिकाइ गतिविधि प्रदर्शन गरेका थिए । बुक फ्री फ्राइडेअन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्फत रुचि र नतिजा प्रदर्शन गरे । शारदा माध्यमिक विद्यालयका कक्षा नौ (९)मा अध्ययनरत विद्यार्थी समिर भट्ट पनि आफ्नो कला देखाउन पाउँदा दंग भए । सैद्धान्तिक ज्ञान मात्र लिएका उनले शैक्षिक मेलामा प्रयोगात्मक रुपमा देखाउन पाउँदा खुसी लागेको बताए । उनले भने,‘मेला एकदमै रमाइलो लाग्यो । सबैलाई आर्ट एण्ड क्रिएचर बारेमा बताउदा रमाइलो लाग्यो । नाच र गीत हेर्न पाइयो । सबै स्टलमा पुगेर सोध्ने–बुझ्ने गर्दा धेरै कुरा सिक्न पाइएको छ । मैंले पनि भित्तेचित्र अर्थात म्यूरल आर्टका बारेमा बुझाउने मौका पाएँ । मैंले स्टलमा आउने मानिसहरुलाई आर्टको बारेमा जानकारी दिने काम पनि गरे ।’

यस्तै, रत्न राज्य माध्यमिक विद्यालयकी विद्यार्थी विनिस्का कोइरालाले पनि प्रदर्शनीमा सहभागि हुन पाउँदाको अनुभव सुनाइन् । उनले अवलोकनकर्ताहरुले थप प्रोत्साहन गरेको भन्दै खुसी भइन् । उनले आफूले जानेको कलालाई देखाउन र मानिसहरुसँग अन्तरक्रिया गर्न पाएकोलाई ठुलो उपलव्धिका रुपमा लिएको पनि बताइन् । 
उनी भन्छिन्,‘हामीले शैक्षिक मेलामा कार्पेटिङ तथा उठकार्भेटको स्टल राख्यौं । आफुले जानेको कुरा देखाउन पाउँदा एकदमै खुसी लागेको छ । स्टलमा राखेको कुरामा मानिसहरुले जिज्ञासा राख्दा राम्रो लाग्छ । आफुले जानेको कुराहरु अवलोकल गर्न आउने मानिसहरुले पनि राम्ररी सुनिदिनुभएको छ । हामीले मानिसहरुसँग अन्तरक्रिया गर्न पायौं । यस्तो अवसर सबैले पाउदैनन् । आफुले जानेको कुरा अरुलाई भन्न पाउनु पनि ठूलै उपलव्धि हो ।’

महानगरपालिकाले विद्यालयहरुमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालेका कार्यक्रमहरुबाट विद्यार्थीहरुमा परेको प्रभाव, यसबाट उनीहरुले सिकेका ज्ञान र सीपहरुको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गरेको थियो । प्रदर्शनी तथा प्रस्तुतिमा विद्यार्थीहरुले नृत्य, अभिनय, नाट्य, संवादका माध्यमबाट नविनतम सिकाइ गतिविधि प्रदर्शन गरेका थिए  । बुक फ्री फ्राइडेअन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्फत रुचि र नतिजा प्रदर्शित भएका थिए । 

यस्तै नेपाल भाषाको सिकाइ विधि, मौलिक संस्कृति, भेषभूषा झल्काउने प्रदर्शनी, मौलिक बादन तथा गायन प्रस्तुति देखाइएको थियो । मेलामा विद्यार्थी नमूना संसद अभ्यास मेलाको प्रमुख आकर्षण बन्यो । 

प्रतिक्रिया