काठमाडौं । अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आएका ९ जना नेपाली स्वदेश आइपुगेका छन् ।
बुधबार अमेरिकाको न्यू ह्याम्पसरको पोट्र्समाउथबाट आएको गल्फ स्ट्रिमको जिआरपी–२३ जहाजले उनीहरुलाई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । स्वदेश फर्किएका उनीहरूलाई अध्यागमन कार्यालयले नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोको जिम्मा लगाइएको छ । नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले नेपाल न्यूज बैंकलाई जानकारी दिँदै अमेरिकाले फर्काइ दिएकाहरू मानव बेचबिखन तथा ओसारपसारका पीडित हुन् कि भनेर सोधपुछका लागि झिकाइएको बताए ।
उनले भने, ‘अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आएका ९ जना हाम्रो सम्पर्कमा छन्, उहाँहरू कसरी त्यहाँ पुग्नुभयो, मानव बेचबिखन तथा ओसारपसारका भिक्टिम हो कि भन्ने ढंगले सामान्य सोधपुछ गर्नका लागि बोलाएका हौं । ’राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीप्रति कडा नीति अवलम्बन गर्दै गैरकानुनी आप्रवासीलाई स्वदेश फर्काइरहेका छन् । त्यसक्रममा यसअघि २७ नेपाली फिर्ता भएको अध्यागमन विभागले जनाएको छ ।
प्रतिक्रिया