झापा । आज फागुन २१ गते झापाको सुखानीमा हत्या गरिएका सहिदहरूको स्मृति दिवस ।
२०२९ सालमा पञ्चायत विरुद्धको आन्दोलनमा लागेका पाँच जना योद्धाहरू झापाको सुखानीमा मारिएको दिन । तत्कालीन शासकहरूले झापाको चन्द्रगढी जेलमा रहेका रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, बिरेन राजवंशी र नारायण श्रेष्ठलाई जेल सार्ने बहानामा आजकै दिन सुखानीको जङ्गलमा हत्या गरेका थिए । २०२९ साल फागुन २१ गते राति इलाम जेल सरुवा गर्ने भनि निकालिएका उनीहरूलाई झापाको साबिक खुदुनाबारी गाविसमा पर्ने हालको अर्जुनधारा नगरपालिकाको सुखानी जङ्गलमा लगी गोली हानी हत्या गरिएको थियो ।
२०२८ सालमा झापामा नेपाल कम्युनिष्ट पार्टीले वर्ग शत्रु खतम अभियान चलाएको थियो । सो क्रममा झापाका केही सामन्तहरू काटिएका थिए । सोही आरोपमा कम्युनिष्ट नेताहरू पक्राउ परेका थिए । पक्राउ गरिएका मध्ये ५ जनालाई जेल सारको बहानामा सुखानीको जङ्गलमा लगेर हत्या गरिएको थियो । झापामा स्थापना भएको सुखानी सहिद स्मृति प्रतिष्ठानले अर्जुनधारा नगरपालिकाको वडा नं ९ र ११ को २४ दशमलव ६ हेक्टर जमिनमा तिनै सहिदको सम्मानमा सुखानी सहिद स्मृति पार्क निर्माण गरिएको छ । २०५८ सालदेखि निर्माण सुरु गरिएको सो पार्कमा सहिदहरूको प्रतिमा राखिएको छ । त्यस्तै सिमसार क्षेत्रमा ड्याम बाँधेर पोखरी निर्माणको काम पनि भएको छ ।
पोखरीलाई दुई खण्डमा विभाजन गरी एउटा खण्डमा बोट चलाइएको छ ।त्यसको एक भागमा वाटर फाउण्टेन निर्माण गरिएको छ भने अर्को खण्डलाई कछुवा उद्धार तथा प्रजनन केन्द्रको रूपमा विकास गरिएको छ । कछुवाको विषयमा अध्ययन गर्ने विद्यार्थीहरूको लागि सो स्थान अनुसन्धान केन्द्र समेत बनेको छ । सहिदहरू प्रति सम्मान जनाउँदै पार्क घुम्न झापा पुग्ने धेरै मसिनहरू सो पार्कमा पुग्ने गर्दछन् । पार्कमा वार्षिक १ लाख बढी पर्यटक पुग्ने गरेको व्यवस्थापनले जनाएको छ ।
अहिले पार्क रहेको स्थानभन्दा ४ किलोमिटर टाढा जङ्गल भित्र पाँच जनाको हत्या गरिएको थियो । पहिला हत्या गरिएकै स्थानमा पार्क बनाउने योजना बनाइएको भए पनि भूगोल र अन्य सबै हिसाबले अहिलेको ठाउँ उपयुक्त देखिएकोले सोही ठाउँमा पार्क निर्माण गरिएको स्थानीयको भनाइ छ । सुखानी स्मृति दिवसको अवसरमा आज विभिन्न राजनीतिक दलका नेताहरूले सहिदहरू प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
प्रतिक्रिया