मुलुकको परिवर्तनका लागि योगदान दिएका सहिदहरुको सपना पुरा गर्न सबै गम्भीर हुनुपर्छ : सभामुख घिमिरे

काठमाडौं । सरकारले ‘झापा विद्रोह’ का पाँच सहिदको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ ।

तत्कालीन ‘झापा विद्रोह’ का पाँच सहिदको स्मृति दिवसका दिन हुलाक सेवा विभागले पाँच सहिदको सम्मानमा प्रकाशन गरेको हुलाक टिकहरुको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेको हो । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले हुलाक टिकटमा प्रथम दिवसिय टाँचा लगाएका थिए । सो क्रममा सभामुख घिमिरेले मुलुकको परिवर्तनका लागि योगदान दिएका सहिदको सपना पुरा गर्न सबै गम्भीर हुनुपर्ने बताए ।

उनले भने, ‘राजनीतिक क्षेत्रमा प्राप्त गरेका उपलब्धिमा सहिदहरुको योगदान महत्वपूर्ण छ, आफ्नो ईतिहासमा राजनीतिक क्षेत्रमा नेपालले प्राप्त गरेका उपलब्धिमा सहिदहरुका योगदान के हुन ? र  तिनीहरुका अधुरा सपना पूरा गर्ने जिम्मेवारी के हो ? यो कुरालाई अब हामीले अगाडि लानुपर्छ ।’ साथै, उनले जनताको मुक्तिका लागि जीवन अर्पण गर्ने धेरै सहिदहरुभित्र पाँच जना सहिदहरुको हुलाक टिकट प्रकाशन हुनु निकै महत्वपूर्ण भएको बताए । सभामुख घिमिरेले सहिदहरुको योगदानका कारण मुलुकमा राजनीतिक उद्देश्य सफल भएपनि समाज रुपान्तरणमा भने धेरै चुनौतिहरु देखा परेको धारणा राखे ।

उनले भने, ‘हुलाकको  टिकट पहिलो टाँचाको रुपमा लगाएर प्रकाश गर्दाखेरि  यो एउटा कागजको  टुक्रा बाहिर ल्याएको छ ।  तर  यो  नेपाली जनाताहरुको मुक्तिको लागि आफ्नो जीवन अर्पण गर्ने, नेपालीहरुको समृद्दि र  सुविधाका लागि आफ्नो जीवन अर्पण गर्नु हुने र मान्छेले स्वतन्त्र भएर बाच्न पाउनुपर्छ  भनेर राजनीतिक हकअधिकार र  प्रजातन्त्र, लोकतन्त्र  र गणतन्त्रको लागि आफ्नो ज्यान आहुती दिने सहिदहरुको हुलाक टिकटहरुको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नु सबैभन्दा ठूलो कुरा हो ।’
 

प्रतिक्रिया