'पाथीभरा केबलकार निर्माणमा बाधा पुर्‍याउँदा लगानीकर्ताहरूको मनोबल घटेको छ'-अध्यक्ष ढकाल

महोत्तरी । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार निर्माणमा बाधा पुर्‍याउने कुराले लगानीकर्ताहरूको मनोबल घटाएको बताएका छन् । विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरिरहेका बेलामा आन्तरिक लगानीकर्ताहरूलाई लगानी गर्न र विकास निर्माणका काम गर्नबाट रोक्नु भनेको लगानीकर्ताहरूको मनोबल घटाउनु भएको उनले बताए ।

महोत्तरीमा सम्वाददाताहरुसँगको अन्तरक्रियामा अध्यक्ष ढकालले पाथीभरा मन्दिरमा सहज दर्शनका लागि र पर्यटन प्रवर्धनका लागि बनाउन लागिएको पाथीभरा केबलकार निर्माणमा अवरोध सिर्जना गरेर विकास निर्माणका काममा बाधा पुर्‍याउनु गलत कार्य भएको गुनासो गरे।

ढकालले यस्ता गतिविधिले स्वदेशमै रोजगारी सिर्जना हुने कुरामा पनि समस्या हुने जिकिर गरे । उनले बालबालिका, वृद्धवृद्धालाई सहज पहुँचका साथ दर्शन गर्नका लागि बनाउन लागिएको केबलकारले जिल्लावासीलाई घरमै बसेर रोजगारी गर्नसक्ने अवस्था सिर्जना हुने बताए । यस परियोजना कोशी प्रदेशकै लागि मेघा प्रोजेक्ट बन्ने दाबी गरे ।

ढकालले केही राजनीतिक दलका व्यक्तिहरूले गर्दा केबलकार निर्माणमा बाधा  पुर्‍याइरहेको टिप्पणी गर्दै यस्ता गतिविधिले विदेशी र स्वदेशी लगानीकर्तालाई लगानी गर्न निरुत्साहित गरिरहेको बताए ।

प्रतिक्रिया