वासु शशी साहित्य सम्मान मुखियालाई, पुरस्कार वैद्य र पहाडीलाई प्रदान गरिने

काठमाडौं । वासु शशी स्मृति परिषद्ले वरिष्ठ साहित्यकार मनबहादुर मुखियालाई वासु शशी साहित्य सम्मान–२०८१’ प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी साहित्यकारहरु विमल वैद्यलाई ‘वासु शशी साहित्य पुरस्कार–२०८१’, र सन्धा पहाडीलाई ‘कृष्ण–सरस्वती साहित्य पुरस्कार–२०८१’ प्रदान गर्ने भएको छ । पुरस्कारको राशि पच्चीस हजार रहेको छ । सो निर्णय परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो ।

विगत ६ दशकदेखि नेपाली नाटक र गीत लेखनमा सक्रिय मुखियाका आधा दर्जन साहित्यिक कृतिहरु प्रकाशित रहेका छन् । मुखियाका नाटकहरु अनि देउराली रुन्छ र क्रसमा टाँगिएको जिन्दगी तथा एकांकीहरु अँध्यारोमा बाँच्नेहरु र फेरि इतिहास दोहोरिन्छ कृतिहरु प्रकाशित छन् । यसैगरी विगत चार दशकदेखि सक्रिय वैद्यका चार कविता कृतिहरु प्रकाशित छन् । बैद्यका आकाश छुन खोज्ने मनहरु, समय र सपनाहरु, अक्षर सिम्फोनी र युगको तटमा उभिएर कृतिहरु प्रकाशित रहेका छन् ।

यसैगरी विगत तीन दशकदेखि नेपाली भाषा साहित्यमा क्रियाशील पहाडीका कविता र सम्पादनका कृतिहरु प्रकाशित छन् । पहाडीका मृगतृष्णा र अन्य कविता, घामका अक्षर र विश्व नारी नेपाली कविता ९सहलेखन० प्रकाशित रहेका छन् । उक्त सम्मान तथा पुरस्कारहरु वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८९औं जन्मजयन्तीको अवसरमा आगामी २०८१ चैत १३ गते प्रदान गरिने जानकारी परिषद्का सदस्य सचिव प्रद्युम्न जोशीले गराउनु भयो ।

वासु शशी साहित्य पुरस्कारबाट यसअघि कवि एवं साहित्यकारहरू विनोद अश्रुमाली, मञ्जु काँचुली, बद्री पलिखे, गणेश रसिक, हेम हमाल, विश्वविमोहन श्रेष्ठ, अशेष मल्ल, हरि अधिकारी, कृष्णभूषण बल, काजी रोशन, डा। विष्णुविभु घिमिरे, नरेन्द्रबहादुर श्रेष्ठ, डा। विमल कोइराला, तीर्थ श्रेष्ठ, कणाद महर्षि, उषा शेरचन, गोविन्द गिरी प्रेरणा,  शैलेन्दुप्रकाश नेपाल, इन्दिरा प्रसाईं, राधेश्याम लेकाली, मोमिला जोशी, श्यामल र प्रतिसरा सायमी पुरस्कृत भइसकेका छन् ।

यसैगरी वासु शशी स्मृति सम्मानबाट वरिष्ठ साहित्यकारहरु तीर्थराज वन्त, डा। मोहन हिमांशु थापा, तुलसी दिवस, भैरवनाथ रिमाल ‘कदम’, प्रदीप रिमाल, यादव खरेल, गीता केशरी, शिव रेग्मी, परशु प्रधान, कालीप्रसाद रिजाल, कृष्ण जोशी, रमा शर्मा, श्रीधर खनाल, ज्ञान उदास, भागिरथी श्रेष्ठ, कल्पना प्रधान, श्रेष्ठ प्रिया पत्थर, कर्ण शाक्य, हिरण्य भोजपुरे र किरण खरेल सम्मानित भइसकेका छन् ।

प्रतिक्रिया