यज्ञमा दान वापत संकलित रकम पालिका अध्यक्षको निजी खातामा

सिरहा । सिरहाको औरही गाउँपालिकामा क्याम्पस बनाउन विष्णु महायज्ञ लगाइएको छ । तर यज्ञमा दान वापत संकलित रकम अपारदर्शी रुपमा औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र दिलिप यादवको नाममा निजी खाता खोलेर जम्मा गरिएको छ । 

औरही स्थित एनएमबी बैंकमा खाता नं. ११२०१४६२७३९०००२० नं. बचत खाता खोलिएको छ । खाता सञ्चालकम पालिका अध्यक्ष र दिलिप यादवलाई राखिएको छ । यस सम्बन्धमा अध्यक्ष शिवजी यादवसँग जिज्ञासा राख्दा उनले भने , ‘खाता खोल्न संस्था दर्ता गर्नुपर्छ र दर्ता गर्न निकै समय लाग्छ , त्यसकारण निजी खाता खोलेर रकम जम्मा गरेका हौं ।’

अध्यक्ष यादवको भनाइमा आपत्ती जनाउँदै स्थानीयहरु भन्छन् , ‘गाउँपालिकाकै सिफारिसमा क्याम्पस निर्माण उपभोक्ता समिति बनाएर समितिको नाममा विधिवत खाता सञ्चालन हुन सक्थ्यो । खाता सञ्चालकमा अध्यक्ष स्वयं बसेपनि खाता संस्थागत हुन्थ्यो । निजी खातामा जम्मा गरेको रकमको के भरोसा ?’ उनले भने, ‘भोलिका दिनमा दिन्नौ, यो त हाम्रो निजी हो भनिदिए भने कानूनले पक्रने ठाउँ नै रहँदैन ।’  २० लाख जम्मा हुँदा १० लाख मात्र भयो भन्न सक्छन् । अर्काको निजी खाताको बैंक स्टेटमेन्ट देखाउ पनि भन्न मिलेन उनको कथन थियो । उनले संस्थागत रकम निजी खातामा राख्नुमा बदनियत भएको आशंका गरे । यस प्रसङ्गमा सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दहालसंग प्रश्न गर्दा उनले भने , कति तिर हेर्नु ? यस्ता कुरा पनि हामीले नै हेर्नु पर्ने ? खाता खोल्दा पालिकाको सिफारिसमा संस्थागत खाता खोलेको भए राम्रो हुन्थ्यो । तर म बुझेर भन्छु , के भएको रहेछ ।  

यस विषयमा पालिका अध्यक्ष यादव भन्छन् विरोध गर्नेहरु राक्षस हुन् । जसरी राक्षसहरुले गुरु विश्वामिन्त्रको यज्ञमा विघ्न हालेर नष्ट गर्थे त्यसैगरी अहिलेका यी मानव रुपी दानवहरु विरोध गरेर बाधा पु¥याइरहेका छन् ।  हामीले खातामा रकम जम्मा गर्दा के भयो ? पारदर्शी रुपमा हिसाव देखाइ दिन्छौँ । यस सम्बन्धमा अधिवक्ता प्रशान्त साह भन्छन् , ‘पालिकाले चन्दा उठाएको रकम निजी खातामा राख्नु गैर कानूनी हो । हरहालतमा सार्वजनिक रकम संस्थागत खातामा हुनुपर्छ । संस्थागत खाता छ भने मात्र सरकारी निकायको पहुँचमा हुन्छ ।’  

यज्ञमा औरही गाउँपालिकाले रु १० लाख आर्थिक साहायता प्रदान गरेको छ । गाउँपालिकाको बजेटबाट यज्ञ सञ्चालन गरिएको छ । कति रकम दान उठ्यो त भन्ने प्रश्नमा अध्यक्ष यादव भन्छन् , ‘नगद थोरै उठेको छ , जुन रकम व्यवस्थापन मै खर्च भएको छ । ” यादव भन्छन्–“ पछि दिन्छौ भनेर उधारो दान गर्नेहरुले वचन दिएको रकम १५ लाख जति भएको छ । उठ्यो भने खातामा राख्छौं ।’ क्याम्पस दर्ता भएको छैन । क्याम्पस खोल्ने विधिवत स्वीकृति लिइएको छैन । क्याम्पसको लागि जग्गाको प्रवन्ध भएको छैन । यसबारे अध्यक्ष यादव भन्छन्,‘औरही माध्यमिक विद्यालयको भवनमा तत्कालका लागि क्याम्पस सञ्चालन गर्छौँ । विद्यालयकै १२ विघा जग्गा छ त्यसैमा क्याम्पस बनाउँछौं ।’

प्रतिक्रिया