ओमिक्रोन र डेल्टा भेरियन्टले सङ्क्रमितको सुनामी ल्याउने डब्ल्यूएचओको चेतावनी

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले डेल्टा र ओमिक्रोन भेरियन्टको मिश्रणले कोभिड घटनाको एउटा डरलाग्दो सुनामी ल्याउन लागिरहेको चेतावनी दिएको छ । युरोप र अमेरिकामा कीर्तिमानी सङ्ख्यामा कोभिडका नयाँ सङ्क्रमितहरू देखा परिरहँदा डब्ल्यूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससको त्यस्तो भनाइ आएको हो ।

अध्ययनहरूले कैयौँ देशमा निकै छिटो मुख्य भेरियन्ट बनेको ओमिक्रोन डेल्टाभन्दा मध्यम रहेको तर निकै धेरै सङ्क्रामक रहेको सुझाएका छन् । फ्रान्सका स्वास्थ्यमन्त्रीले ओमिक्रोनका हकमा अब लहर मात्र भनेर नपुग्ने बरु ’आँधीजस्तो लहर’ भन्नुपर्ने बताएका छन् । डब्ल्यूएचओका प्रमुखले दुईवटा भेरियन्टको चुनौतीले समग्र घटनाको चाप बढाएको भन्दै चेतावनी दिएका छन् ।

डा. टेड्रोस एड्हानोम गेहब्रेयससले भने, ‘थकित स्वास्थ्यकर्मीमा यसले निकै उच्च चाप थप्नेछ र थपिसकेको पनि छ। र स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्था नजिक पुगेका छन्।’

समाचार संस्था रोयटर्सका अनुसार विश्वभरि यतिखेर दैनिक झन्डै नौ लाख सङ्क्रमित थप भइरहेका छन् । अमेरिकाका शीर्ष सङ्क्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले सीएनएनसँग बोल्दै सङ्क्रमणले जनवरीको अन्त्यसम्ममा अमेरिकामा उच्च बिन्दु लिने सम्भावना रहेको बताएका छन्। कैयौँ देशले कोभिडको तेस्रो मात्रा खोप दिनेगरी बूस्टर अभियान सुरु गरेका छन् ।

तर डब्ल्यूएचओ प्रमुखले ठूलो स्तरका बूस्टर अभियानले गरिब देशमा हुनुपर्ने आपूर्ति मोडिरहेको र त्यसले महामारी लम्ब्याउने देखिएको बताएका छन् । गरिब देशहरू खोपबाट पर रहँदा त्यहाँ सङ्क्रमण फैलने र भाइरस उत्परिवर्तन हुने थप अवसरहरू सिर्जना हुने डब्ल्यूएचओ प्रमुखको भनाइ छ ।
 

प्रतिक्रिया