‘राजगंज’को प्रिमियर, सेन्सरप्रति डा.बाबुरामको आपत्ति

काठमाडौं । चलचित्र ‘राजगंज’को विहीवार साँझ प्रिमियर गरिएको छ ।

काठमाडौंको बिग मुमीज्मा बुधबार साँझ गरिएको प्रिमियरमा चलचित्रकर्मीसँगै राजनीतिकर्मीहरुको पनि  उपस्थिति थियो । प्रिमियरमा पुगेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले चलचित्रको अंश काटिदा चलचित्रमाथि अन्याय भएको बताए । ‘मलाई दुःख के लाग्यो भने फिल्मका केही महत्वपुर्ण अंशहरु काटिएको छ भन्ने सुने । कति काटिएको हो यदी मुख्य अंश काटिदा फिल्मको टाउकै काटिए जस्तो हुन्छ । त्यसो गर्नु उपयुक्त हँुदैन । हाम्रो सविधानले अभिव्यक्ति स्वतन्त्रता दिएको छ । मेहेनत गरेर बनाएको फिल्मको आधारभुत पक्ष नै काटियो भने फिल्म माथि नै अन्याय हुन्छ । त्यस हिसाबले पनि वेठिक हुन्छ ।’ यस्तै, चलचित्र हेर्न पुगेकी कलाकार केकी अधिकारीले मधेसको कथा बोकेको चलचित्र शक्तिशाली रहेको बताइन् । उनले भनिन्‘ चलचित्र शसक्त्त माध्यम हो । जहाँ लुकेर रहेको विभेदहरुलाई देखाउन सकिन्छ । यसको बलियो प्रस्तुतीले चलचित्रमार्फत समाज यस्तो हुन सक्छ भन्ने उदाहरण पनि दिन सक्छ । धेरै महिला कलाकार भएको कमै देखिन्छ । यो खालको चलचित्र बनाइनुपर्छ ।’ 

कलाकार नाजिर हुसेनले विभेद जहाँपनि हुने गरेको भन्दै त्यसको अन्त्यका लागि चलचित्र बनेको बताए । उनले कला स्वतन्त्र हुने भन्दै चलचित्रमा सेन्सर लगाउँदा कला मर्न जाने पनि बताए । नायिका ऋचा शर्माले राम्रो प्रतिक्रिया पाउँदा खुसी लागेको बताइन् । निर्देशक दीपक रौनियारले सिनेमा सेन्सर झमेलामा केही दुःख लागेपनि अहिले प्रिमियर शोमा मिलेको प्रतिक्रियाले खुशी मिलेको बताए । आफुले देखाउन खोजेको सवै कुरा दर्शकलाई शुक्रबारबाट देखाउन नपाउने हुँदा केही दःुख त अवश्य लाग्छ । तर, हामीले जे जती देखाएका छौं दर्शकलाई मन पर्छ होला भन्ने अपेक्षा छ । 

विशेषगरी चलचित्र बोर्डले २०७२ सालमा एमालेको अध्यक्षको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट बाहिरिने मधेशी दलहरूलाई ‘रुखबाट झरेका दुई–तीनटा आँप’को संज्ञा दिएको दृश्य फिल्ममा समावेश गरिएकोमा आपत्ति जनाएको हो । त्यसलाई हटाउन वा फिल्ममा समावेश गर्नैपर्ने भए प्रधानमन्त्रीको कार्यालयबाट अनुमतिसहितको पत्र लिएर आउन सेन्सर बोर्डले निर्देशन दिएको थियो । बोर्डले केही दृश्य र संवादमा आपत्ति जनाउँदै रोक लगाएपछि निर्माताले पुनः सेन्सरका लागि आवेदन दिएका थिए । बोर्डले राखेका सबै सर्तहरू पूरा गरेपछि फिल्मले ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गरेको थियो ।

चलचित्रमा आशा मगराती, दयाहाङ राई, ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङ, निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठलगायत कलाकारहरूको अभिनय रहेको छ । 
 

प्रतिक्रिया