माओवादी मुख्यालयमा शिक्षकहरूको धर्ना, आन्दोलनलाई थप चर्काइने

काठमाडौं । नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलन अन्तर्गत शुक्रबार नेकपा माओवादी केन्द्रीय कार्यालय, पेरिस डाडामा धर्ना दिएको छ । 

मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपा, बुधबार एमाले कार्यालयमा धर्ना दिएका शिक्षकहरूले शुक्रबार माओवादी केन्द्रीय कार्यालयमा धर्ना दिन पुगेका हुन् । दोस्रो चरणको आन्दोलन अन्तर्गत उनीहरूले चैत ५ गतेसम्म विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरेका छन् । विद्यालय शिक्षा ऐन यही हिउँदे अधिवेशनबाट जारी गर्नुपर्ने आफूहरुको माग रहेको शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए । उनले भने, ‘विगतमा पटक पटक आन्दोलन भएर सहमति भएका छन् । ति सहमतिहरुलाई सम्बोधन हुनेगरी विद्यालय शिक्षा ऐन यही हिउँदे अधिवेशनबाट जारी गर्नुपर्छ भनेर दबाब निर्माण गर्नका आन्दोलनमा छौं ।’

शिक्षकहरूको स्थायित्व, सेवा सुविधा, बालविकास कार्यक्रम, विशेष शिक्षा र सरकारी तथा निजी विद्यालयबीचको भेदभाव हटाउनुपर्ने मागसहित महासंघ दोस्रो चरणको आन्दोलनमा छ । महासंघले पहिलो चरणको आन्दोलनपछि पनि ठोस पहल नभएको भन्दै अब संघर्षलाई अझ सशक्त बनाउने चेतावनी दिएको छ । 

पार्टी कार्यालयहरूमा धर्नाको कार्यक्रमपछि सांसदहरूसँग भेटघाट तथा पक्षीकरण, काठमाडौंमा रिले अनसन र काठमाडौं केन्द्रित अनिश्चितकालीन सडक आन्दोलन गर्ने महासंघको तयारी छ ।
 

प्रतिक्रिया