ग्वार्को ‘फ्लाईओभर’: चर्चा धेरै, काम सुस्त

काठमाडौँ । एकातिर व्यस्त चक्रपथ सडक, अर्कोतिर बढ्दो सहरीकरणले निम्त्याएको सवारी चाप । चारतिरबाट बराबर सवारी चाप पर्दा ललितपुरको ग्वार्को चौबाटोमा हुने घण्टौँको सवारी जामलाई घटाउन सरकारको प्राथमिकतामा पर्यो– ‘ग्वार्को फ्लाईओभरको योजना’। 

देशकै पहिलो ‘फ्लाईओभर’ कस्तो बन्ला ? सरकारी अधिकारीदेखि इन्जिनियरसम्म, सर्वसाधारणदेखि यातायात व्यवसायीसम्मको मन कौतुहलता रह्यो । देश विदेशमा फ्लाईओभर देखेकाहरूले सामाजिक सञ्जालमा आफ्नो अनुभव पोखे, इन्जिनियर र विज्ञहरूले आफ्नो डिजाइन अघि ल्याए । वर्षौँको तयारीपछि सरकारले १७ करोडमा फ्लाईओभर निर्माणको ठेक्का लगायो । 

व्यस्त सडकको मध्यभागमा यति ठूलो योजना कसरी निर्माण गर्ने ? फ्लाईओभर निर्माण हुञ्जेल ट्राफिक व्यवस्थापन कसरी गर्ने ? दर्जनौँ छलफल भए यसबारे । ०७८ को माघमा फ्लाईओभर निर्माणको ठेक्का लगाएको सरकारले १४ महिनामा काम पूरा गर्न डेडलाइन दिएको थियो । तर अहिले ३८ महिना बितिसक्दा पनि फ्लाईओभर निर्माणको काम पूरा भएको छैन, बरू ग्वार्को चौबाटोमा हुने सवारी जामले सर्वसाधारण यात्रुलाई हुने सास्ती तेब्बरले बढेको छ । 

यहाँ वारीपारि चारतिर दश जना ट्राफिक प्रहरी खटिन्छन् दिनहुँ । तर फ्लाईओभर निर्माणले सडकको मुख्यभाग वर्षौदेखि ओगटेर राख्दा न गाडीले गुड्न पाउँछन्, न पैदलयात्री ढुक्कले हिँ ड्न । वास्तवमा सवारीको अस्तव्यस्तता यहीँ देख्न पाइन्छ । 

ठेक्का पाएको निर्माण कम्पनी आशिष–समानान्तर–रेलिगेर जेभी कहिले के बहानामा काम रोक्छ, कहिले सरकारले पैसा नदिएर काम रोक्छ । नियामक सरकारी निकायलाई ठेकेदार कम्पनीसँग बार्गेनिङ गर्न फुर्सद छ्, तर नियमित अनुगमन र परीक्षण गर्न भ्याउँदैनन् । केही महिनाअघि कमसल सामग्री प्रयोग गरेर काम गरेको खुलेपछि अहिले बनाइसकिएको पर्खाल भत्काएर पुनःनिर्माण थालिएको छ ।

देशको मुटु संघीय राजधानीमै रहेको १७ करोडमात्रको यो आयोजना निर्माणमा सरकारले देखाएको उदासीनताले पूर्वाधार निर्माणमा देशभर देखिएको सुस्ततालाई छर्लङ्ग बनाउँछ । सम्झौताअनुसार ०८० फागुनभित्र फ्लाईओभर निर्माण भइसक्नुपर्ने थियो । तर निर्माण कम्पनीमात्रै होइन, सरकारी निकायकै ढिलासुस्तीकै कारणसमेत आयोजनाको प्रगति ०८१ को चैतमा बल्ल ८२ प्रतिशतमात्रै छ । 

त्यसो त अहिलेसम्म आयोजना निर्माणकालागि तेश्रोपटक म्याद थप भइसकेको छ । गत पुस ९ गते तेश्रो पटक म्याद थप भएपछि सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले निर्माण व्यवसायीलाई दैनिक जरिवाना लगाएर काम गराउँदै आएको छ । 

सम्झौता भएपछि लगत्तै निर्माण कम्पनीले काम गर्न पाएनन् । किनकि त्यो बेला फ्लाईओभर कस्तो बनाउने ? भन्ने डिजाइन नै बसिकेको थिएन । ०७८ को माघमा ठेक्का पाएको कम्पनीले ०७९ को माघमामात्रै काम थालेको थियो। जसकारण निर्माणको काममा ढिलाइ मात्रै भएन, अहिले निर्माण कम्पनीले जरिवाना तिरेर काम गरिरहेको छ ।

निर्माण कम्पनीले औसतमा ठेक्का रकमको दैनिक करिब ०.०५ प्रतिशत जरिवाना तिरेर काम गरिरहेको छ । 

तेश्रो पटकको म्याद थपपछि निर्माण व्यवसायीले चैत्र मसान्तसम्मको समय मागेका छन् । तर त्यहीअनुसार कामको गति भने सुस्त छ । यहाँ आवतजावतको संरचनासहित ५ सय ४० मिटर लामो फ्लाइओभर निर्माण गर्ने योजना छ भने यसको कुल लागत १७ करोड ६ लाख ८८ हजार रुपैयाँ हो । 

सुरुवातमा ३२ प्रतिशत न्युन मूल्यमा ठेक्का लिएको निर्माण कम्पनी अहिले आफू नोक्सानमा काम गरिरहेको दाबी गर्दै आएको छ । कम्पनीका अनुसार उक्त आयोजनामा ४४ करोड रुपैयाँ खर्च भइसकेको छ । पटक पटक काममा रोकावट, महँगी, डिजाइनमा परिवर्तनजस्ता कारणले आफूले ठूलो नोक्सानीमा काम गर्नुपरेको निर्माण कम्पनीको दाबी छ ।

निर्माण व्यवसायीले समयमा काम गर्न नसक्दा अहिले दैनिक जरिवाना तिरेर काम गरिरहेको सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झाले बताए । ‘अब चैत मसान्तभित्र काम गर्ने प्रतिबद्धता आएको छ । त्यसअनुसार काम भने अघि बढेको छैन,’ उनले भने, ‘हामी समयमा काम सम्पन्न हुने बातावरण बनाउन लागिरहेका छौँ ।’

फ्लाईओभरको उत्तरतर्फको (ग्वार्को–बालकुमारी) खण्डमा ३२० मिटर र दक्षिणतर्फको (ग्वार्को–सातदोबाटो) खण्डमा १८० मिटरको ¥याम्प निर्माण भइरहेको छ । बीचमा ३५ मिटरको पुल राखिएको छ । फ्लाईओभर निर्माण सम्पन्न भएपछि चक्रपथ सडकमा चल्ने सवारी साधन फ्लाईआभेरबाट सञ्चालन हुनेछन् भने मंगलबार–इमाडोल खण्डमा सञ्चालन हुने सडक फ्लाईओभर मुनिबाट सञ्चालन हुनेछन् । 

फ्लाईओभर सञ्चालनपछि चक्रपथ सडकमा सञ्चालन हुने सवारीसाधन निर्वाध सञ्चालन हुने ट्राफिक प्रहरीको दाबी छ । तर कतिपय विज्ञहरूले भने फ्लाईओभर बनाएपनि डिजाइनमा ध्यान नदिँदा ट्राफिक व्यवस्थापनमा खासै सहजता नहुने दाबी गरिरहेका छन् । 

सर्वसाधारण भने फ्लाईओभरको नाममा सरकारले वर्षौसम्म अल्झाएको आक्रोस पोख्छन्। कोटेश्वर–कलंकी सडकलाई चीन सरकारको अनुदानमा २०७५ सालमा ८ लेनमा विस्तार गरिएको थियो । तर ग्वार्कोमा भने चक्रपथसँगै पाटन मंगलबार र लगनखेलदेखि इमाडोल, लुभुसम्म जाने सवारीको चाप हुँदा थेगिनसक्नु सवारी जाम हुने गरेको हो । 

चक्रपथ बाहिर पर्ने महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिका क्षेत्रमा पछिल्ला वर्षहरूमा तीब्र सहरीकरण हुँदा जनसंख्याको चाप उच्च छ । जसको असर सडक र सवारीमा परेको हो । 

सरकारले ग्वार्कोसँगै फ्लाईओभर निर्माणको योजना ल्याएको थियो, सातदोबाटो र एकान्तकुनामा पनि । ती ठाउँहरूमा भने अहिले फ्लाईओभर निर्माणको काम सुरु हुने सकेको छैन । कोटेश्वर र बानेश्वर अण्डरपास निर्माण योजना समेत कागजमै सीमित छन् । 
 

प्रतिक्रिया