काठमाडौं । डोल्पाको मुडकेचुला गाउँपालिकाको इलमा निर्माण हुने १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजना निर्माणका लागि चार कम्पनीले आवेदन दिएका छन् ।
यसअघि प्राविधिक प्रस्तावमा कुनै पनि कम्पनी पास नभएपछि रद्द भएको जलविद्युत् आयोजनाको ठेक्का पुनः आह्वान गरिएको थियो ।
यो आयोजनाका लागि जगदुल्ला हाइड्रोपावर कम्पनीले सिभिल र हाइड्रो मेकानिकाल संरचना निर्माणका लागि निकालेको ठेक्कामा सिनो हाइड्रो, सिल÷एचएचएच जेभी, जेसीइ-एनके जेभी र टु एमजी-फेवा जेभीले आवेदन दिएका छन्। आवेदन दिएका यी चार कम्पनीमध्ये प्राविधिक र वित्तीय मूल्यांकनमा उत्कृष्ट एक कम्पनीले ठेक्का पाउनेछ ।
गत जेठ २० गते जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले सिभिल र हाइड्रोमेकानिकल तर्फको ठेक्का निकालिएको थियो । आयोजनामा हाइ हिमालयन हाइड्रो र एजीई कम्पनीको जेभी, झोङदिङ इन्टरनेशनल, पटेल इन्जिनियरिङ,लामा कन्स्ट्रक्सनलगायत ७ वटा कम्पनीले आवेदन दिएका थिए । उक्त ठेक्कामा कुनै पनि कम्पनी प्राविधिक प्रस्तावमा पास नभएपछि पुस २१ गते ठेक्का रद्ध गरिएको हो ।
यो आयोजना निर्माणका लागि २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये करिब १६ अर्ब रुपैयाँ ऋण र ७ अर्ब रुपैयाँ इक्विटी (सेयर)बाट जुटाउन लागिएको हो । सिभिल र हाइड्रोमेकानिकल संरचनाका लागि करिब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भइसकेको छ । कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच अघिल्लो बैशाख २८ गते पीपीए भएको हो । वर्खायाममा ४.८० रुपैयाँ र हिउँदमा ८.४० रुपैयाँमा पीपीए भएको छ । हिउँदको पिकिङको भने १०.५५ रुपैयाँ पाउनेछ । यो आयोजनाले ४ देखि ६ घण्टासम्म पिकिङ क्षमता छ ।
आयोजनासम्म पुग्ने पहुँचमार्ग निर्माणको काम भईरहेको छ । ९ वटा बेलिवृज निर्माण गर्नुपर्छ । जसको काम सुरु भईसकेको कम्पनीले जनाएको छ । धेरै जसो पूर्व तयारीका कामहरु अन्तिम चरणमा रहेको बताइएको छ ।
यो आयोजनाबाट निर्माण थालेको ५ वर्षमा उत्पादन गर्ने लक्ष्य छ । डोल्पामा बन्ने यो आयोजना कर्णालीको विकासका लागि समेत महत्वपूर्ण मानिएको छ । कम्पनीले १२० मेगावाट जगदुल्ला ‘ए’ जलविद्युत् आयोजना समेत निर्माण गर्न लागेको छ । जुन जगदुल्ला जलविद्युत् आयोजनाको क्यासकेड हुनेछ । यो आयोजनाको पनि कम्पनीले अध्ययन गरिरहेको छ ।
यस्तो पनि भएको थियो
१०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत आयोजना निर्माणको ठेक्कामा सेटिङ बिग्रिएपछि टेण्डर नै रद्द भएको रहस्य खुलासा भएको थियो । जगदुल्ला हाइड्रोपावर कम्पनीका सीइओ सञ्जय सापकोटाको शंकास्पद भूमिकाका कारण टेण्डर नै रद्द हुन पुगेको उर्जा मन्त्रालय सम्बध्द सूत्रले दावी गरेको थियो । यो ठेक्का दिलाउन ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का नै चेक लेनदेनमा प्रत्यक्षरुपमा संलग्न भएको भन्ने सूचना सार्वजनिक भएपछि मात्रै टेण्डर रद्द भएको कुरा प्रकाशमा आएको थियो । गत पुस २३ गते ठेक्का रद्द गरिएको सूचना सार्वजनिक भएको थियो ।
आयोजना निर्माणका लागि सात कम्पनीले भाग लिएका थिए । जसमध्ये क्रमशः चिनियाँ कम्पनी जेडआईइसीसँग नेपाली कम्पनी शर्माको जेभी, भारतीय कम्पनीद्वय सोमा र अबिरसँग नेपाली कम्पनी रामेछाप शेर्पा कन्स्ट्रक्सनको जेभी, टर्किस कम्पनी एजसँग नेपाली कम्पनी हाई हिमालयको जेभी तथा चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले भाग लिएका थिए ।
त्यसैगरी चिनियाँ कम्पनी जेसीइसँग नेपाली कम्पनी एएनके जेभी, भारतीय कम्पनीद्वय आरभीएनएल र पटेल इन्जिनियरिङसँग नेपाली कम्पनी लामा कन्स्ट्रक्सन जेभी र भारतीय कम्पनी ओम मेटलसँग नेपाली कम्पनी फेवा जेभीले टेण्डरमा भाग लिएका थिए ।
टेण्डरमा प्रकृया पुर्याउनका लागि शर्माले जेभी गरेको चिनियाँ कम्पनी जेडआईइसी नेपाल विद्युत प्राधिकरणले कालोसूचीमा राखेको कम्पनी हो । त्यस्तै हाई हिमालयले जेभी गरेको टर्किस कम्पनी एजको नेपाली एजेन्ट दिपक मल्होत्राको आइएमएस कन्सलटेन्सी हो भने चिनियाँ कम्पनी सिनो हाइड्रोका नेपाली एजेन्ट हुन्, प्रविण श्रेष्ठ ।
लामा कन्स्ट्रक्सनले जेभी गरेको भारतीय कम्पनी आरभीएनएलका नेपाली एजेन्ट पनि मल्होत्राकै आइएमएस कन्सलटेन्सी हो भने पटेल इन्जिनियरिङका नेपाली एजेन्ट हुन्, गोरख थापा । लामा कन्स्ट्रक्सनमा भने विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङका दाइ गणेश लामा र पूर्वराज्यमन्त्री धनबहादुर बुढा जोडिएका छन् ।
यसमा भारतीय कम्पनी आरभीएनएल र पटेल दुबैले टेण्डरमा प्रकृया पुर्याउनकै लागि नाममात्रै धनबहादुर बुढालाई दिएका थिए । भारतीय कम्पनी ओम मेटलसँग जेभी गर्ने फेवाका सञ्चालक हुन्, निकोलस पाण्डे । टेण्डर पाएको भए निकोलसको अर्को कम्पनी भीआईपीएलले सब–कन्ट्य्राक्टमार्फत काम गर्ने थियो । सातवटा मध्ये दुईवटा कम्पनीमा ब्यापारी दिपक मल्होत्राको आइएमएस कम्पनीले जेभी गरेको थियो ।
जगदुल्लाका सिइओ सापकोटाले शुरुमा शर्माले जेभी गरेको चिनियाँ कम्पनी जेडआईइसीलाई टेण्डर दिलाउन लविङ गरेका थिए । जेडआईइसीले टेण्डर पाएको खण्डमा उनै बुढाले सब–कन्ट्य्राक्ट गर्ने गरी सेटिङ गरिएको थियो ।
तर, सापकोटाले अन्तिममा चिनियाँ कम्पनी सिनो हाइड्रो तथा भारतीय कम्पनीद्वय आरभीएनएल र पटेल इन्जिनियरिङले जेभी गरेको लामा कन्स्ट्रक्सनलाई पनि टेण्डर दिलाउन छुट्टाछुट्टै डिल गरेको जगदुल्ला कम्पनी सम्बध्द सूत्रले जनाएको थियो ।
ठेक्कामा संलग्न भारतीय कम्पनीद्वयसँग जेभी गर्ने लामा कन्स्ट्रक्सनले बढी मूल्य कबोलेर टेण्डर हत्याउन खोज्यो । यो खेलमा उनै सापकोटा पनि लागे र अन्तिममा मन्त्री खड्कासँग विवाद भएपछि ‘चेक काण्ड’ मच्चाएर टेण्डर नै रद्द गरियो ।
चितवनको गौतम बुद्ध क्रिकेट रंगशालाको ठेक्कामा यसरी नै विदेशी कम्पनीको नोटराइज डकुमेन्ट माग्दा चितवन महानगरपालिकाका प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानालाई कारबाही स्वरुप हटाइएको थियो ।
ठेक्का रद्दपछि सापकोटाले प्रेस विज्ञप्ति जारी गर्दै सात वटै कम्पनी प्राविधिक रुपमा क्वालिफाइड नभएको उल्लेख गरेका थिए । तर, अब ठेक्का रद्दसँगै आयोजनाको मूल्य २ अर्ब भन्दा बढी बढ्ने अवस्था देखिएको छ । यो ठेक्का २३० मिलियन अमेरिकी डलर बराबरको हो ।
मन्त्री खड्काले हाई हिमालय हाइड्रो र एजीई कम्पनीलाई ठेक्का दिलाउन चेक वितरण गरेको भन्दै केही ठेकेदारहरुले हल्ला चलाएका थिए ।
जगदुल्लाको संचालक समितिको अध्यक्षमा ऊर्जा मन्त्रालयकै सहसचिव सुनिल पौडेल छन् । त्यसअघि उर्जा मन्त्रालयका सहसचिव सन्दीप देवलाई हटाएर जीवाञ्छ मण्डललाई ल्याइएको थियो । ठेक्का सेटिङकै लागि मण्डललाई पनि हटाएर पौडेललाई अध्यक्ष बनाइएको समाचार सूत्रको दावी छ ।
ठेक्का रद्द हुनुमा अर्को कारण उनै देव पनि हुन् । उलाई हटाएको तीन महिनामै ठेक्का रद्द भएको हो । देवले पनि यो आयोजनाबाट ठूलो स्वार्थ राखेका थिए । आयोजनामा संस्थापक सेयरधनीका रुपमा विद्युत् उत्पादन कम्पनी (भीयूसीएल)को २६ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को १०, नेपाल विद्युत् प्राधिकरणको ९, कर्णाली प्रदेश सरकारको ५ तथा जगदुल्ला र मुड्केचुला गाउँपालिकाको समान १/१ प्रतिशत सेयर स्वामित्व छ । सर्वसाधारण नागरिकले ३३ प्रतिशत, आयोजना प्रभावित डोल्पाका बासिन्दाले १० प्रतिशत, प्रसारण लाइन प्रभावित बासिन्दा र आयोजनाका कर्मचारीले समान ३र३ प्रतिशत बराबरको सेयर लगानी गर्न पाउने व्यवस्था छ ।
आयोजनाले २०७४ असार १८ गते विद्युत् उत्पादनको तथा २०७६ पुस १६ गते विद्युत् प्रसारण लाइनको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको थियो ।
नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा उर्जामन्त्री हुँदा भीयूसीएलको स्थापना गरिएको थियो । भीयूसीएलमा अहिले बखतबहादुर शाही सिइओ छन् । सापकोटालाई जगदुल्लाको सिइओ बनाउन पनि उनै शाहीले भूमिका खेलेका थिए । सापकोटा माओवादी केन्द्रका नेता अग्नि सापकोटाका नातेदार हुन् ।
चिनियाँ कम्पनी संलग्न हाइड्रोमा भारतको नीति अनुसार भारतीय कम्पनीले विस्फोटक पदार्थ दिन नपाउने नियम छ । यसकारण पनि जगदुल्लाका सिइओ सापकोटा सुरुमा चिनियाँ कम्पनीलाई पोसेर पछि भारतीय कम्पनी त्यो पनि पटेल र आरभीएनएलतर्फ लागेको उर्जा मन्त्रालय सूत्रको भनाई छ ।
तर, चेक बाँडफाँडमा संलग्न भनिएका मन्त्री खड्काले सापकोटालाई नै कारबाही गर्न लागेपछि उनी आफू विविध कारणले जोगिनकै लागि ठेक्का रद्द गरेको बुझिएको थाहा भएको छ ।
प्रतिक्रिया