चर्चामा राजा फर्कने बहस: एमालेको विशेष प्रस्ताव, कोइरालाको चेतावनी

काठमाडौं। सत्तारुढ दल एमालेले देशमा राजतन्त्र फर्काउने प्रयासको आलोचना गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमालेले राजतन्त्र फर्र्काउने प्रयास सफल नहुने निष्कर्ष समेत  निकालेको छ।

केन्द्रीय कार्यालयमा बसेको एमालेको सचिवालय बैठकले विशेष प्रस्ताव पारित गर्दै राजतन्त्र र लोकतन्त्र सँगसँगै अघि बढ्न नसक्ने विगतको स्मरण पनि गरेको छ।

सचिवालय बैठकले विशेष प्रस्ताव पारित गरेको जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘विगतमा आन्दोलनका क्रममा गरिएका सहमति विपरित राजतन्त्र पटकपटक जनताका अधिकारमाथि आक्रमण र सर्वसत्तावादतर्फ उद्धत भएपछि राजतन्त्र र लोकतन्त्र सँगै जान सक्दैनन् भन्ने निष्कर्षका साथ ऐतिहासिक संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो। जनताको यस फैसला उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन सक्दैन भन्ने एमालेको निचोड रहेको छ।’

केही समययता गणतन्त्र र संविधानप्रति भइरहेका सुनियोजित घटनाक्रमप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको ज्ञवालीले बताए।

‘केही समययता लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानप्रति भइरहेका सुनियोजित घटनाक्रमप्रति एमालेको गम्भीर ध्यानाकर्षण भएको छ,’ ज्ञवालीले भने, ‘लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सात दशक लामो बलिदानी संघर्षको परिणती हो।’

कांग्रेस नेता कोइरालाको चेतावनी

यसैगरी सत्तारुढ दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजावादी आन्दोलनबाट सतर्क बन्नुपर्ने बताएका छन्। गृहनगरमा रहेका कोइरालाले सोमबार सम्वाददाताहरुसँग भने, राजावादी आन्दोलनसँग सतर्क बन्नुपर्छ।

पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्ला गतिविधिका बारेमा जानकार रहेका कोइरालाको भनाई छ, ‘हामी आत्तिहाल्नुपर्ने अवस्था छैन, तर सतर्क रहनुपर्छ, सतर्क हुने भनेको राम्रो काम गर्ने हो।’

जनताको आकांक्षा धेरै रहेको बताउँदै कोइरालाले राजनीतिक परिवर्तनपछि धेरै कामहरू भएको चर्चा गर्दै, ‘हामीले के गर्‍यौं गरेनौं भन्ने कुरा महत्वपूर्ण हो। केही गरेनौं भन्ने होइन, धेरै गरेका छौं, जनताको आकांक्षा अत्यन्त धेरै छ, जनताले खोजेका कुरा हामीले दिन सकेका छैनौं, तर जनतालाई सुसूचित गर्ने काम त हामी राजनीतिक दल र सरकारकै हो।’

राजनीतिक दलका नेतृत्व प्रतिको वितृष्णाले अहिलेको अवस्था आएको कोइरालाको बुझाई छ।
 
 

प्रतिक्रिया