यौन व्यवसायको वकालत गरेका प्रमुख सचेतक घिमिरेमाथि कार्वाही गर्न कांग्रेस नेताहरुको माग

काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिनिधिसभा बैठकमा 'यौन व्यवसाय खुला गर्नुपर्छ' भनेर धारणा राखेकामा पार्टीका नेताहरूले आपत्ति जनाएका छन्। 

पार्टीका पदाधिकारी र महिला नेताहरूले प्रमुख सचेतकको जिम्मेवारीमा रहेको व्यक्तिले संसद्‌मा राखेका अभिव्यक्तिले पार्टीको प्रतिनिधित्व गर्ने भएकाले जथाभावी बोल्ने घिमिरेलाई कारबाही गर्न समेत माग गरेका छन्। उनको अभिव्यक्तिले पार्टीकै बद्‌नाम भएको उनीहरूको दावी छ।

मंगलबार बुढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकमा संसद्‌मा प्रमुख सचेतक घिमिरेले दिएको अभिव्यक्तिलाई लिएर उनको चर्को आलोचनामात्रै भएन, सभापति देउवाले उनलाई झिकाएर सोधपुछ समेत गरेका छन्। पार्टीको प्रमुख सचेतकले नै त्यस्तो अभिव्यक्ति दिएपछि महिला सांसदहरूले पदाधिकारी बैठकमा पुगेर उक्त धारणा पार्टीको आधिकारिक हो कि के हो भन्दै प्रश्न गरेका थिए। 

यदि पार्टीको आधिकारिक धारणा नभए त्यस्तो अमर्यादित अभिव्यक्ति राख्ने पदाधिकारीलाई कारबाही गर्नुपर्ने उनीहरूको माग थियो। सांसदहरू इश्वरी न्यौपाने, सीता गुरुङ लगायतले पदाधिकारी बैठकमा विशेष समय नै लिएर त्यसबारे ध्यानाकर्षण गराएपछि महामन्त्री गगन थापा, सहमहामन्त्री महालक्ष्मी उपाध्याय, प्रवक्ता प्रकाशशरण महत लगायतले प्रमुख सचेतक घिमिरेले जथाभावी बोल्दा पार्टीको छविमै असर पुगेको दावी गर्दै विरोध गरेका थिए।

घिमिरेले प्रमुख सचेतकको भूमिकामा रहेर सधैँ पार्टीको हितभन्दा पनि आफ्नो स्वार्थ केन्द्रीत अभिव्यक्ति दिइरहेको नेताहरूको आरोप थियो। 

बैठकमा सबैले घिमिरेको अभिव्यक्तिबारे आलोचना गर्दै पदबाटै हटाउनुपर्ने संकेत गरेपछि सभापति देउवाले घिमिरेलाई पनि बोलाउन निर्देशन दिएका थिए। 

घिमिरेको तीव्र आलोचना भएपछि उपसभापति पूर्णबहादुर खड्काले भने बचाउ गरे। 'त्यो उहाँको व्यक्तिगत विचार होला, पार्टीको त्यस्तो धारणा हुने कुरै भएन,' खड्काको भनाइ उद्दृत गर्दै बैठकमा सहभागी एक नेताले भने, 'यसबारे उहाँले माफी मागेर संसद्‌को रेकर्डबाट हटाउनु भन्नुहुन्छ। धेरै विवाद आवश्यक छैन।'

घिमिरेले आइतबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर त्यसबारे बोलेका थिए। देशको विकासका लागि कानुनी व्यवस्था गरेर यौन व्यवसाय खुला गर्नुपर्ने उनको प्रस्ताव थियो। 'धार्मिक पर्यटकले पैसा खर्च गर्दैनन्। पैसा खर्च गर्ने भनेको मनोरञ्जन क्षेत्रमा आउने पर्यटकले नै हो, यौन व्यवसायलाई खुला गरौँ। यसबाट धेरै विदेशी पर्यटक आउँछन्। यसले मुलुकको आर्थिक संमृद्धिका लागि योगदान पुग्छ,' घिमिरेले भनेका थिए। उनले यसअघि प्रमुख सचेतक नहुँदै पनि यस्तै धारणा राखेका थिए। त्यसबेला पनि उनको अभिव्यक्ति विवादित भएको थियो।

केन्द्रीय सदस्य एवम् सांसद सीता गुरुङले महिलाहरूको आत्मसम्मानमाथि सीधा प्रहार हुने गरी पार्टीको जिम्मेवार व्यक्तिले राखेको उक्त अभिव्यक्तिले पार्टीको छवि धुमिल बनाएको बताइन्। 'हाम्रो सामाजिक संरचनामा विविधता छ। विगतमा राज्यले नै जातीय, वर्गीय र सांस्कृतिकरुपमा विभेद र उत्पिडिनमा पारेका समुदायहरू छन्। यस्तो कानुनी प्रस्ताव ल्याउनु भनेको फेरि पनि ती समुदायलाई अपहेलित गर्ने अभिप्राय हो। विगतमा एउटा समुदायलाई त्यस्तो अमर्यादित काममा लगाइएकोमा अहिलेसम्म पनि उनीहरूलाई सरकारले राज्यको मूलधारमा ल्याउन सकिरहेको छैन,' गुरुङले भनिन्, 'यस्तोमा फेरि यौन व्यवसायलाई कानूनी मान्यता नै दिएर महिलाहरूको अस्मितामाथि प्रहार गर्ने गरी सरकारी कदम चाल्ने कुरा सम्भव छैन। मुख्य सत्तारुढ दलको प्रमुख सचेतकले संसद्‌मै यस्तो धारणा राख्दा हामीले पनि सुसूचित हुनुपर्छ भनेर पार्टीमा पदाधिकारीहरूको ध्यानाकर्षण गराएका छौँ। जिम्मेवार पदमा बस्नेले जथाभावी बोल्नु हुँदैन।'

सांसद गुरुङले अहिले यदि कहीँ कतै त्यस्तो व्यवसायमा महिलाहरू संलग्न भएको भएपनि ती महिलाहरूलाई राज्यले अवसर दिएर उध्दार गर्नुपर्ने बताइन्। अर्का सांसद सरिता प्रसाईले प्रमुख सचेतकले बोलेपनि उक्त विषयमा पार्टीको एजेण्डा बन्न नसक्ने बताइन्। 'उहाँले पदीय मर्यादा पालना गर्न सक्नुभएन। जथाभावी बोलेर महिलाहरूको अस्मितामाथि खेलवाड गर्न मिल्दैन,' उनले भनिन्।

पदाधिकारी अधिकांश नेताहरूले प्रमुख सचेतक घिमिरेले राखेको धारणामा फरक मत राखेपछि सभापति देउवाले बुधबारको बैठकमा आफ्नो अभिव्यक्ति फिर्ता लिएर रेकर्डबाट हटाउन माग गर्न निर्देशन दिएका छन्।

घिमिरेले अभिव्यक्ति दिएका विषयमा यसअघि नै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले संसदीय मर्यादा विपरीत भन्दै संसदीय रेर्कडबाट हटाउन माग गरिसकेका छन्। 

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी सांसद दुर्गा राइले यौन व्यवसाय खुला गर्नुपर्ने सम्बन्धी घिमिरेको भनाइ संसदीय रेकर्डबाट हटाउन माग गरेकी थिइन्। 'यस्तो बिचारले अनुशासित र मर्यादित रुपममा रहेको समाजलाई अराजकतातिर पुर्‍याउँछ । त्यसैले यो भनाइलाई रेकर्डबाट हटाउन माग गर्दछु’ उनले भनेकी थिइन् ।

यसअघि तत्कालीन कानुनमन्त्रीसमेत रहेका शेरबहादुर तामाङले संसद्‌मा 'बंगलादेशमा पढ्न गएका नेपाली छात्राहरूले यौन व्यवसाय गरेको' भन्नेबारे अभिव्यक्ति दिँदा उनको मन्त्री पद नै खोसिएको थियो। चर्को आलोचना भएपछि उनले पदबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया