विपी राजमार्गको क्षतिग्रस्त खण्ड पक्की अवस्थाकै बन्ने

काठमाडौं । बिपी राजमार्गको क्षतिग्रस्त खण्डलाई स्थायी स्वरुमा ल्याउनेगरी पुनर्निर्माण हुने भएको छ। भक्तपुर र सिन्धुली सडक डिभिजन कार्यालयले क्षतिग्रस्त सडकलाई पक्की अवस्थामा ल्याउनेगरी पुनर्निर्माण गर्न बेग्लाबेग्लै ठेक्का आव्ह्वान गरिसकेका छन्।

गएको असोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको दुई सडकखण्ड पुनर्निर्माणका लागि ठेक्का आह्वान गरिसेकको हुनाले बाढीपहिरोबाट क्षतिग्रस्त भएको पाँच महिनापछि अब काम सुरु हुने भएको छ। असोजमा रोशी खोलामा आएको बाढीले रोशीदेखि नेपालथोकसम्मको करिब १३ किलोमिटर सडकमध्ये साढे आठ किमी सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । क्षतिग्रस्त सडक खण्डको पुनःनिर्माण गर्न चार प्याकेजमा काम गरिने सडक डिभिजन कार्यालयले जनाएको छ।

क्षतिग्रस्त सडकखण्डमध्ये सिन्धुलीतर्फ भने पहिलो प्याकेजका रूपमा गत फागुन २८ गते ‘टेन्डर’ आह्वान गरिएको थियो। यसमा नेपालथोकदेखि वर्षेखोलासम्मको सडकखण्ड पर्नेछ। जसका लागि ७२ करोडमा रुपैयाँमा ठेक्का आह्वान गरिएको हो। बाँकी क्षतिग्रस्त तीन प्याकेज सडकखण्ड भने काभ्रेपलाञ्चोकमा पर्नेछ।

काभ्रेपलाञ्चोतर्फको क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि मंगलबार पहिलो टेन्डर आह्वान गरिएको हो। यसतर्फको आठ किमी सडक (डालाबेंसीदेखि–चारसयाबेंसीसम्म) पुनर्निर्माणका लागि दुई अर्ब ५० करोड रुपैयाँ बजेट छुट्याइएको डिभिजन कार्यालयले जनाएको छ।

गत फागुन ६ गते अर्थ मन्त्रालयले बिपी राजमार्ग पुनर्निर्माण गर्न आठ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति दिइसकेको छ। त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर बोलपत्र आह्वान गरिएको छ। काभ्रेपलाञ्चोकतर्फको बाँकी दुई टेन्डर पनि भक्तपुर कार्यालयले क्रमशः आह्वान गर्नेछ।

दुई वर्षमा निर्माण सक्नेगरी तयारी भइरहेकोले ठेक्का आह्वान गरिएका सडकखण्डमा ३० दिनसम्ममा आवेदन दिन सकिने छ। प्राविधिक र आर्थिक मूल्याङ्कन सकिएपछि करिब दुई महिनामा ठेक्का सम्झौता हुनेछ।

राजमार्गअन्तर्गत क्षतिग्रस्त सडक स्थायी रूपमा निर्माण हुनुअघि आउँदो वर्षायाममा सडकमा नियमित यातायात सञ्चालनका लागि अस्थायी मर्मत कार्य भइरहेको छ। तीन साताअघि सुरु गरिएको यस कार्यलाई तीव्रता दिइएको छ।

डिभिजन कार्यालयले राजमार्गअन्तर्गत क्षति पुगेको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको अस्थायी मर्मतकार्यलाई तीव्र पारिएको जनाएको छ।

बाढीले काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा ठूलो क्षति पुर्‍याएकाले सोही क्षेत्रलाई प्राथमिकता दिई मर्मतकार्य भइरहेको जनाइएको छ। हाल लोडर र डोजर प्रयोग गरी सडक मर्मतको कामलाई तीव्रता दिइएको छ।

हाल बगरमा गरिएको डाइभर्सन तथा सडकको पुरानै स्थानलाई अवस्था हेरी दुईदेखि तीन मिटरसम्म ग्राभेल भरेर उठाउने तथा अफ्ठ्यारो स्थानमा जाली भरेर उचाइ बनाउन थालिएको हो। क्षतिग्रस्त सडक चौडा पार्ने, सम्याउने तथा ग्राभेल भरेर रोशी खोलालाई गहिर्‍याएर खोलाको सतहभन्दा करिब तीन मिटर उचाइ बनाउने काम भइरहेको छ।

कुल १३ किलोमिटर क्षतिग्रस्त सडकमध्ये पहिलो चरणमा आठ किलोमिटर मर्मत गरिनेछ भने बाँकीको थप मर्मतका लागि योजना बनाइने छ। बाढीले रोशी किनारको सडकको अधिकांश भाग बगाएको थियो। 

राजमार्गको धुलिखेल-नेपालथोक र नेपालथोक–खुर्कोट सडकखण्ड अस्थायी रूपमा मर्मतका लागि सरकारले २१ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। यतिबेला काठमाडौँबाट रामेछाप, सिन्धुलीलगायत पूर्व जाने यातायातका साधन खोलाको बगरमा रहेको कच्ची सडक प्रयोग गरिरहेका छन्।

प्रतिक्रिया