काठमाडौं । नेपालका प्राय सबै क्षेत्रमा उत्पादन हुने कृषि उपज राजधानी काठमाडौंमा ताजा खान पाइने भएको छ । नेपाली खाना प्रवर्द्धन अभियानले किसान र होटल व्यवसायीसँगको समन्वयमा सो अवसर दिन लागेको हो। किसानसँग प्रत्यक्ष सम्पर्क गरी उनीहरुको उत्पादनलाई देशका प्रमुख सहरहरुमा स्वादिष्ट परिकार बनाएर पस्कने अभियानको तयारी छ । होटल-रेष्टुराँ वा घरमै लगेर पनि खान पाउने गरी संयोजन गर्न लागेको नेपाली खाना प्रवर्द्धन अभियानले जनाएको छ।
सोमवार काठमाडौंमा आयोजित भोजनलिपि-स्वाद कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, कृषि,पर्यटन,संचारलगायत क्षेत्रका अगुवाहरुले खानाको स्वाद लिएर अभियान सुरु गर्नुभएको हो ।
भोजनलिपि-स्वाद लिएपछि मन्त्री अधिकारीले नेपाली उत्पादनको बजारीकरणमा सरकारले हरतरहले सहयोग गर्ने प्रतिवद्धता जनाए। कार्यक्रममा सहभागी नेपाल पत्रकार महासंघका पूर्व सभापति विष्णु निष्ठुरीलगायतले राजधानीमै रहेर देशभरका कृषि-उपज स्वादिष्ट परिकारका रुपमा खान पाउनु निकै सह्रानीय काम भएको प्रतिक्रिया दिए।
खाद्यान्न,फलफूल, दुध, माछा-मासु जस्ता किसानका उत्पादनको बजारीकरणमा अभियानले समन्वय गर्ने अभियानका संयोजक अमृत सापकोटाले बताए।
सुरुमा खाद्यान्न, फलफूलजस्ता मौसमी उत्पादनहरुको बजारीकरण गरिने र विस्तारै पर्यटकीय गन्तव्य, हस्तकला तथा साना उद्यमीहरुका उत्पादनको बजारीकरणमा समन्वय गरिने संयोजक सापकोटाले जानकारी दिए।
कृषि उत्पादन र बजारीकरणमा साथ दिएर किसान र माटोप्रति माया जगाउन आफू अभियानमा लागेको सञ्चारकर्मी एवं कृषि-पर्यटनका अभियन्ता देवीप्रसाद सापकोटाले बताए।
स्वदेशी उत्पादन बढाउने र प्रयोग गर्ने सरकारी कार्यक्रमलाई नागरिकस्तरबाट सहयोग गर्न आफू केही वर्षदेखि तयारीमा रहेको उनको भनाइ छ ।
खाना प्रवर्द्धन अभियानमा अन्तर्राष्ट्रिय सेफ दुर्गाबहादुर खड्का र घनश्याम कँडेल पनि जोडिनु भएको छ । नेपाली खानालाई फ्यूजन गरी अन्तर्राष्ट्रिय बजारमा समेत पस्कने सेफ खड्का र कँडेलको तयारी छ ।
काठमाडौको सोह्रखुट्टेस्थित होटल हिमालयन स्विटमा आयोजित भोजनलिपि-स्वादमा इलाम, धनुषा, सर्लाही, चितवन, नवलपरासी-गैडाकोट, रोल्पा, बागलुङ, जुम्ला, लगायत जिल्लाका ताजा कृषि उपजहरुको परिकार तयार गरिएको थियो ।
प्रतिक्रिया