डा. केसीका सात बुँदे माग सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीका सात बुँदे माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन् । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा डा. केसीसँगको भेटमा प्रधानमन्त्रीले सात बुँदे माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएका हुन् ।

भेटमा शिक्षा र स्वास्थ्य, बिपी प्रतिष्ठान, चोलेन्द्र प्रकरण र निर्मला कुर्मी न्यायको लागि आन्दोलनरत अधिकारकर्मीको मागका विषयमा छलफल भएको केसीका प्रेस संयोजक प्रितम सुवेदीले जानकारी दिए । बिपी प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्न भएको प्राविधिक जटिलतालाई एक दुई दिनमै सल्ट्याउन निर्देशन दिने, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर प्रकरणलाई सम्बोधन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई सहयोग गर्ने र महा अभियोगका लागि सत्ता गठबन्धनमा छलफल गर्ने लगायतका विषयमा प्रधानमन्त्री देउवाले प्रतिबद्धता जनाउनुभएको सुवेदीले बताए ।

त्यस्तै निर्मला कुर्मी हत्या प्रकरणको अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान ब्युरोलाई जिम्मा दिने, आन्दोलनकारीसँग संवाद गरी सहमति गर्न तथा घर फर्किने वातावरण बनाउन गृह मन्त्रीलाई निर्देशन दिने समेत प्रतिबद्धता जनाएको जारी विज्ञप्तिमा उल्लेख छ । भेटमा कांग्रेस महामन्त्री गगन थापा, अधिवक्ता ओमप्रकाश अर्याल, अधिकारकर्मी मोहना अन्सारी सहभागी थिए ।

 

 

 

 

प्रतिक्रिया