म्यान्मारमा ७ दशमलव ७ को शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

काठमाडौं । म्यान्मारको मध्यभागमा आएको म्याग्निट्यूड ७ दशमल ७ को भूकम्पका कारण म्यान्मार र सीमावर्ती थाईल्यान्डका ब्याङ्ककसहित विभिन्न क्षेत्रमा क्षति पुगेको छ।

अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु सगाइङ सहरबाट १६ किमि टाढा छ। उक्त भूकम्प जमिनभन्दा १० किमि तल उत्पन्न भएको यूएसजीएसले जनाएको छ।

भूकम्पका कारण म्यान्मारको राजधानी नेपिएडोमा केही क्षति पुगेको विवरण छ। थाईल्यान्डबाहेक दक्षिणपश्चिम चीनमा पनि धक्का महसुस गरिएको थियो।

ब्याङ्ककमा भवनहरूमा क्षति पुगेको छ भने म्यान्मारको राजधानीमा सडकहरू भत्किएका छन्। ब्याङ्ककमा भुइँचालो थेग्न सक्ने गरी भवन निर्माण नगरिएका हुनाले ठूलो क्षति पुगेको हुन सक्ने ठानिएको छ। थाई सरकारले आपत्कालीन बैठक बोलाएको छ।

ब्याङ्ककमा कार्यरत बीबीसी संवाददाता थु बुईका अनुसार पहिलो भूकम्प जाँदा उनी घरमा खाना पकाउँदै थिइन्। 'म निकै आत्तिएँ,' उनले भनिन्, 'मलाई के भएको भन्ने थाहा भएन किनभने एक दशकदेखि ब्याङ्ककमा यस्तो भूकम्प गएको थिएन।'
 
BBCC'मेरो अपार्ट्मन्टमा मैले भित्तामा चिरा परेको र पौडीपोखरीबाट पानी छचल्किएको देखेँ। मानिसहरू चिच्याउँदै छन्।' एउटा परकम्पपछि उनी अरू मानिसहरूसहित बाहिर सडकमा निस्किन्। ब्याङ्ककमा कार्यरत बीबीसीका अन्य कर्मचारीहरूले भूकम्पका कारण आफू भएको भवन निकै हल्लिएको बताएका छन्।

ब्याङ्ककमा मानिसहरू आवासीय भवन र कार्यालयबाट सडकमा गएको र एउटा गगनचुम्बी भवनको छतमा अवस्थित पौडीपोखरीको पानी छचल्किएर भुइँमा पोखिएको देखिएको छ।

भूकम्पका कारण ब्याङ्ककमा निर्माणाधीन एउटा अग्लो भवन भत्किएको छ। त्यहाँ उद्धारकर्ताहरूले खोजी गरिरहेका छन्। म्यान्मारमा सैन्य शासकहरूले पहिलादेखि नै सञ्चारमाध्यम र इन्टर्नेटमा नियन्त्रण गरेका हुनाले त्यहाँबाट सूचना आउन सकेको छैन।

एउटा भिडिओमा म्यान्डलेस्थित विमानस्थलको धावनमार्गमा मानिसहरू भूकम्प जाँदा चिच्याएको र निहुरेर बसेको देखिएको छ। 'तल बस, नभाग' उक्त भिडिओमा एक जनाले भनेको सुनिन्छ। यद्यपि बीबीसीले उक्त भिडिओको आधिकारितका पुष्टि गरेको छैन। 
 
थाईल्यान्डमा भन्दा म्यान्मारमा बढी भूकम्प जान्छ। सन् १९३० देखि १९५६ सम्म सगाइङ फल्टुको छेउछाउमा छवटा ठूला भूकम्पहरू गइसकेका छन्।

उक्त फल्ट म्यान्मारको मध्यभागमा रहेको समाचारसंस्था एएफपीले यूएसजीएसलाई उद्धृत गर्दै जनाएको छ। थाईल्यान्ड भूकम्पीय क्षेत्रमा पर्दैन। त्यहाँ महसुस गरिने अधिकांश भूकम्पको केन्द्रबिन्दु छिमेकी देश म्यान्मारमा हुन्छ। (यो समाचार हामीले वीवीसी नेपाली सेवाबाट साभार गरेका हौं)

प्रतिक्रिया