काठमाडौं । राजतन्त्र पुनस्र्थापनाको माग गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा तीनकुनेमा भएको प्रदर्शन केही नीजि सम्पत्तिमाथि तोडफोड र आगजनी भएको छ भने शहरको मध्यभाग भृकुटीमण्डपमा समाजवादी मोर्चाले संयोजन गरेको प्रदर्शन भने शान्तिपूर्ण रहेको देखिएको छ।
राजतन्त्रवादीको प्रदर्शनलाई संसदमा उल्लेखनिय उपस्थिति रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको सक्रिय समर्थन रहेको छ भने सक्रिय राजतन्त्रको पक्षमा रहेका पूर्व पञ्चहरु र विभिन्न व्यवसायिक पृष्ठभूमि भएका व्यक्तिहरुको समेत साथ रहेको देखिएको छ।
राप्रपाले भने आजको प्रदर्शन आफ्नो नभएपनि सैध्दान्तिक समर्थनमात्र रहेको बताए पनि राप्रपाका तर्फबाट प्रतिनिधि सभा सदस्य धवल शमशेर राणाले सहितका नेता कार्यकर्ता सक्रिय सहभागी रहेका छन्।
संघीय लोकतान्त्रिक गणतन्त्र र संघीयताको खारेजी गर्दै देशमा सक्रिय राजतन्त्र पुनस्र्थापना हुनुपर्ने उनीहरुको माग रहेको छ।
केहीसाता अघि पोखराबाट फर्किंदा त्रिभुवन विमानस्थल प्रवेशद्वारमा उल्लेख्य संख्यामा समर्थकहरु उपस्थित गराएर पूर्व राजा ज्ञानेन्द्र शाहले स्वागत अभिनन्दनको प्रदर्शन गराएका थिए। यही बीचमा पूर्व राजा शाह गोरखास्थित गोरखनाथ मन्दिर पुगेर पूजाअर्चना पनि गरेका थिए। उनले स्यांजास्थित कूल देवता र मनकामना मन्दिरमा पनि पूजा गरेका थिए।
त्यसपछि उत्साहित भएका राजावादीहरुले आज काठमाडौंमा विरोध प्रदर्शन आयोजना गरेका हुन्।
यता संसदको तेस्रो ठूलो दल माओवादी केन्द्रले संगठित गरेको समाजवादी मोर्चाले पनि आज राजधानी भृकुटीमण्डपमा सभा सुरु गरेको छ। मोर्चामा एमालेबाट अलग भएर एकिकृत समाजवादी दलको अध्यक्ष बनेका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल सहितका वामपन्थी दलहरु संलग्न छन्।
आजको सभामा बोल्दै माओवादी नेत्री पम्फा भुसालले गणतन्त्रवादीहरूले सौहार्दपूर्ण रूपमा ज्ञानेन्द्र शाहलाई उनले रोजेको स्थानमा जान दिएको स्मरण गराउँदै फेरि सक्रिय राजा बन्ने सपना नदेख्न चेतावनी दिईन्। उनले भनिन्, ूजसरी एउटा मान्छे मरेपछि फेरि बाँच्न सक्दैन त्यसैगरी निरङ्कुश राजतन्त्रको पुनर्स्थापना सम्भव छैन,ू उनले सभामा भनिन्।
उनले पूर्वराजालाई राजनीतिको रहर भए दल खोलेर चुनावमा आउन चुनौती दिइन्।
सभा जारी रहेकाले अरु विवरण आउन बाँकी नै छ।
प्रतिक्रिया