पूर्व राजालाई प्रचण्डको चेतावनी-'अर्को गल्ती गरेमा भोग्न बाँकी केही पनि रहने छैन'

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पूर्व राजालाई चेतावनी दिँदै भनेका छन, 'विगतमा धेरै गल्ती गरेको परिणाम उनले भोगिरहेको छन्, अब अर्को गल्ती गरेभने उनले भोग्न केही पनि बाँकी रहने छैन।' 

दाहालले भने, ‘म चुनौतीको साथ फेरि भन्न चाहन्छु । नेपाली जनता र नेपालको राजनीतिक दलहरुको उद्धारतालाई कमजोरी ठानेर इतिहासलाई पछाडी फर्काउने दुष्साहस नगरियोस, मैले ज्ञानेन्द्र शाहलाई मधेशमा अभियानमा अगाडि बढ्दै गर्दा भनेको थिएँ विगतमा उनले धेरै गल्ती गरे र त्यसको परिणाम उनले भोगि रहेका छन् । अब अर्को गल्ती गरे भने उनले भोग्न केही पनि बाँकी रहनेछैन।’

दाहालले काठमाडौंको तीनकुनेमा अराजकता देखाएर राजावादीहरुको आफ्नो चरित्र देखाईछाडेको बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले १२ वर्ष ढुंग्रामा हालेपनि कुकुरको पुच्छर बांगै भनेको जस्तै राजावादीहरुले तीनकुनेमा अहिले मण्डले अराजकता देखाएको बताए । 

उनले भने, ‘मैले आज यहाँ बोल्दैगर्दा सुरक्षा निकायसँग लगातार बुझिराखेको छु । १२ वर्ष ढुंग्रामा हालेपनि कुकुरको पुच्छर बांगै भनेकोजस्तो त्यहाँको सभा मण्डले अराजकताको पराकाष्टा भएको छ । तीनकुने अहिले मण्डले अराजकताको प्रदर्शनस्थल बनेको छ । सबै प्रतिगामी निरङ्कुश्तावादीहरुको एउटा प्रतीक जस्तो बनेको छ । त्यहाँ घरमा आगो लगाएका छन्, पुलिसमाथि ढुंगा प्रहार गरेका छन्, मण्डलेहरुले । उनीहरुले केही मान्छे मरुन् र देशैभरी आतंक मच्चियोस् भन्ने चाहेका छन्, त्यो राजावादीहरुको चरित्र हो ।’

उनले राजावादीहरु वातावरणलाई धमिल्याउन, उत्तेजित र आतंकित पार्ने मनसायले आएको पनि बताए, उनले भने, ‘एकातिर गणतन्त्रवादीहरुको विरोध सभा अर्कोतिर राजावादीहरुको प्रतिगामी सभा एकै दिन पारियो, आजको दिन सबैभन्दा पहिला गणतन्त्रवादी मोर्चाको हैसियतले हाम्रो मोर्चाबाट चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने र सभा गर्ने घोषणा गरिएको थियो । हामीले घोषणा गरेपछि राजावादीहरुले पनि आजकै दिन प्रदर्शन र सभा राख्ने घोषणा गरे । त्यसबाट उनीहरु कहीं न कहीं वातावरणलाई धमिल्याउन चाहने, उत्तेजित र आतंकित पार्ने मनसाय देखिएकै थियो ।’
 

प्रतिक्रिया