देशभरका सबै सिस्टमहरुलाई डिजिटलाइज गर्नुपर्ने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सबै काम डिजिटल गर्नको लागि देशभरका सबै सिस्टमहरुलाई डिजिटलाइज गर्नुपर्ने बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित एपीटी वायरलेस समूहको ३४ औं बैठकमा उनले सरकार अहिले एआइको नीति र देशको प्रमुख शहरहरुमा फाइभजी सेवा दिने योजनामा रहेको भन्दै देशमा प्राविधिक विकास गर्नको लागि सिस्टमहरुलाई डिजिटलाइज गर्दै जानुपर्ने बताए ।उनले भने, ‘हामी अहिले एआईको नीतिमा काम गर्दैछौ र देशका प्रमुख शहरहरुमा फाइभजी सेवा दिने योजनामा पनि छौ । कागजबिना सबै काम डिजिटल रुपमा गर्ने जुन लक्ष्य राखेका छौ त्यसको लागि देशभर भएका सबै सिस्टमहरुलाई डिजिटलाइज गर्नुपर्छ ।’ यसका साथै, उनले फाइभजी र एआइको लक्ष्य पूरा गर्नको लागि वायरलेस प्रविधि डिजिटल परिवर्तनको लागि एकदमै महत्वपूर्ण हुने भन्दै यसको लागि र नेपाललाई आइटी हब बनाउन सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए । 

वायरलेस प्रविधि आर्थिक विकास, नवीकरण र संयोजनको लागि महत्वपूर्ण विषय भएको भन्दै भौगोलिक हिसाबले नेपाल जस्तो हिमाली देशहरुको लागि यो प्रविधि एकदमै सुहाउँदो हुनेपनि उनको भनाइ छ । उनले भने, ‘तीव्र रुपमा प्राविधिक विकास गर्नको लागि वायरलेस प्रविधि र नीतिगतको ढाँचा आवश्यक हुन्छ । वायरलेस सञ्चार आर्थिक विकास, नवीकरण र संयोजनको लागि एउटा महत्वपूर्ण विषय हो । नेपाल प्राकृतीले धनी र सांस्कृतिक विविधता भएको देश हो । भौगोलिक हिसाबले नेपालमा हिमाल र उर्बर जमिनहरु छन् यस हिसाबले पनि वायरलेस प्रविधि नेपाल जस्तो हिमाली देशहरुको लागि एकदमै सुहाउँदो हुन्छ ।’ 


 

प्रतिक्रिया