गणतन्त्र ल्याउने सहमतिको रहस्य यस्तो रहेछ

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्रको सहमतिमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल पछिमात्रै जोडिन आएको बताएका छन्। उनले  तीन जनाले गरेको सहमति सुरूमा आफू, गिरिजाप्रसाद र तत्कालीन राजा ज्ञानेन्द्रले गरेको खुलासा गरेका हुन्।

पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) वागमती प्रदेशको प्रशिक्षण कार्यक्रममा आइतबार पार्टी कार्यालय आलोकनगरमा नेपालले गणतन्त्रमा जाने सहमति सुरूमा आफू, गिरिजाप्रसाद र तत्कालीन राजा ज्ञानेन्द्रले गरेको सम्झिए।

नेपालले भने, यी जम्मै गर्ने हामी तीन जना हो। एउटा गिरिजाप्रसाद कोइराला, अर्को म र त्यसपछि ज्ञानेन्द्र। पछिमात्रै हुन् प्रचण्डजी आएका हुन्। गणतन्त्र ल्याउने सहमतिपछि मात्रै माओवादी 'जनयुद्ध' छाडेर आएको र गणतन्त्र ल्याउने निर्णय साउनमा गरिएपछि माओवादी मंसिरमा आएको बताए।
 
'मंसिर महिनामा हामीले सहमति गरिसकेपछि मात्रै आएको हो। हाम्रो पार्टीले गणतन्त्र ल्याउने निर्णय गरेको साउन महिनामा हो। बसेर सहमति गरेको २०६३ सालको वैशाखको ११ गते हो। ११ गते बस्दा म र गिरिजाबाबु थियौँ। हामीले सबै सहमति गरेर कागज तयार गरेका हौं। सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको हो,' उनले भने। 

अध्यक्ष नेपालले पूर्वराजाको फर्किने इच्छा नरहेको कुरा उनकै सचिवबाट सुनेको पनि खुलासा गरे। 'अहिले राजा फर्काउने कुरा छैन, उहाँको इच्छा पनि होइन। बाहिरको हल्ला मात्रै हो भनेपनि अलिकति मन शान्त भएको छ। अरुले पनि फाइदा उठाउन खोजेका रहेछन्। यदी त्यो हो भने म पूर्वराजा ज्ञानेन्द्रलाई धन्यवाद दिन चाहन्छु। राजनीति गर्नु छ भने पार्टी खोल्नुस्। राजनीतिक मैदानमा आउनुस्,' उनले भने।  

प्रतिक्रिया