काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले हरेक ठाउँमा विचौलियाहरुको विगविगी बढेको बताएका छन् ।
आइतवार डा.सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ नामक पुस्तक बिमोचन कार्यक्रममा बोल्दै उनले देशको राजनीति परिस्थिति एकदमै नाजुक भएको भन्दै हरेक ठाउँमा विचौलियाहरुको विगविगी बढेको बताएका हुन् ।
‘अहिलेको देशको राजनीतिक परिस्थिती एकदमै नाजूक छ । दिनदिनै खराब हुँदै गइरहेको छ । विचौलियाहरुको विगविगी भएको छ । हरेक ठाउँ वा हरेक तप्काका विचौलियाहरु विगविगी छ । तर यो सरकार निर्माण गर्दा जुन कल्पना गरिएको थियो त्यो हामीले अगाडि बढाउनै सकेनौं । काम नै भएको छैन् ।’
उनले देशको अर्थतन्त्रसँग खेल्ने अधिकार कसैलाई नभएको बताए । उनले राजनीतिक नेतृत्वमा इच्छाशक्ति भए देश बन्ने बताए ।
‘देशको अर्थतन्त्रसँग खेल्ने, मजाक गर्ने अधिकार कसैलाई छैन । उहाँहरु(सरकार)ले सुशासन दिन्छौ, देशमा भ्रष्ट्राचार न्यूनिकरण गर्छौ भन्नुभयो तर सुशासन कस्तो अवस्थामा छ मैले भनिरहन पर्दैन,’ उनले भने । उनले पुस्तक ‘कात्रोमा खल्ती’को प्रसंग झिक्दै हाल नेपालमा कात्रोमा खल्ती नै हुन्छ कि जस्तो गरी मानिसहरुले प्रबृत्ति देखाउन थालेको पनि बताए ।
कोइरालाले केही स्थानमा राजनेता बीपी कोइरालाको शालिकमा मोसो दल्ने काम भएकोप्रति चिन्ता व्यक्त गरे । उनले भने,‘पश्चिमतिर वीपीको शालिकमा मोसो दल्ने काम भएछ । त्यो राम्रो संस्कार होइन । मोसो दल्दैमा बीपी कालो हुने पनि हैन । वीपीबाट धेरै कुरा सिक्न जरुरी छ ।’
कार्यक्रममा पुस्तकका लेखक सुमन कर्मचार्यले राजनीति भनेको दर्शन हो तर राजनीति दर्शन अनुसार नचलेकाले आफूले कलम चलाएको बताए । उनले राजनीतिक खराबीका विरुद्ध कलम चलाइरहने प्रतिवद्धता पनि जनाए ।
प्रतिक्रिया