शैलुङको जङ्गलमा रङ्गीचङ्गी गुराँस

रामेछाप । ‘धर्तीको स्वर्ग’ भनेर चिनिने शैलुङ अहिले बेहुली जस्तै बनेको छ । 

Photo2

शैलुङको जङ्गलमा फुलेका विभिन्न जातका गुराँसको कारण शैलुङ रङ्गीचङ्गी बनेको छ । नेपालमा पाइने ३१ प्रजातिका गुराँस मध्ये २१ भन्दा बढी जातका गुराँस शैलुङको जङ्गलमा पाइने स्थानीय दावासङ्बु शेर्पा बताउँछन् । शैलुङमा लालीगुराँस, चिमल लगायतका विभिन्न जातका गुराँस फुल्ने गर्दछन् । यहाँको जङ्गलमा चैत लागेपछि फुल्ने विभिन्न जातका गुराँस र चिमलले बैशाख महिनाभरि शैलुङको जङ्गललाई ढकमक्क बनाउँछ । 

Photo4

यो सिजनमा शैलुङ घुम्न आउने पर्यटकको लागि गुराँसको फूल मुख्य आकर्षण हो । गुराँसका विभिन्न जातका फूलका साथै प्राकृतिक दृश्यावलोकन गर्न चाहनेको लागि शैलुङ भ्रमणको यो सिजन अति उपयुक्त सिजन हो । दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङ जान अहिले रामेछाप र दोलखा दुवै तर्फबाट सडक छ । दोलखाको ढुङ्गे, देउराली हुँदै शैलुङ पुग्न सकिन्छ भने रामेछापको दोरम्बा हुँदै खोलाखर्क निस्किएर पनि शैलुङ पुग्न सकिन्छ । 

Photo6

काठमाडौंबाट रामेछापको बाटो प्रयोग गरी शैलुङ जान चाहनेले दुईवटा बाटो प्रयोग गर्न सक्छन् । एउटा काभ्रेको चौँरी हुँदै रामेछापको लखनपुर निस्किएर शैलुङ जान सकिन्छ भने अर्को बीपी मार्गबाट सित्खाको पुल तरेर खाँडादेवी गाउँपालिकाको गोगनपानी निस्किएपछि त्यहाँबाट गाल्पा, दोरम्बा हुँदै शैलुङ पुग्न सकिन्छ । रामेछापको सदरमुकाम मन्थलीबाट पनि गोगनपानी, गाल्पा, दोरम्बा हुँदै शैलुङ जान सकिन्छ । त्यस्तै मन्थलीबाट फुलासी, डडुवा कुखुरे आहाल हुँदै दोरम्बा निस्किएर पनि शैलुङ पुग्न सकिन्छ । 

Photo5

धार्मिक हिसाबले शैलुङ हिन्दु र बौद्ध धर्मावलम्बीको संगमस्थल हो । हिन्दुहरू यस क्षेत्रलाई शिवको तपोभूमिको रूपमा लिन्छन् भने बौद्धधर्मावलम्बी बुद्धले पाइला टेकेको ठाउँको रूपमा लिने गर्छन् ।  किंवदन्ती अनुसार सङ्गेमारमति बुद्धले  शैलुङमा आइ तपस्या गरेर ज्ञान प्राप्त गरेका थिए । स्थानीय तामाङ भाषामा थुम्कालाई लुङ भनिने भएकोले सो क्षेत्रमा सयवटा थुम्का रहेकाले शयलुङ हुँदै शैलुङ नाम रहन गएको भन्ने भनाइ छ ।    

Photo1

सामुद्रिक सतहबाट ३२ भन्दा माथिको उचाइमा रहेको शैलुङ प्राकृतिक रूपमा बनेका सयौँ थुम्काले सिँगारिएको छ । यहाँबाट देखिने हिमश्रृखलाको दृश्य निक्कै मनमोहक छ । सडक सञ्जालमा जोडिएपछि अहिले शैलुङ घुम्न आउने पर्यटकको सङ्ख्या पनि बढेको छ । रामेछापको खोलाखार्क, दोलखाको कालापानी लगायतको क्षेत्रमा पर्यटकलाई बस्नको लागि सुविधा सम्पन्न होटेलहरू पनि बनेकाले शैलुङको यात्रा सहज बनेको छ ।
 

प्रतिक्रिया