काठमाडौं। गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनापछि फरार मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई केहीबेर अघि काठमाडौं ल्याईएको छ । उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा राखिएको छ।
बिहीबार भारतको गुवाहाटीबाट नियन्त्रणमा लिईएका प्रसाईंलाई आज पूर्वी नाका काँकडभिट्टामा नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई केहीबेर अघि भद्रपुर विमानस्थलबाट काठमाडौं ल्याइएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा बिहान केहीबेर राखेर उनलाई भद्रपुर विमानस्थल लगिगएको थियो । जिल्ला प्रहरी कार्यालयबाट विमानस्थलसम्म पुर्याउँदा उनलाई हतकडी लगाइएको थियो भने विमानमा चढाइसकेपछि भने उनको हतकडी खोलिएको थियो । काठमाडौं ओर्लिएपछि पुनः हतकडी लगाएर काठमाडौं प्रहरी परिसर पुर्याइएको थियो ।
प्रहरी नियन्त्रणमा विमान चढ्ने क्रममा प्रसाईंले तश्कर विरुध्दको संघर्ष कायमै रहेको र आफूले स्वयं गिरफ्तारी दिएको भद्रपुर विमानस्थलमा उपस्थित संचारकर्मीलाई प्रतिक्रिया दिएका थिए । प्रहरीले भने प्रसाईंलाई थप प्रतिक्रिया दिन रोक्दै धकेलेर सुरक्षाजाँच तर्फ लगेको थियो ।
काठमाडौंबाट फरार रहेका प्रसाईंलाई दुइसातापछि नेपाल फिर्ता ल्याउन नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेर सफल भएको सुरक्षा सूत्रले बताएको छ । तर कानूनी वाध्यताका कारण नेपालमै गिरफ्तार गरिएको भनेर प्रहरीले औपचारिक जानकारी दिएको थियो। (तस्बिर: रासस)
प्रतिक्रिया