प्रधानमन्त्रीको डायरी: किन अढाई घण्टा ढिलो पुग्छन्, कसरी बित्यो एक साता?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समयमै कार्यक्रममा उपस्थित भएर निर्धारित समयमै दिवाभोज या रात्रीभोज गर्न पाईन्छ भनेर आयोजकहरुले विश्वास गर्न छाडिदिएका छन् । किनभने अरु सहभागीलाई दुइअढाई घण्टा कष्टकर प्रतिक्षा नगराईकन प्रधानमन्त्री ओली प्रमुख अतिथिको आसन र लम्बेतान भाषण गर्न हतपती कार्यक्रम स्थलमा पुग्दैनन्।

हालैका दुइवटा ठूला कार्यक्रममा ओली अढाई अढाई घण्टा ढिलो झुुल्किए र अनुपत्पादक प्रतिक्षाले चिढिएका सहभागीलाई लामो भाषण पिलाएर थप पीडा दिन चुकेनन्।

चैत २७ मा नेपाल चेम्बर अफ कमर्शको ७४औं साधारण सभाका प्रमुख अतिथि थिए ओली। उनी निर्धारित समयभन्दा अढाई घण्टा ढिलो सोल्टी होटल पुगे। उनकै विलम्बका कारण सहभागीहरुले कार्यक्रम सुरु नै नभई हाइ टी खानुपरेको थियो। त्यसको भोलिपल्ट याक एण्ड यति होटलमा नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा थियो। त्यसदिन पनि ओलीले अढाई घण्टा नै विलम्ब गरिदिँदा देशभरबाट सहभागी भएका उद्योगी व्यवसायी खिन्न बनेका थिए। 

यसअघिका कैयौं कार्यक्रमहरुमा प्रधानमन्त्री ओलीले ढिलो उपस्थित हुने कीर्तिमानहरु बनाइसकेको जानकारहरु बताउँछन्। आखिर किन यसो गरिरहन्छन् त प्रधानमन्त्री ओली? यसको जवाफ उनको सचिवालय औपचारिक रुपमा दिन अन्कनाउँछ। 

गएको साता यी बाहेक अरु कतिपय कार्यक्रम ओलीको सहभागिता त्यति सन्तोषजनक छैन। सडकमा शिक्षक नारा लगाईरहेका छन्, विपक्षी दलहरु पनि सडकमै देखिन्छन्। किसान र पीडित वर्ग पनि विरोध प्रदर्शनमै छन्। यस्ता आन्दोलन नेपाली कांग्रेस र एमाले समर्थित ओली सरकारको टाउको दुखाइ बनेको छ। 

पछिल्लो साता देशभित्रको राजनीतिक अस्थिरता र सडक आन्दोलनको सम्बोधन वा  जनताका मुद्दाभन्दा पनि ओली बिदेशी मंच र औपचारिक कार्यक्रममा बढी रमाएका छन्।

चैत १७ देखि २९ गतेसम्मको छोटो अवधिमा प्रधानमन्त्री ओलीले विदेशी भ्रमण, संसदमा सम्बोधन, पार्टी अधिवेशन, व्यवसायीहरुका कार्यक्रमदेखि मधेस प्रदेशको सभा सम्बोधनमा व्यस्त देखिए। यो दौडधुपले उनलाई सडक आन्दोलनका क्रममा उठिरहेका मागहरुका सम्बन्धमा सम्बोधन गर्ने फुर्सद नै पाएका छैनन्। 

उनले यो हप्ता चैतको १७ गते आफ्नो थाइल्याण्ड भ्रमण र बिमस्टेकको शिखर सम्मेलनमा सहभागिताबारे पूर्वप्रधानमन्त्री र पूर्व पराराष्ट्रमन्त्रीसँग परामर्श गरे।

यसैगरी चैत १८ गते प्रधानमन्त्री ओली  कुलमान बर्खास्तप्रतिको विरोधविरुद्द संसदमा जवाफ दिन उपस्थित भ। जहाँ उनले ठाडो  शैलीमै मन्त्रीसँग सहकार्य नगर्ने कर्मचारी हट्छन् भन्दै प्रश्नहरुको  जवाफ फर्काए।  

साथै उनले प्रतिनिधिसभाको बैठकमा बोल्दै एकजना कर्मचारीको विषयमा प्रश्न उठ्दै आएकाले सदन अबरुद्ध गरी महत्वपूर्ण संसदीय कार्यमा बाधा पुग्न नहुने बताए।
 
उनले  भने,‘केही दिनयता संसद अबरुद्ध छ। सुशासन र त्यसमा कम्प्रमाइज भएका विषयमा प्रश्न उठ्नु स्वभाविक छ। सरकारका कामकारबाहीप्रति प्रश्न उठाउने वा समर्थन गर्ने स्थल नै यस सम्मानित सदन हो। तर अहिले विषय सामान्य छ, एकजना कर्मचारीको विषयमा प्रश्न उठेको छ । सदन अबरुद्ध छ, महत्वपूर्ण संसदीय कार्यमा बाधा पुगेको छ। मन्त्रीप्रति लोयल्टी नभएको कर्मचारीसँग मन्त्रीले सहकार्य गर्न सहज मानेन भने हट्छ, यो स्वाभाविक प्रक्रिया हो, देशका महत्त्वपूर्ण विषयमा छलफल गरेर निर्णय गरेर अघि बढ्नुपर्ने समयमा एउटा सामान्य कर्मचारीको विषयमा संसद् अल्झनु हुन्।’

यसैगरी चैत १९ गते ओली २१ जनाको टोलीसहित थाइल्याण्डतर्फ प्रस्थान गरे।  बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन उनी थाइल्याण्ड गए। भ्रमणमा प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा.युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल समेत रहेका थिए।

सोही दिन नै  ओलीलाई थाइल्यान्डमा उपप्रधानमन्त्रीबाट स्वागत गरियो। तर यति बेला देशभित्र शिक्षक आन्दोलनरत छन्, संसद बारम्बार अवरुद्ध भइरहेको भइरहेको थियो, तर प्रधानमन्त्रीको प्राथमिकता भने विदेशका सम्मेलन र भाषणहरूमा थियो।

यसैगरी चैत २० गते प्रधानमन्त्री ओलीलाई थाइल्याण्डमा गार्ड अफ अनर प्रदान गरियो।  थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई बुधबार बिहान गार्ड अफ अनर प्रदान गरिएको थियो। 

चैत २१ गते प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता भयो । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहेका  प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका प्रधानमन्त्री डा हरिनी अमरासुरियाबीच भेटवार्ता भएको थियो।

सोही दिन नै थाइल्याण्डको औपचारिक भ्रमणका कार्यक्रमहरु सकिएपछि प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलनमा भाग लिन थाइल्याण्ड आएका सदस्य मुलुकका राष्ट्रप्रमुख–सरकार प्रमुखसँगको साइडलाइन भेटवार्ता र अन्य भेटवार्तामा व्यस्त थिए। भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको थियो। 

साथै सोही दिन नै  प्रधानमन्त्री ओलीले थाइल्याण्डको एसियन इस्न्टिच्युट अफ टेक्नोलोजी (एआटी) मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास गर्नुपरेको बताए।  उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाक्षाको व्याख्या गर्दै मानवीय चाहना र सुखीभन्दा अर्काे ठुलो कुरा विश्वामा नहुने विचार व्यक्त गर्दै जलवायु परिवर्तनलगायतका मुद्दामा साझा प्रयासका लागि आव्हान गरे। 

यसैगरी  सोही दिन नै  प्रधानमन्त्री ओली र भूटानी प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता भयो। उनीहरुबीच गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभाका क्रममा न्युयोर्कमा भएको भेटको स्मरणका साथै सहकार्यका विविध पक्षमा छलफल भएको थियो।

यसैगरी चैत २२ गते  ओलीले बिम्स्टेकमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा सुनाए। उनले बिम्स्टेकले परिवर्तनशील समयलाई मात्र नभई हाम्रो क्षेत्रीय सहयोगलाई पुनःजीवित गर्ने अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘मलाई विश्वास छ शिखर सम्मेलनको विषयवस्तुले हामीलाई त्यो मापन प्रदान गर्दछ, जुन जनता, समृद्धि र कल्याणको पक्षमा छ।’

चैत २२ गते  नै  प्रधानमन्त्री  ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डमा भेटवार्ता भयो।  जहाँ उनीहरुबीच द्विपक्षीय हितकाबारे चर्चा भयो। 

नेपाल र भारतबीचको कूटनीतिक सम्बन्धमा चिसोपन आएको चर्चा भइरहेका बेला ओली र मोदीबीच भेटवार्ता भएको थियो। परराष्ट्र मन्त्रालयको कूटनीतिक प्रयासपछि बिमस्टेकको साइडलाइन वार्ताका रूपमा ओली र मोदीबीच भेट भएको थियो। 

चैत २३ गते प्रधानमन्त्री थाइल्यान्डको भ्रमण सकेर स्वदेश फर्किए। स्वदेश फर्किएसँगै  पत्रकार  सम्मेलन गर्दै ओलीले मोदीसँग भेटवार्ता सकारात्मक भए पनि  सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री मोदी नआउने बताए।

पत्रकार सम्मेलनमा ओलीले भने, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग मेरो भेटघाट अत्यन्त सुमधुर वातावरण र हार्दिकताका साथ भयो। यस पटक सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न। किनभने सगरमाथा संवादकै बेला युरोपको कार्यक्रम तय  भइसकेको रहेछ।  युरोपमा कार्यक्रमहरु तय भइसकेकाले बदल्न सक्ने अवस्था छैन। तर भारतबाट सगरमाथा संवादका लागि राम्रै प्रतिनिधित्व हुने जानकारी मोदीले गराउनुभएको छ।’

यसैगरी सोही दिन नै  ओलीले विभिन्न नेपाल र थाइल्याण्ड सरकारबीच भएका सम्झौताहरु समेत सार्वजनिक गरे। 

यसैगरी चैत २३ गते नै  थाइल्याण्डबाट भर्खरै मात्र स्वदेश फर्किएका ओलीलाई कार्यक्रममा जान हतारिए। उनी ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रममा सहभागि  हुन   पुगे । जहाँ उनले पूर्वजहरु हरेक कुरामा अगाडि भएकाले विकासका कुरा चाँडो सिक्न सक्छौं भनेर सम्बोधन गर्न भ्याए। 

यसैगरी चैत २५ गते ओलीले प्रधानमन्त्री ओलीले आन्दोलनमा रहेका शिक्षक समुदायका मागबारे मन्त्री र सचिवहरुसँग छलफल गर।

सोही दिन नै  ओली  हिमालयन संवाद कार्यक्रममा सहभागि भ। जहाँ उनले  नेपालको विकासलाई इतिहासदेखि नै पछाडि पारियो भन्दै कडा मन्तब्य दिएर फर्किए । 

चैत २६ गते प्रधानमन्त्री ओली मधेस प्रदेशसभालाई सम्बोधन गर्न  पुगे।  जहाँ उनले जनताको पहिलो अधिकार गरिबीबाट मुक्ति हुने भएकाले गरिबीका अगाडि अरु अधिकारको कुनै अर्थ नहुने स्पष्ट गर्दै विकास र समृद्धिको यात्रामा मिलेर अघि बढ्न आव्हान गरे। 

चैत २६ मै  ओली एमाले पार्टीको सिरहा जिल्लाको ११ औँ अधिवेशनलको उद्घाटन सत्रलाई सिरहा बजारमा सम्बोधन गर्न  पुगे। जहाँ उनले  जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन भन्दै कडा टिप्पणी र  आफ्नो  सरकारको  तारिफ गरे।

यसैगरी चैत २७ गते ओली नेपाल चेम्बर अफ कमर्शको ७४ औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्न  पुगे।  जहाँ उनले सरकारले सुशानमा कुनै सम्झौता नगर्ने बताए। 

यसैगरी चैत २८ गते ओली नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्घाटन समारोहमा सहभागि हुन पुगे । जहाँ उनले  निजी क्षेत्र र सरकारबीचको सहकार्यले अर्थतन्त्र अघि बढ्ने बताए।

यसैगरी चैत २९ गते ओली रुपन्देही जिल्ला कमिटीको जागरणसभालाई सम्बोधन गर्न  बुटवल पुगे। जहाँ उनले विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन भन्दै शिक्षकहरुलाई आस्वासन दिए। 

यसैगरी २९ गते  नै  प्रधानमन्त्री ओली नेपाली सैनिक प्रतिष्ठानको कार्यक्रममा सहभागि भए। जहाँ सेनाका अधिकृत क्याडेटलाई प्रधानमन्त्रीले खुकुरी प्रदान गरे।

देशभित्रका समस्या हटेका छैनन्, प्रधानमन्त्री भने विदेश र भाषणमै अल्झिएको देखिन्। प्रधानमन्त्रीको चैत १७ देखि २९ सम्मको गतिविधि हेर्दा लाग्छ, उनी जनताभन्दा बढी अन्तर्राष्ट्रिय एवम स्वदेशी मञ्चमा सम्बोधन गरेर विताएको देखिन्छ।

काठमाडौं केन्द्रीत देशभरका शिक्षक, सहकारी पीडित, मेडिकल कलेजका विद्यार्थीलगायतको सडक संघर्षलाई ओलीले आफ्नो प्राथमिकतामा राखेका छैनन। देशभित्रको असन्तोष, आन्दोलन र संसद अवरोधका कारण सर्वसाधारणमा परेको मर्काका विषयमा ओली मौनजस्तो देखिन्छन्। -आकांक्षा धामी/नेपाल न्यूज बैंक

 
 

प्रतिक्रिया