इलाम । नयाँ बर्ष सुरु भएपछि इलामका पर्यटकीय स्थलहरुमा विशेष चहलपहल देखिएको छ । सूर्योदय अवलोकनका लागि उत्कृष्ट गन्व्य मानिने अन्तु, अन्तुपोखरी, हराभरा चियावारी क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढेको हो ।
अल्पसंख्यक लेप्चा जातिको संस्कृतिका कारण चर्चामा रहेको श्रीअन्तु पुगेका विभिन्न १८ देशका राजदूत र कुटनीतिक निकायका प्रतिनिधिहरुको बाक्लो उपस्थितिका बीच कार्यक्रम आयोजना गरिएको थियो ।
परराष्ट्र मन्त्री आरजु देउवासहित अन्तु आएका राजदुतहरु आइतवार र सोमवार कन्याम र अन्तुका पर्यटकीय स्थलमा व्यस्त रहे । इलामका पर्यटकीय क्षेत्रहरुमा भएको राजदुतहरुको घुमघामले यहाँको पर्यटनले थप उचाई लिने विश्वास स्थानीयको छ ।
सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई विभिन्न देशका राजदूत र देशी, विदेशी पर्यटकको आगमनले यस क्षेत्रका पर्यटन विकासमा महत्वपूर्ण योगदान दिने बताउँछन् ।
इलामको रमणीय वातावरणमा घुमघाम गर्दा विदेशी पाहुना दंग देखिन्थे । उनीहरुले कन्याममा विभिन्न जातजातिका मौलिक परम्परागत पहिरन लगाएर भ्रमण गरेका थिए । घोडचढी समेत गरेका उनीहरु यस क्षेत्रको प्राकृतिक सुन्दरतामा लोभिएका थिए ।
पर्यटन मन्त्रालय तथा पर्यटन बोर्डले बार्षिक रुपमा बिभिन्न देशका राजदूतलाई नयाँ बर्षको अवसरमा नयाँ पर्यटकीय गन्तब्यमा भ्रमण गराउने कार्यक्रमअनुसार यसपटक सूर्योदय नगरपालिकाको अन्तु र कन्याममा कार्यक्रम राखिएको हो ।
परराष्ट्रमन्त्रीसहित राजदुत र उच्च पदस्थहरुको यो भ्रमणले यहाँको पर्यटनले थप प्रचार पाउने श्रीअन्तुका पर्यटन व्यवसायी रुद्र घिमिरेको भनाइ छ ।
कोशी प्रदेश सरकारले २०८२ लाई पर्यटन वर्ष घोषणा गरी विभिन्न कार्यक्रम गर्दै आएको छ । पर्यटकीय गन्तव्यहरुमा पूर्वाधार निर्माण गर्ने लगायतका काम गरेर पर्यटक आकर्षित गर्ने कार्यक्रमहरु आयोजना भइरहेका छन् ।
गुराँसको राजधानी मानिने तीनजुरे मिल्के क्षेत्रमा पर्यटन वर्षको उद्घाटन गरिएको थियो । त्यस अवसरमा नेपाल तथा भारतका पर्यटन व्यवसायीहरुको सहभागिता थियो ।
प्रदेशका पर्यटकीयस्थल, साहसिक खेल, पदमार्ग तथा हिमालको प्रचारप्रसार गरी आर्थिक रुपमा समृद्ध बनाउने उद्देश्यले पर्यटन वर्ष घोषणा गरिएको कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको भनाइ छ ।
पर्यटन वर्षका लागि प्रदेश सरकारले ८२ वटा गन्तव्य प्रस्ताव गरेको छ । विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये नेपालमा ८ वटा रहेकामा कोशी प्रदेशमा मात्रै ५ वटा छन् । पर्यटन वर्षमार्फत् यी हिमालमा धेरै पर्यटक भित्र्याउने लक्ष्य प्रदेश सरकारको छ ।
भारतबाट आउने पर्यटकलाई सहज रुपमा नेपाल भित्र्याउन एकीकृत जाँच प्रणाली अगाडि बढाएको छ भने पर्यटक स्टिकरको व्यवस्था मिलाइएको सरकारले जनाएको छ ।
पर्यटनमा आधारित पदमार्ग निर्माण गरी प्रदेशका धार्मिक स्थल, साहसिक खेल तथा हिमालको प्रचारप्रसार वर्षभरि नै गरी आर्थिक रुपमा समृद्ध बनाउने योजना रहेको कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डल बताउँछन् ।
प्रदेशका मुख्य पर्यटकीय स्थल रहेका पालिकाहरुले पर्यटन प्रवर्द्धन र विकासका काम अघि बढाएका छन् । बढीभन्दा बढी पर्यटक भित्र्याएर रोजगारी र आर्थिक क्रियाकलाप अगाडि बढाउने लक्ष्य रहेको कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे बताउँछन् ।
व्यवसायीहरुले पनि पर्यटकीय क्षेत्रको बजारीकरण र ब्रान्डिङ गर्दै थप नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरे पर्यटन वर्ष
फलदायी हुनेमा विश्वास जनाएका छन् ।
प्रदेशमा ४ वटा पाँच तारे होटल सञ्चालनमा छन् भने थप ४ वटा सञ्चालनको तयारीमा छन् । यस्तै, १ सय ४ वटा होमस्टे ९घरबास० दर्ता भई सञ्चालनमा छन् । विराटनगरका होटल व्यवसायी राजन श्रेष्ठ प्रदेशबासी र सरोकारवालाबीचको सहकार्यले पर्यटन वर्ष सफल हुने विश्वास व्यक्त गर्छन् ।
प्रतिक्रिया