काठमाडौं । विभिन्न माग राख्दै आन्दोलनरत् नेपाल शिक्षक महासंघले देशभरका सबै विद्यालय बन्द गरी काठमाडोंमा केन्द्रित हुन शिक्षक एवं कर्मचारीलाई आग्रह गरेको छ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग पूरा गराउन शिक्षकहरु चैत २० गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा छन् ।
आन्दोलनको अगुवाइ गर्दै आएको महासंघले विज्ञप्ति जारी गर्दै देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द गरी काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन प्रधानाध्यापक, शिक्षक–कर्मचारीहरुलाई आग्रह गरेको छ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने शिक्षकहरूको माग छ ।
आन्दोलनकै क्रममा महासंघले चैत २५ गतेदेखि आम शैक्षिक हडतालको घोषणा गरिसकेको छ । महासंघका अध्यक्ष सुवेदीका अनुसार अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यबाट आन्दोलनलाई निरन्तता दिइएको हो ।
आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्दै संस्थागत विद्यालय समेत बन्द गरिदिइ आन्दोलनलाई सघाउन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ९एनप्याब्सन० लाई पनि महासंघले आग्रह गरेको छ ।
आन्दोलनको अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन प्रधानाध्यापकहरु तथा शिक्षक–कर्मचारीमा महासंघले आग्रह गरेको छ ।
२०८२ बैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा समेत केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीमा महासंघले अपील गरेको छ ।
शीघ्रातिशीघ्र शिक्षा ऐन जारी गराई विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको आन्दोलनलाई सहयोग तथा समर्थन गर्न विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, पालिकाहरु तथा सबै शैक्षिक सरोकार पक्ष समक्ष महासंघले अनुरोध गरेको छ ।
प्रतिक्रिया