काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा एमालेसँग मिलेर चलिरहेको आफ्नै सरकारसँग असन्तुष्ट भएका छन्। उनलाई लागेको छ, एमालेसँग आफ्नो पार्टी नेपाली कांग्रेसले सहकार्य गरिरहँदा जनताले अपेक्षा गरेका काम पूरा गर्न सकिएको छैन।
आज यहाँ बौद्धिक पेसाकर्मी अभियान परिषद्को नयाँ वर्षको शुभकामना भेटघाटमा महामन्त्री थापाले दुई ठूला पार्टी मिलेर सरकार बनाइसकेपछि संविधानमा केही कुराहरु बदलाव ल्याउने कुरा तुरुन्त प्रारम्भ हुन्छ भन्ने आशा भएपनि त्यो पूरा हुन नसकेको स्वीकारे। उनको भनाईमा, ‘कांग्रेसले भरोसा दिन सकेको छैन। एमालेसँग मिलेर सरकारमा गयौं, एमालेसँग मिलेर सरकार गएपछि के ठानेका थियौं भने दुई ठूला पार्टी मिलेर सरकार बनाइसकेपछि संविधानका पनि केही कुराहरुमा बदलाव ल्याउने कुरा तुरुन्त काम प्रारम्भ गर्छौं। खासगरी गभर्नेन्समा व्यापक सुधार गर्छौं भन्ने थियो, त्यो पनि ढिला भएको छ।’
२०६० देखि ७० सालसम्मको दश वर्ष माओवादी हिंसाले सिर्जना गरेको असहज परिणामहरुको व्यवस्थापन गर्दै दश वर्ष वितेको चर्चा गर्दै थापाले अब मुख्य रुपमा काम गर्ने बेलामा आइसकेपछि पनि धेरै ठूलो अलमल भइरहेको छ।
महामन्त्री थापा भन्छन्,‘यो २०६० देखि ७० सालसम्मको दश वर्ष माओवादी हिंसाले सृजना गरेका जतिपनि परिणामहरु रहे त्यसको व्यवस्थापन गर्दै दश वर्ष वित्यो। अब दौडने बेला भयो। संविधान पनि बन्यो सिस्टम पनि बन्यो। त्यहाँभित्र पनि समस्या त छन् त्यसलाई सम्बोधन गर्ने सच्याउने कुरा त छँदै छ। अब मुख्य रुपमा काम गर्ने बेलामा आइसकेपछि चाँही धेरै ठूलो अलमलको अवस्था सृजना भइरहेको छ।’
त्यस्तै उनले एमालेभित्रको फोहोर सफा गर्न सहकार्य गरेको भन्दै त्यही मिसिन भने नगएको दाबी गरे। उनले भने,‘यत्ति कुरामा विश्वास गर्नुस् फोहोर सफा गर्न पोखरीमा छिरेका छौं। त्यसैले बाहिरबाट हेर्दा फोहोरै देखिन्छ। तर, हामी मिसिन गएको होइन। सफा गर्न गएको हो। हामी मिसिदैनौं। त्यसकै अंग बन्न गएकै होइन।’
देशमा कंकडको गतिमा काम गर्नुपर्ने बेलामा सरकार ट्याक्टरको गतिमा हिँडिरहेको भन्दै थापाले सरकारले अपेक्षित गति पकड्न नसकेको टिप्पणी गरे।
प्रतिक्रिया