समाचार टिप्पणी

कोइरालाको अर्थपूर्ण शुभकामना सन्देश र आसन्न केन्द्रीय समिति

काठमाडौं । नेपाली कांग्रेसले दुइसातापछि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। १७ वैशाखमा बस्ने कार्यसमिति नियमित भन्दा विशेष हुने अपेक्षा गरिएको छ। देशमा विद्यमान एक होइन अनेक जल्दाबल्दा मुद्दाको चाङमाथि बसेर ठूला दल अनिर्णयको बन्दी भएको आक्षेप लागिरहेका बेला बस्ने कांग्रेस कार्यसमितिबाट ठोस निर्णयहरु आउने आशा गरिएको छ।

७ फागुनको प्रजातन्त्र दिवसमा आएको पूर्व राजाको सन्देश, अन्तर्राष्ट्रिय विमानस्थलको मुख्यद्वारमा गरिएको अनौठो स्वागत, १५ चैतको पूर्व राजाकै पक्षमा दुर्गा प्रसाईं नेतृत्वको हिंसात्मक प्रदर्शन र त्यसले उत्पन्न गरेका राजनीतिक र गैरराजनीतिक तरंगहरु, राष्ट्रिय प्रजातन्त्र पार्टीको राजतन्त्र पुनस्र्थापनाको माग सहितका प्रदर्शनहरु, नेपाल शिक्षक महासंघको आन्दोलनले ठप्प जस्तै भएको राजधानी र अस्तव्यस्त जनजीवन तथा विविध माग राखेर नियमति माइतीघर मण्डला क्षेत्रमा धर्ना बसेका समूहहरुको दवाव जस्ता बिषय सम्वोधन गर्न सरकार सफल भैरहेको छैन। 

सत्य कुरा यो हो कि नेपाली कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकार चौतर्फि घेराबन्दीमा परेको देखिन्छ। संसदका प्रमुख ठूलादल मिलेर बनेको यस्तो सरकारको प्रयोग पहिलो पटक भएको छ भने यसका अघिल्तिर अनेक चुनौतिहरु खडा छन्। आकस्मिक रुपमा सरकारमा सहभागी भएका यी दललाई सफल हुननदिन चारैतिरबाट एम्बुस थाप्ने काम भएको छ भने त्यसलाई अन्यथा मान्नु पनि पर्दैन। 

पूर्व राजाको दृश्य अदृश्य सक्रियता, उनका समर्थनमा चलायमान समूहरु र अरु पेशागत क्षेत्रका मागहरु समन्वय गर्न सरकारलाई हम्मे परिरहेको देखिन्छ। त्यतिमात्र होइन घटनाक्रममले संसदमा प्रमुख प्रतिपक्षको स्थानमा पुगेको माओवादी केन्द्रको नेतृत्वले निकट भविष्यमा सरकार परिवर्तनको बहस चलाएर पनि सरकार तनावमा परेको देखिन्छ। यतिसम्म त ठीकै थियो सत्तारुढ दलकै पदाधिकारीहरुका चेतावनीपूर्ण अभिव्यक्तिले पनि नेपाली कांग्रेस र एमालेको नेतृत्वको निन्द्रा विथोलेको बुझ्न सकिन्छ।  

कोइरालाको शुभकामना कथन

यसैवीच नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नव वर्षको शुभकामनामा मिसाएर गम्भीर राजनीतिक सन्देश प्रवाह गरिदिएका छन्। जसले सत्तारुढ दलका मुखियाको रक्तचाप बढाएको देखिन्छ। 

कोइरालाले नयाँ वर्षलाई एउटा क्यालेण्डर हटाएर अर्को नयाँ क्यालेण्डर झुण्डाउने कार्यमा मात्र हामी सिमीत राख्न सक्दैनौं भनेर भविष्यमा कुनै नयाँ राजनीतिक परिस्थिति आउन पो लागेको हो कि भनेर सतर्क हुने किसिमको संकेत गरेका छन्।

जस्तो कि कोइराला भन्छन्– ‘हामी यतिखेर इतिहासको त्यो दोबाटोमा उभिएका छौँ जहाँवाट सामान्य त्रुटी हुँदा र गलत दिशा तर्फ जाँदा हाम्रो देश नेपाल ठूलो जोखिममा पर्छ। अन्तराष्ट्रिय मंचमा देखिएको “शितयुद्ध–२” ले एकपटक फेरी हामीलाई आजभन्दा झण्डै पाँच दशक अगाडि विपी कोइरालाले प्रतिपादन गर्नुभएको “राष्ट्रिय मेलमिलाप” को स्मरण गराएको छ। नेपाली जनता माझ कांग्रेस लोकतन्त्र र राष्ट्रियताको संरक्षक र संवर्धक हो भनी चिनिन्छ, तसर्थ वर्तमान समसामयिक राष्ट्रिय राजनीति, अन्तर्राष्ट्रिय राजनीति र राष्ट्रिय मुद्धाहरुमा कांग्रेसले आफ्‌नो गौरवशाली इतिहासलाई सम्झेर विवेकपूर्ण निर्णय लिएर अगाडि बढ्नुको विकल्प छैन।’

नेता कोइरालाले नेपाली कांग्रेस कुनै नयाँ निर्णय लिने तयारीमा रहेको अर्थ लाग्ने प्रसंग पनि चर्चा गरेका छन्। उनको भनाई छ–‘नेपाली राष्ट्रियता, धर्म संस्कृति र समृद्धिको लागि एकपटक फेरी नेपाली कांग्रेसमा पूनर्जागरणकाल जगाउनु पर्नेछ। यो तवमात्र सम्भव छ, जब कांग्रेसका साथीहरु जाग्नेछन। कांग्रेसका इमान्दार, निस्वार्थी र स्वाभिमानी साथीहरुको सक्रियता विना पार्टीमा इमान र नैतिकताको राजनीतिक भावधारा बगाउन संभव छैन। हामी सवै राजनीतिमा देखिएको विकृति विसंगतिको चर्चा गर्छौं। यसको उपचारको खोजी पार्टी भित्रवाट गर्नुपर्छ भन्ने मेरो मान्यता हो। पार्टीको अगुवाईमा “क्याम्पेन फर क्लिन पोलिटिक्स” को अभियान नचलाई बस्ने हो भने विपी कोइरालाले भन्नुभएझै कांग्रेस पार्टी “सुकिला मुकिला र पैसावालाको कव्जामा” जाने खतरा छ । र म त्यो देख्दैछु।’

उनले नयाँ वर्ष २०८२ को नारा पार्टीमा क्लिन पोलिटिक्स भनी अगाडि नसार्दा नागरिकको विश्वास र भरोसा जित्न गाह्रो भएको चर्चा गर्दै कुशासन, भ्रष्टाचार, दण्डहिनता र अनियमितता संस्थागत भएर चुँडिदै गएको नागरिक र पार्टीको सम्वन्धलाई जोडन पार्टी भित्र शुद्धिकरण अभियान चलाउनुको विकल्प छैन भनेका छन्। 

कोइराला ठान्छन्, नेपालको संविधानलाई दक्षिणपन्थी भासवाट जोगाएर समसामयिक सुधार गर्दै अगाडि बढाउन कांग्रेसको तर्फवाट साथीहरु अगाडि आउनुपर्छ। यो वर्ष विधानतः कांग्रेस महाधिवेशनको वर्ष हो। कुनै कारण देखाएर कांग्रेस महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाति हुनेछ। यसतर्फ कांग्रेसका साथीहरुलाई चनाखो र सतर्क रहन पनि म अपिल गर्दछु।

नेता कोइरालाले, एक पटक आफू र आफ्नो दल भन्दा “देश र जनता” माथि छन् भन्ने सोचले काम गरे मात्रै देशले निकास पाउने आफ्नो निष्कर्ष शुभकामना सन्देशमा प्रकट गरेका छन्।  
 

प्रतिक्रिया