गत पुस ९ गते सिरहाको नवराजपुर गाउँपालिका—३ जगतपुरस्थित फूलबरिया मुसहरी टोलकी आनन्दीदेवी सदायमाथि गाउँकै दुई युवकद्वारा यौन दुर्व्यवहार भयो । माइतीघरमा बस्दै आएकी आनन्दीदेवी दुई वर्षीय दुधेबच्चा च्यापेर बरियारपट्टि गाउँपालिका–१ नरगीमा बस्ने दिदी लक्ष्मीनियादेवी सदायलाई भेट्न हिँडेकी थिइन् । बाटोमै स्थानीय २२ वर्षीय सञ्जीव यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले बलात्कारको प्रयास गरेको उनको आरोप थियो ।
त्यहाँबाट जसोतसो उम्केर पुनः माइतमै फर्किन त सफल भइन् तर त्यस घटनाले बाँच्न भने दिएन । घटनाका दोषीमाथि कारबाहीको माग गरी किटानी जाहेरी दिए पनि चार महिनासम्म सदाय न्यायका लागि भौतारिइन् । मङ्गलबार माइतीघरमै झुन्डिएको अवस्थामा उनी मृत फेला परिन् ।
‘घटना घटेको दिन आफूमाथि जबर्जस्ती करणीको प्रयास भएको भन्दै रुँदै र कराउँदै घर आएकी थिइन्’, मृतककी भाउजू विनीतादेवी सदायले उक्त दिनको घटनाबारे भनिन्, ‘उनको कम्मरमुनि सुरुवालको भाग धुजाधुजा पारी च्यातिएको थियो । हातको पाखुरामा चोट लागेको थियो । जीउको विभिन्न भागमा दाँतले टोकेको स्पष्ट डोबहरू थिए ।’
आनन्दीदेवीलाई जबर्जस्ती करणीको प्रयास गर्ने दुई व्यक्तिले सुरुमा पैसा दिन्छौँ भन्दै ललाईफकाई प्रयाससमेत गरेको उनको भनाइ छ । ‘तीन हजार पैसा दिन्छौँ हामीसँग हिँड् भनेपछि नन्दले इन्कार गर्दै प्रतिकार गरेपछि श्यामले हातपात गर्दै घिसार्दै नजिकै रहेको परालको कुन्यूँमा लगे, अर्का पीडक सञ्जीवले मोबाइलबाट भिडियो खिचे । नन्दले यो कुरा मलाई सुनाउनुभएको थियो । उहाँ प्रतिकार गर्दै त्यहाँबाट उम्केर जसोतसो नन्द घर आइपुग्नुभयो, त्यतिबेला दिउँसोको करिब १ बजेको हुँदो हो’, भाउजू विनीतादेवीले भनिन् ।
प्रहरीद्वारा जाहेरी दर्ता गर्न आलटाल
घटना भएको दिन आनन्ददेवीका श्रीमान् उमेश सदाय ससुराली घरमै हुनुहुन्थ्यो । श्रीमतीमाथि घटना घटिसकेपछि सोही दिन अर्थात् पुस ९ गते श्रीमानसहित आनन्दीदेवीले महेशपुरस्थित पतारी प्रहरी चौकीमा आफूमाथि जबर्जस्ती करणीको प्रयास भएको भन्दै किटानी जाहेरी दिएकी थिइन् । तर प्रहरीले जाहेरी दर्ता गर्न आलटाल गरेको मृतक आनन्दीदेवीका श्रीमान् उमेशले बताए ।
उनले भने, ‘प्रहरीले सुरुमा जाहेरी दर्ता गर्ने र पीडकमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने आश्वासन दिएको थियो । यसको लामो समयसम्म प्रहरीबाट घटना सम्बन्धमा कुनै प्रतिक्रिया आएन । माघ ४ गते मात्रै प्रहरीले उक्त जाहेरी दर्ता भएको भन्दै एउटा कागजमा दर्ता नम्बरसहितको चिट दियो । फेरि त्यसको भोलिपल्ट पुनः कार्यालयमा बोलाएर उक्त दर्ता नम्बरको कागज हाम्रै सामुन्नेमा प्रहरीले च्यातिदियो ।’
यही क्रममा अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मानवअधिकारकर्मीहरूको समूहले मार्च ६ तारिखका दिन नवराजपुरमा एक सार्वजनिक कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा आफ्नो पीडा सुनाउन आनन्दीदेवी र उनकी आमा बिलटौनदेवी सदाय उपस्थित भए । महेशपुर पतारी प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक रबिन मैनालीसमेत उपस्थित उक्त कार्यक्रममा पीडित आनन्दीदेवीले प्रहरीले आफूमाथि भएको घटनाको जाहेरी दर्तासमेत नगरेको बताएको मानवअधिकारकर्मी मुक्ति नेपालका अध्यक्ष देवकुमारी महराले जानकारी दिइन् । त्यसपछि जिल्लास्थित मानवअधिकारकर्मीको संयुक्त टोलीले घटनासम्बन्धमा चासो राखी प्रहरीलाई दबाब दिएपछि मात्रै जाहेरी दर्ता भएको उनको भनाइ छ ।
महराले भनिन्, ‘घटनाबारे जानकारी पाउनासाथ हामीले तत्कालै प्रहरी निरीक्षक मैनालीलाई के कति कारणले जाहेरी दर्ता नभएको भनी प्रश्न गर्यौँ । उहाँले तत्कालीन जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख तथा प्रहरी उपरीक्षक रमेश पण्डितको ठाडो आदेशका कारण आफूले जाहेरी दर्ता नगरेको जवाफ दिनुभयो । त्यसपछि हामीले जिल्ला प्रहरीमा दबाब सिर्जना गरेका कारण भोलिपल्ट जाहेरी दर्ता त भयो तर कुनै पनि अनुसन्धान प्रक्रिया अघि बढेन, जुन खेदजनक र निन्दनीय छ ।’
घटना सार्वजनिक भइसकेको, पीडितले न्यायका लागि गुहारिसकेको अवस्था पनि प्रहरी प्रशासनले त्यसलाई गम्भीर रूपमा नदिएकाले ज्यान गुमाउन बाध्य हुनुपरेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपाल सिरहाका प्रतिनिधि दुर्गा परियार बताउँछन् । मानवअधिकारकर्मीको तीव्र दबाबका बीच पीडितलाई न्याय दिलाउन प्रहरीले उदासीनता देखाएको भए यस्तो अवस्था नआउने उनको बुझाइ छ । ‘पीडकहरू खुलेआम हिँड्डुल गर्दा पनि पक्राउ नपर्नुले र पीडितलाई न्यायको अनुभूति दिलाउन नसक्दा अप्रिय घटना घट्यो । यसको जवाफदेहिता अब कसले लिन्छ?’, परियारले प्रश्न गरे ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख तथा प्रहरी उपरीक्षक अनन्तराम शर्माले गत फागुन २५ गते उक्त घटना सम्बन्धमा जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको जानकारी दिए । किटानी जाहेरी दिएको ७५ दिनपछि मात्रै मुद्दा दर्ता भएको देखिएको र यो घटना आफू जिल्लामा आउनुअघिको भएकाले किन त्यसो भएको हो भनेर बुझ्नुपर्ने उनको भनाइ छ । ‘गत फागुन २५ गते यस घटना सम्बन्धमा पीडितका तर्फबाट जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको रहेछ । पीडकहरू फरार छन् । पीडितमाथि यौन दुर्व्यवहारपश्चात् प्रहरीले मेडिकल जाँच र जिल्ला अदालतबाट पीडकविरुद्ध पक्राउ पुर्जी जारी गर्ने काम समयमै गरेको पाइन्छ । हामी अनुसन्धानकै क्रममा छौँ । बुधबार पीडित परिवारलाई भेटेर जानकारीसमेत लिएका छौँ’, प्रहरी उपरीक्षक शर्माले भने ।
घटना मिलापत्रको प्रयास
कानुनअनुसार यस्तो घटनालाई मिलाउन पञ्चायती बस्न वा गाउँमै मिलापत्र गर्न मिल्दैन तर घटना मिलापत्र गर्न भन्दै पीडितलाई दबाब आएको परिवारले जनाएको छ । ‘प्रहरीले जाहेरी दर्ता गर्न आलटाल गरिरहेकै बेला घटनामा संलग्न व्यक्तिका आफन्त आएर एक लाख दिने र गाउँघरको घटना गाउँमै मिलाउनुपर्छ, बाहिर लैजानु हुँदैन भन्दै दबाब दिए । गरिबको पनि इज्जत हुन्छ । हामीलाई न्याय चाहिन्छ, पैसा होइन भन्ने जवाफ दियौँ तर न्याय पाइएन’ भावुक हुँदै मृतककी भाउजू बिनीतादेवीले भनिन् ।
उनले कानुन बुझेका शिक्षक र कानुनको पालना गराउने र न्याय दिलाउने जिम्मेवारीमा रहेका केही प्रहरी अधिकारीले पनि मिलापत्रका लागि दबाद दिएको परिवारको आरोप छ । मृतककी आमा बिलटौनदेवी सदायले भनिन्, ‘कानुनको कार्यान्वयन गर्ने व्यक्ति र निकायबाटै छोरीमाथि घोर ज्यादती भएको छ । यस्तो ज्यादती गर्ने र पैसा नभएको व्यक्ति मुद्दा नलड्न भन्दै मिलापत्र गर्न उक्साउनेमाथि पनि अनुसन्धान हुनुपर्छ ।’
यस्तै वडा नं ३ का अध्यक्ष वंशीलाल यादवले घटनामा जिम्मेवार निकायबाटै कमजोरी भएकाले पीडितले ज्यान गुमाउनु परेको भन्दै सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरे ।
गृहमन्त्रीद्वारा घटनाको सूक्ष्म छानबिन गर्न निर्देशनपछि प्रहरी सक्रिय
पीडित आनन्दीदेवी मङ्गलबार झुन्डिएर मृत फेला परेपछि घटनाको सूक्ष्म रूपमा छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् । उनले घटनाबारे गम्भीर चासो व्यक्त गर्दै प्रहरी महानिरीक्षक दीपक थापालाई फोन गरी घटना सम्बन्धमा सत्यतथ्य छानबिन गर्न निर्देशन दिएका गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
यस घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । -आईएनएस समाचार
प्रतिक्रिया