जनकपुरमा शालिक निर्माण विवाद : एकातिर भूमिपुजन अर्कोतिर नाराबाजी

जनकपुर । पछिल्ला केही दिनदेखि जनकपुरको राजनीतिक माहोल गर्माएको छ ।

करिब एक हप्तादेखि जनकपुरधाममा दिनहूँ कतै नाराबाजी त कतै टायर बालेर प्रदर्शन हुँदै आएको छ । यसको मूल कारण स्व.रामनारायण मिश्रको शालिक निर्माण स्थलप्रति राजनीतिकर्मी र जनकपुरवासीको असन्तुष्टि हो । जसका कारण राजनीतिक विचार विभाजित भएको छ । कांग्रेस समर्थकहरुले स्व.रामनारायण मिश्रको शालीक जनकपुरधामको धार्मिक एवम ऐतिहासिक महत्व बोकेको गंगा सागर पोखरीको डिलमा निर्माण गर्न लागेका छन् । तर अन्य सम्पूर्ण पार्टी र स्थानीयवासीहरुले सो स्थानमा शालिक निर्माण नहुनुपर्ने आवाज उठाउँदै आइरहेका छन् । 

स्वर्गीय रामनारायण मिश्र लोकतान्त्रिक आन्दोलनका योद्धा एवम गाधीवादी नेता थिए । २०१५ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइराला सरकारमा उद्योग मन्त्री रहेका नेता मिश्रले जनकपुरधाममा रोजगारीको अवसर सृजना गर्न जनकपुर चुरोट कारखानाको स्थापना गराएका थिए । अहिंसाका पुजारी नेता मिश्र समाजको उत्थान र विकासमा निरन्तर लागेका थिए । मिश्रको देहावसान भएको लामो अन्तरालपछि नेपाली कांग्रेसको सक्रियतामा मधेश प्रदेश सरकारको बजेटबाट गंगा सागरको पूर्वी डिलमा उनको स्मृति भवन निर्माण हुन लागेको हो । भवनको लागत पाँच करोड बढी रहेको छ ।

विवादको कारण

नेकपा एमाले, नेकपा माओवादी, नेकपा एस, जसपा नेपाललगायतका पार्टीका पदाधिकारीहरुले स्व.मिश्रको शालिक निर्माण नहोस भनेका छैनन् । उनीहरुले स्व. मिश्रको शालिक निर्माण होस र शालिक भन्दा पनि अझ बढी उनको नामबाट मेडिकल कलेज अथवा अस्पताल निर्माण होस भन्ने विचार प्रस्तुत गरेका छन् । तर हाल निर्माण हुन लागेको गंगा सागर पोखरीको डिल शालिक निर्माणको दृष्टिकोणबाट उचित नरहेको उनीहरुको भनाई छ । गंगासागर पोखरीको डिल सर्वसाधारणहरुले आवतजावत गर्न प्रयोग गर्दै आएका छन् । साथै यहाँ छठ पर्वको बेला सबैभन्दा बढी श्रद्धालुभक्तजनको भीड हुने गर्छ । पोखरी छेउमै स्वर्गद्वारी रहेकाले शव जलाउन आउनेहरुलेसमेत उही बाटो प्रयोग गर्ने गर्छन । तसर्थ त्याहाँ शालिक निर्माण गरिएमा स्व मिश्रको मानमा चोट पुगेजस्तो हुने विपक्षी दलहरुको भनाई छ । 

भूमि पुजन गरियो, विरोध कायमै 

बुधबार नेपाली कांग्रेसका अगुवा नेताहरुले शालिक निर्माण स्थलको भूमि पुजन गरेका छन् । व्यापक सुरक्षाकर्मीको उपस्थितीमा भूमि पुजन सम्पन्न भएको हो । भूमिपुजन भइरहँदा एमालेलगायत असन्तुष्ट स्थानीयवासी, धार्मिक अगुवा, विभिन्न स्थानीय क्लबका सदस्यहरुले नाराबाजी गर्दै बिरोध जनाएका थिए । कांग्रेसका शीर्ष नेताहरुले जनकपुरधामको वातावरण अशान्त बनाउन विवादित स्थानमा स्व.मिश्रको शालिक निर्माण गर्न लागेको आरोप युवा नेता एवम समाजसेवी राजुकुमार साहले लगाएका छन् । कांग्रेसका नेता बिमलेन्द्र निधिले आफ्नो परिवारको सदस्य (महेन्द्र नारायण निधि)को नाममा जनकपुरधाममा सांस्कृतिक भवन बनाए तर महेन्द्र नारायण निधिभन्दा बढी महत्वपूर्ण व्यक्ति स्वं रामनारायण मिश्रको सानो शालिकमात्र निर्माण गर्न लागेको आरोप साहले लगाएका छन् । उनले बिमलेन्द्र निधिले जानी जानी यहाँ विवाद सृजना गर्न लागेको आरोप लगाएका छन् । 

यता, स्थानीयवासीले शालिक निर्माण हुनुमा कुनै समस्या नरहेको तर शालिक निर्माणको नाममा अन्य सांस्कृतिक महत्व बोकेको घाटहरु नगरपालिकाले तोडेकोमा आपत्तिजनाएका छन् । व्यवस्थित तरिकाले नामजोख गरेर निर्माण कार्य नभएको गुनासो स्थानीय श्याम ठाकुरको रहेको छ । तर असन्तुष्ट पक्षले शालिक निर्माण स्थलमा लगाइएको पण्डाल, ब्यानर लगायतका वस्तुहरु तोडेर फ्यालेका छन् ।

प्रतिक्रिया