काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान रक्षाका लागि तयार बस्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्टी उद्घाटन गर्दै आज गृहमन्त्री लेखकले संविधान च्यात्ने र भत्काउने प्रयत्न भएकाले त्यसको सुरक्षाका लागि तयार भएर बस्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका हुन्।
'संविधान च्यात्ने, भत्काउने, फाल्ने कोसिश कुनै हालतमा सैह्य हुन सक्दैन, क्षम्य हुँदैन। त्यसकारण सुरक्षा निकायका साथीहरू संविधानका रक्षाका लागि तयार हुनुस्' भन्दै गृहमन्त्री लेखकले भने, संविधानभित्रै बसेर विरोध गर्न पाइने तर लोकतान्त्रिक गणतन्त्रको संविधानलाई नै समाप्त गर्न पाइदैन।
पूर्व राजाका समर्थकहरुले मच्चाएको हिंसात्मक प्रदर्शन, फरक शैलीमा विरोध गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी र अन्य विपक्षी दलको प्रदर्शनहरु जारी रहेका बेला सुरक्षा चुनौति बढ्दै गएको सन्दर्भमा गृह प्रशासनले सुरक्षा सतर्कता निकै बढाएर लगेको छ।
यही पृष्ठभूमिमा प्रदेश तहमा सुरक्षा बैठक गरेर सुरक्षा चुनौतिको समीक्षा गरिएको देखिन्छ । गृहमन्त्रीले भने, आफूलाई मन नपरेको राजनीतिक दल, नेता, सांसद, मन्त्री र प्रधानमन्त्रीसम्मको विरोध गर्न पाइन्छ तर लोकतान्त्रिक र गणतन्त्रात्मक संविधानलाई समाप्त गर्छु भन्न पाइँदैन, च्यात्न पाइँदैन। फाल्न पाइँदैन ।
गृहमन्त्री लेखकले थोरै समयमा धेरै संविधान बन्दा अस्थिरता अन्योल सिर्जना भएको बताउँदै अहिलेको संविधानलाई पनि संशोधन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्ने बताए ।
'संविधान निर्माणमा एकाकार हुने दल र राजनीतिक शक्तिहरूबीच सहमतिको आधारमा संविधान संशोधन गर्छौं,' उनले भने,'अहिलेको संविधानको सुरक्षा आजको आवश्यकता हो।'
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश मातहत प्रहरी नहुँदा सरकारलाई काम गर्न गाह्रो भइरहेको बताएका थिए। संघीय प्रहरी ऐन बनाएर प्रदेशमातहत पनि प्रहरी राख्ने व्यवस्था गरिनुपर्ने उनको भनाइ थियो।
प्रतिक्रिया