ब्राउन सुगर तश्करीमा संलग्न ११ युवा समातिए

सुनसरी । कानूनले निषेध गरेको ब्राउन सुगर तश्करीमा संलग्न युवाहरुको ठूलो संख्या सुनसरीको विभिन्न स्थानहरूबाट पक्राउ परेको छ ।

सुनसरी प्रहरीको अनुसन्धान इकाईले लागू औषध नियन्त्रण अभियान अन्तर्गत ब्राउन सुगरसहित ११ युवालाई नियन्त्रणमा लिएको जनाएको छ।

लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीको संयुक्त टोलीले कोशी गाउँपालिका वडा नम्बर १ स्थित पुरीटोल र भोक्राहा नर्सिङ गाउँपालिका वडा नम्बर ६ ढलान रोड क्षेत्रमा विशेष चेकजाँचको क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

दिउँसो १२ः३० बजेदेखि साँझ ७ः४५ बजेसम्म सञ्चालन गरिएको उक्त अपरेसनमा पक्राउ परेका विभिन्न व्यक्तिहरूको साथबाट कुल ३५।२० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूमा रामधुनी नगरपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका तथा मोरङको सुन्दरहरैँचा नगरपालिका लगायतका स्थानका बासिन्दा छन्।

प्रहरीका अनुसार २० वर्षीय करण चौधरी, ४० वर्षीय पर्वत यादव, १९ वर्षीय रोमन चापागाईँ, १९ वर्षीय मिलन तामाङ, ४२ वर्षीय प्रेम कुमार राई, २५ वर्षीय अनिल खवास, अजित श्रेष्ठ, ३४ वर्षीय किशोर र २७ वर्षीय निरन श्रेष्ठको साथबाट विभिन्न मात्रामा ब्राउन सुगर बरामद भएको हो। त्यस्तै, धरानका सरोज विश्वकर्मा र सुन्दरहरैँचाका दिपेश तामाङको साथबाट भने लागू औषध फेला नपरेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। प्रहरीले लागू औषध कारोबार तथा सेवनलाई नियन्त्रणमा लिनका लागि कडाइका साथ अपरेसन जारी राख्ने जनाएको छ।

यस प्रकारको संयुक्त अपरेसनले लागू औषध विरुद्धको अभियानलाई थप प्रभावकारी बनाउने विश्वास प्रहरीको रहेको छ।

प्रतिक्रिया