रारा पुगेर फर्किनु भनेको काठमाडौँ बस्ने हाम्रा लागि एउटा ठूलै युद्ध जितेर फर्किनु रहेछ । बीचमा राकम, कालिकोट हुँदै सल्लेरी पुग्दासम्म यस किसिमका सानासाना युद्ध लडिरहनु पर्दोरहेछ।
यो त काठमाडौँका अलिअलि पुगिसरी आएका हामीजस्ताको कुरा हो। त्यहाँका वासिन्दा त दिनरात यस्तो युद्ध अनादिदेखि आजका मितिसम्म लड्दै आइरहेकाहरू छन् । उनीहरूको जीवनस्तरलाई सहज बनाउने बाटो कुनै व्यवस्था र सरकारले खोजिदिन सकेको छैन।
२००७, २०१७, २०४६, २०६२/२०६३ गरी चारचार पटक व्यवस्था परिवर्तन भए, सरकार बदलिए तर कुनै पनि व्यवस्था र सरकारले कर्णालीको जनजीवनलाई वास्ता गरेन । छन त त्यहाँ प्रहरी, सेना र कार्यपालिकाको तहगत उपस्थिति छ। प्रदेश र स्थनीय सरकार पनि छ तर त्यहाँ कसैको अनुहार देखिँदैन । दैलेखदेखि मुगुसम्मको करिब २५० किलोमिटर सडक मात्र कालोपत्रे गरिदिए त्यहाँका बासिन्दाले आफ्नो ठाउँ स्वर्ग रहेछ भन्ने अनुभूति गर्ने थिए । तर गरुडपुराणमा भनिएको वैतरणीको कष्ट त्यहाँका मानिस अनादिदेखि भोग्न बाध्य छन् विनापाप । र, पाप गर्ने राज्यलाई कुनै भगवानले सजाय दिन सकेका छैनन् ।
तर त्यस क्षेत्रमा राज्यको दृष्टि पुग्ने हो भने त्यो ठाउँ अर्को अमरावती हुने थियो ।
नेताहरू कुर्सी साटासाटको खेलमै रमाएर थाकिसकेका छन् । त्यसैले काठमाडौँदेखि रारा पुगेर त्यो जाबो अढाइ सय मिटर लामो पक्की सडक नबनेका कारण स्थानीयले दिनदिनै कष्टकर कहर काट्नुपरेको थाहा पाएका छैनन् । यिनलाई यसको चिन्ता र चिन्तन केही छैन । कठै अबला जनता !
र ती मानिसलाई स्वर्ग पुर्याउने सरकार आफैँ नर्कमा डुबेको छ । अनि ती निर्दोष जनताले के बुझ्थे स्वर्गको अर्थ र अस्तित्व ? कसरी थाहा पाउँथे र राज्यको दायित्व ?
अहिले सङ्घीय, प्रदेश र स्थानीय गरी यस देशमा तीनतीनवटा सरकार छन् तर यति किलोमिटर पक्की सडक बनाइदिन त्यहाँ कुनै तहका सरकार तत्पर छैनन् ।
छन त सङ्घीय र प्रदेश सरकारका 'माननीयज्यू'हरू पनि छन् र स्थानीय सरकारका प्रतिनिधिहरूको पनि बाक्लै लस्कर लागेको छ । तर त्यहाँ यति सडक कालोपत्रे गर्न कसैको विवेक र कर्त्तव्य पुगेको देखिँदैन ।
र, जुन दिन सरकारले जनताप्रति आफ्नो दायित्वबोध गरेर त्यतातिर दृष्टिपात गर्छ। अनि जुन दिन यो करिब २५० किलोमिटरको सडक कालोपत्रे हुन्छ, निश्चय नै त्यो दिन आममानिसको दृष्टिबाट ओझेल परेको रारातालको स्वर्गीय सौन्दर्य सर्वव्यापी हुनेछ । फलतस् देशको पर्यटकीय विकासले देशको अर्थतन्त्रलाई नै टेवा मिल्ने छ ।
तर त्यो दिन के यही युगमा आऊला ! सम्भावना रारायात्राजत्तिकै दुर्गम छ । (गीतकार रमण घिमिरेले रारा फन्को लाएर फर्केपछि लेखेका संक्षिप्त टिप्पणी रोचक छ, उनको फेसबूकबाट साभार)
प्रतिक्रिया