७ हजार ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा अप्रत्याशित गिरावट आएको छ। मंगलबार इतिहासमै उच्च मूल्यमा कारोबार भएको सुन, एकैदिनमा भारी दरले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार छापावाल सुन प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँमा झरेको छ। मंगलबार यही सुन १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। यसरी हेर्दा २४ क्यारेट सुनको मूल्य ७ हजार ५०० रुपैयाँले घटेको देखिन्छ। सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँमा झरेको छ। सुनचाँदीको मूल्यमा आएको यस गिरावटको कारण अन्तर्राष्ट्रिय बजारको उतारचढाव र भूराजनीतिक अवस्था हुनसक्ने विश्लेषकहरू बताउँछन्।

प्रतिक्रिया