भूकम्पले ढलेका सम्पदाहरु परम्परागत शैलीमै बनेका छन् : मन्त्री पाण्डे

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भूकम्पपछि बनेका सम्पदाहरू परम्परागत शैलीमै निर्माण गरिएको बताएका छन् । 

शुक्रबार अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौँ उपत्यका विश्व सम्पदाको क्षेत्र) को तेस्रो वार्षिक बैठकको उद्घाटन गर्दै मन्त्री पाण्डेले सम्पदा भनेको सभ्यताको पहिचान भएको बताएका हुन् ।  उनले भने, ‘यी हाम्रा परिचयका प्राण तत्व पनि हुन् । यसमा केबल भौतिक वस्तु मात्रै होइन, अभौतिक वस्तु समेत रहेको छन् । त्यसैले हाम्रो इतिहास छ । हाम्रो इतिहास दर्विलो छ । भूकम्पपछि ढलेका सम्पदाहरुको पुरातात्विक संर या पुनः निर्माण परम्परागत शैलीमै गरिएको छ’ । उनले थप भने, ‘ललितपुरमा पनि कला जीवित छ । भक्तपुरमा पनि जीवित छ । काठमाडौँमा जीवित छन् । अरनिको अहिले पनि जीवित छन् । त्यसैले हामीले हाम्रो गौरवलाई जोगाएर संरक्षण गर्दै जाने र पुस्तान्तरण गर्दै जाने हो । युनेस्कोको सम्पदा सूचीमा सम्पदालाई जोड्न खोज्छौँ । त्यसैले हाम्रा सम्पदाहरु विश्वव्यापी छन् ।’ उनले सम्पदा जोगाउने भनेकै त्यहाँको स्थानीयको भएको बताए । 

मन्त्री पाण्डेले स्थानीयको सहभागीता विना सम्पदाहरुको संरक्षण गर्न नसकिने बताए । उनले भुकम्पका कारण थुप्रै सम्पदाहरु ढलेको भन्दै अहिले ती सम्पदाहरु उठ्ने क्रममा रहेको बताए । उनले भने, ‘भूकम्पपछि ढलेका सम्पदाहरु उठ्ने क्रममा छन्, ती उठ्नु सँगसँगै विश्वास पनि उठेको छ । हाम्रा आस्था पनि उठेका छन् । र हाम्रो आत्मविश्वास पनि उठेको छ । हामी गर्न सक्छौं, भूकम्पको दश वर्ष मनाइरहँदा दश वर्षको समीक्षा समेत गर्न जरुरी छ ।’ 

मन्त्री पाण्डेले काठमाडौं भित्रका थुप्रै हनुमानढोका, बौद्ध, पशुपतिनाथ, कृष्ण मन्दिरलगायतका सम्पदाहरुको संग्रह र व्यवस्थित गर्नुपर्ने औंल्याए ।

प्रतिक्रिया