काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको प्रभावले विनाशकारी प्रवृत्तिहरूलाई तीव्र बनाएका कारणले विश्वव्यापी रूपमा नै मानवअधिकार सङ्कटमा परेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।
मंगलवार काठमाडौंमा वार्षिक मानव अधिकार प्रतिवेदनको विमोचन गर्दै एम्नेस्टी इन्टरनेसनलका निर्देशक निराजन थपलियाले राष्ट्रपति ट्रम्पको पहिलो १०० दिनले सन् २०२४ मा देखिएको विश्वव्यापी प्रतिगमन र गहिरोसँग जरा गाडेर रहेको प्रवृत्तिहरूलाई अझ तीव्र बनाएको बताएका छन् । ‘अन्तर्राष्ट्रिय मानवअधिकारको संरक्षणलाई निस्तेज पारिरहेको र विश्वका अर्बौं मानिसहरूको जीवनलाई जोखिमततिर धकेलिरहेको ट्रम्प प्रशासन मानवअधिकार विरोधी अभियानले यसअघिदेखि नै विश्वमा विद्यमान हानिकारक प्रवृत्तिहरूलाई थप तीव्र बनाइरहेको चेतावनी दिएको छ,’ उनले भने । उनले द्वन्द्वहरुका कारण सरकारले निर्मम दमन गरेको पनि बताए ।
उनले भने, ‘वर्षैपिच्छे मानवअधिकारमा भएको उपलब्धिबाट पछि हट्ने जोखिमताका बारे चेतावनी दिँदै आएका छौं । प्रत्यक्ष प्रसारण भइरहेको तर कसैले वास्ता नगरेको इजरायलद्वारा गाजामा भइरहेको प्यालेस्टिनीहरूको जातीय संहार मात्र नभएर विगत १२ महिनामा भएका घटनाहरूले सबैभन्दा शक्तिशाली राष्ट्रहरूले अन्तर्राष्ट्रिय कानुनलाई त्याग्ने र बहुपक्षीय संस्थाहरूको बेवास्ता गर्ने कार्यले गर्दा संसारमा धेरै मानिसहरूका लागि कति नारकीय बन्न सक्छ भन्ने उदाङ्गो छ ।’ उनले संसारभरी भावी पुस्ता सङ्कटमा पर्नुका साथै शरणार्थी, महिला, बालिकाहरुको अधिकारविरुद्ध प्रतिकुलता बढिरहेको पनि बताए । ‘विश्वव्यापी असमानता जलवायु सङ्कट र प्रविधिगत रुपान्तरणले चुनौति थपिदिएको छ । ति चुनौतिलाई सम्बोधन गर्न संसारका सबै राष्ट्र विफल भएका छन् । जसले गर्दा भावी पुस्ता ठुलो सङ्कटमा रहेको देखिन्छ । आप्रावासी, शरणार्थी, महिला, बालिका र यौनिक एवम फरक पहिचान भएका व्यक्तिहरुको अधिकारविरुद्ध संसारभरि प्रतिकुलता बढिरहेको छ,’ उनले भने ।
प्रतिक्रिया