'कोसिस गर्यौं तर पार्टीमा रुपान्तरण ल्याउन सकिएन'

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण ल्याउन नसकिएको बताएका छन् । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ को शनिबार खैरेनीटारमा आयोजित पदस्थापन कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीमा नयाँ रुपान्तरण ल्याउने अभियानमा लागे पनि अन्तिममा आएर उक्त प्रयास पूरा हुन नसकेको बताएका हुन् ।

“पार्टीमा नयाँ रुपान्तरण ल्याउनुपर्छ भनेर धेरै प्रयास गर्यौँ तर केही साथीहरूको व्यक्तिगत आकांक्षाका कारण पूरा हुन सकेन”, पौडेलले भने । वरिष्ठ नेता पौडेलले १४औँ महाधिवेशनले आफूले उठाएका रुपान्तरणको प्रश्नको उत्तर दिनुपर्नेमा जोड दिए । “सबै साथीहरू उठ्छौँ भनेपछि म प्रतिस्पर्धाबाट अलग रहेँ, उहाँहरूकै अनुरोधमा म प्रतिस्पर्धामा गइन”, उनले भने “१४औँ महाधिवेशनले मैले उठाएको प्रश्नको उत्तर आएको छैन ।” वरिष्ठ नेता पौडेलले पार्टीमा जनताको आकर्षण बढाउन लाग्नुपर्नेमा सुझाव दिए ।

कांग्रेस जनताको बीचमा अपमानित भएको गुनासो गर्दै उनले पार्टीलाई सम्मानित बनाउनु आजको आवश्यकता रहेको तर्क गरे । उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन्स (एमसीसी) पारित गर्नुपर्ने बताए । पौडेलले एमसीसी राष्ट्रघाती भएको भन्दै भ्रममा पार्न खोजिएको जिकिर गरे ।

प्रतिक्रिया