काजकिस्तानमा मन्त्रिपरिषद विघटन गरी संकटकाल घोषणा

काजकिस्तानका राष्ट्रपति कास्यम जोमार्त तोकायेभले मन्त्रिपरिषद विघटन भएको घोषणा गरेका छन् । मध्य एसियाली मुलुक काजकिस्तानमा देशव्यापी विरोध प्रदर्शन भइरहेपछि उनले वुधबार मन्त्रीपरिषद् नै विघटन गरेका हुन् ।

विद्युतको मूल्य बृद्धि भएपछि त्यसको विरोधमा केही समयदेखि देशव्यापी आन्दोलनका कार्यक्रमहरु भइरहेका थिए । उनले देशको सवैभन्दा ठूलो सहर तथा आर्थिक राजधानी अल्माटी र पश्चिमी प्रान्त माङगीस्टाउमा संकटकाल लागु गरिएको घोषणा पनि गरेका छन् ।

संकटकाल लागू गरिएका दुवै सहर आन्दोलनकारीहरुको बढी प्रभाव रहेको सहर मानिन्छ । हजारौ आन्दोलनकारीले सडकमा उत्रिएर प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए । प्रधानमन्त्री अस्कर मामिनले दिएको राजीनामा राष्ट्रपति तोकायेभले स्विकृत गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ । नयाँ प्रधानमन्त्री नियुक्त नहुँदासम्म उपप्रधानमन्त्री अलिखान स्माइलोभले जिम्मेवारी सम्हाल्नेछन् ।

आन्दोलन दवाउनका लागि सरकारले मंगलबार अल्मातीमा अश्रुग्यास प्रहार गरेको थियो । सरकारले घोषणा गरेको संकटकाल यही जनवरी ५ देखि १९ सम्म कायम रहने भएको छ ।

प्रतिक्रिया