हुम्लाका लामा समुदायले मनाए ल्होसार पर्व

 

हुम्लाका लामा समुदायले ल्होसार पर्व बिबिध कार्यक्रम आयोजना गरी मनाएका छन् । सोमबारबाट सुरु भएको तोतङ्री ल्होसार उनीहरुले सामूहिकरूपमा मनाएका हुन् । लामा समुदायको नयाँ वर्ष अर्थात् तोतङ्री ल्होसार २१४९ ताक ल्हो बाघ वर्ष सुरु भएको छ ।

जिल्लाको सिमकोट गाउँपालिका–३ र ४ मा बसोबास गर्दै आएका लामा समुदायले एकापासमा रमाइलो गरेर ल्होसार पर्व सम्पन्न गरेका हुन् । सदरमुकाम सिमकोटमा बसोबास गरिरहेकाले ती समुदायले सामूहिकरूपमा ल्होसार मनाएको लामा सांस्कृति मञ्चका सचिव छवाङ लामाले जानकारी दिनुभयो । उहाँले बुधबार बिहान पूजापाठपछि लिङ्गो ठड्याएर पर्व सम्पन्न भएको बताउनुभयो । बौद्ध धर्मअनुसार यस अवसरमा पूजापाठ गर्दा सिङ्गो वर्षभरि नै सबैलाई राम्रो हुने उनीहरुको धार्मिक मान्यता छ ।

बालकदेखि वृद्धासम्म नयाँ पोशाकका साथ ल्होसार मनाउन उपस्थित भएका थिए । मुख्य ल्होसार सोमबार भए पनि हुम्लावासीले भने तीन दिनसम्म मनाउने गर्दछन् । जिल्लाको माथिल्लो भेगमा बौद्ध धर्म मान्ने लामा समुदायको बसोबास छ । सिमकोट गाउँपालिकाको वडा नं ३ र ४ तथा नाम्खा गाउँपालिका–१ देखि ६ सम्म ती समुदायको बसोबास छ । पर्वका अवसरमा उनीहरुका बीचमा एकापसमा मिलीजुली मीठो–मसिनो परिकार सामूहिकरूपमा बाँडेर खाने चलन छ ।

अन्तिम दिन बुधबार उनीहरुले पुरानो पहिरन पुरुषले बोक्खु लगाउँछन् भने महिलाले ठाइकोर, मुगा, मत्तिउको मालाका साथै पुरानो कपडामा सजिएर रमाउने गरेका छन् । उनीहरुले ल्होसारलाई विषेश महत्वका साथ मनाउने गर्दछन् । ती समुदायले हरेक वर्षको पुस शुक्ल प्रतिपदाको दिन ल्होसार पर्व मनाउने गर्दछन् । तोतङ्री ल्होसार नै अन्य ल्होसारको उद्गम मानिन्छ । तोतङ्री ल्होसारको आफ्नै दर्शन र महत्व छ ।

गत वर्ष कोरोना सङ्क्रमणका कारण उनीहरुले ल्होसार पर्वलाई एकापासमा जम्मा भएर मनाउन नपाए पनि यस वर्ष सबै जम्मा भएर मनाएका हुन् ।

प्रतिक्रिया