कसैले पनि दौर्मनस्य, रिस, द्वेष, मोह (अज्ञानता) नभइ कसैको हत्या गर्न सक्दैन । लोभका कारण पनि अरुको हत्या हुने गर्दछ । अत्यधिक मोह भयो भनेपनि हत्या हुने गर्दछ भने आफ्नै हत्या गर्नको लागि पनि दौर्मनस्य, रिस द्वेष, मोहको आवश्यकता हुन्छ ।
विकारसहित मन कहिले पनि सही मन हुनसक्दैन । विकाररहित हुन सक्नु नै मुक्त अवस्था प्राप्त गर्नु हो । यो कुनै कुरा पढेर मात्रै हुन सक्ने कुरा होइन । यसकालागि अभ्यासको आवश्यकता पर्छ । तब मात्र वास्तविक रुपमा कोही आफुलार्ई विमुक्त बनाउन सक्छ । स्वयम्ले आफ्नो हत्या गर्ने कामलार्ई आत्महत्या भनिन्छ । भौतिकवादी संसारमा धेरै आशा गरिएका कुराहरुको पूर्र्ति नहुनु मानिसहरुमा मानसिक तनाव, रिस, इर्श्या तथा पीडा बढ्नुका कारकहरु हुन् । यस्तो अवस्था एकदिनको कारणले मात्र सिर्जना भएको हुँदैन । द्वेषको मात्रा थुप्रिँदै गएपछि त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने कुराको ज्ञान हुँदैन । अनि आफूलार्ई समाप्त गर्नतिर उद्यत हुन्छ । धेरै कुरा सोचेर उत्तम मार्ग त्यही आत्महत्या ठीक हो भनेर इहलीला समाप्त गर्नेको संख्या दिनानुदिन बढ्दै गइरहेको देखिन्छ ।
यसरी जीवन बर्बाद गर्नेहरुप्रति न त सरकार न त सामाजिक परिवेश संवेदनशील भएको देखिन्छ । सरकारसँग यसलार्ई महत्व दिने कुनै नीति छैन । कानुनमा दण्डनीय अपराधको रुपमा विकास गरेपनि यसलाई रोक्नको लागि नीतिगत पहल गरेको देखिँदैन । सरकारी अड्डा पनि कारवाही गर्दा संवेदनशील देखिँदैन । उसलाई निर्दोष छु भन्ने कुरातिर भन्दा पनि दोषी नै हुँ भन्ने कुरा प्रमाणित गर्नतिर बढी केन्द्रित देखिन्छ । अनुसन्धानका फाइल हेर्दा त्यही देखिन्छ । त्यसैले सरकार संवेदनशील छैन । सामाजिक परिवेश यस्तो छ कि यसले जसरी पनि अरुको कुरा काट्ने, राम्रो भएको देख्न नसक्ने, काखापाखा गर्ने लगायतका यस्ता अनेक समस्या छन् । लान्छना, कुरा काट्ने, झुठो बोलेर अर्काको बदख्वाइँ गरेर रमाउने अर्को परिवेश पनि छ । यी यावत् विषय छन् जसले मान्छेलाई इहलीला समाप्तीको मार्ग रोज्नमा सहयोग गर्छन् ।
मनमा विकार उव्जाउनमा पाँच इन्द्रिय मुख्य दोषी छन् । आँखाले देख्ने काम गर्छ । मनसँग जोडिएको हुन्छ त्यसैले देख्छ । जन्मिने वित्तिकै कि राम्रो हेर्ने बानी परेको हुन्छ कि नराम्रो । यस्तो बानी परेको मनसहितको आँखाले सधै प्रतिक्रियात्मक रुपमा हेर्ने हुँदा आँखाबाट विकार पैदा गर्दछ । त्यस्तै कान, नाक, जिव्रो र छालाले पनि यस्तै किसिमका विकार पैदा गर्दछन् । विकार पैदा हुँदै गर्दा सोही विकारप्रति मन तानिएर बसेको हुन्छ । यसैलाई तृष्णा भनिएको हुन्छ । यसै तृष्णा (राम्रोतिर तानिएको होस वा नराम्रोतिर) का कारण मनमा विभिन्न संस्कारको निर्माण हुन्छ । यिनै संस्कारलाई नहटाउने हो भने यसैले आत्महत्या गर्नेसम्मको मार्ग तय गरिदिन्छ ।
अंगुलीमाल भन्ने व्यक्तिले भगवान बुद्धको समयमा ९९९ जना व्यक्तिको हत्या गरे । उनमा रिसको संस्कार यसरी बढेर गयो कि मान्छे देख्ने वित्तिकै मार्नु पर्ने बानी परेको थियो । जसलाई मारे उनको एउटा बूढी औंला काटेर आफ्नो घाँटीमा माला बनाएर लगाउने गर्दथे । पछि भगवान बुद्धसँग साक्षात्कार हुने समय मिलेपछि गलत गरेको भान भइ आफूमा जम्मा भएका रिस, राग, द्वेषको संस्कारहरुलाई मनबाट बाहिर फाल्ने विधि अपनाएर मुक्त अवस्थामा पुगे । मुक्त अवस्था भनेको विकाररहित मनको विकास गर्न सफल भए । यसैलाई मुक्त अवस्था भनियो ।
विकार हेर्न जान्नु पर्छ । विकार पैदा गरेपछि त्यसलाई हेर्न जान्नेले मात्र मानसिक विकारको सही व्यवस्थापन गर्न सक्छ । नत्र जुन विकारले टाउको उठाउँछ सोही दिशातिर मनको गति बढ्छ अरु केही देख्न नसकेपछि अन्तिम निर्णय लिन बाध्य हुन्छन् । जस्तो कसैले रिसलाई हेर भनेर भनियो भने यदि उसले रिसको कारण शरीरमा हुने परिवर्तनलाई हेर्न भनेर सिकाइने विधि हो विपश्यना । नत्र कसैले हेर्न जानेन भने रिसको न त कुनै आकृति हुन्छ । न त कुनै रंग । यसरी उत्पन्न हुने विकारलाई कसरी रोक्ने त भन्दा पाँच इन्द्र्रियलाई नै समाप्त गर्ने कुरालाई पनि आत्महत्या भनिन्छ । अनि विकारलाई कसरी रोक्ने भन्दा आँखासँग बाहिरी आवरणको सम्पर्क नै हुन नदिने । जसलाई पालिमा सन्धिं विदित्ता भनेर भनिन्छ अर्थात जोडिन नदिने, सन्धि हुनै नदिने विधि । आँखासँग कुनै कुरा स्पर्श भयो भने त्यसलाई प्रज्ञामा बदल्ने विधिलाई सन्धिं विदित्ता भनिएको हो ।
यस्तै अन्य इन्द्रियको हकमा पनि गर्ने हो भने विकारको उत्पत्ति नै हुँदैन । विकारलाई व्यवस्थापन गर्नको लागि उठेको रिसलाई प्रज्ञा (ज्ञान) मा बदल्न सक्नु नै विपश्यना हो । यो ध्यान विधिका तीन चरण छन् । एउटा शील (हत्या नगर्ने, चोरी नगर्ने, झुठा नबोल्ने, व्यभिचार नगर्ने (परस्त्री परपुरुषगमन नगर्ने) र धुमपान मद्यपान नगर्ने, दोश्रो समाधि (हरेक क्षण सजग बनाउने) र तेश्रो प्रज्ञा (ज्ञान जागृत गराउने) हुन् । जब कसैले आफ्ना विकारलाई ज्ञानमा परिणत गर्न जान्दछ् कसैले पनि आत्महत्या गर्दैन । भगवान बुद्धले जीवहत्यालाई बर्जित गर्नु भएको थियो भने आफ्नो हत्या आफैँ गर्न पाइँदैन थियो । मानव जीवन बहुत दुर्लभ जीवन हो । के थाहा फेरि यो जीवन पाइएला नपाइएला । यही जीवन पाइएको बेला सम्यक जीवन जीउन सके आफ्नो अर्को जीवन पनि सफल हुने निश्चित नै छ ।
भगवान बुद्ध नेपालमा जन्मेको भनेर छाती पिटेर मात्र मुक्त हुने होइन । मुक्त अवस्थालाई अनुभूतिको अवस्थाबाट बुझ्न पर्छ । भगवान बुद्धको शिक्षाले हामीलाई मुक्त अवस्थामा पुग्न सकिन्छ भन्ने कुराको तत्काल अनुभूति गराइदिन्छ । अरुको शिक्षाले अनुभूति गराउन सक्दैन भनेर त म भन्दिन तर सार्वजनिन धर्मको अभ्यास गर्ने जुनसुकै शिक्षाले मुक्त अवस्थामा पुर्याउन सक्छ भन्ने कुरा थाहा पाएको छु । यहाँ मुक्त भनेको जीवनलीला समाप्त गर्ने कुरालाई भनिएको होइन । मुक्ति भनेको जीवनमरणको चक्रबाट छुटकारा पाइएको मनलाई भनिएको हो । यस्तो जीवन जो जन्ममरणबाट छुटकारा पाइयोस् । यसैलाई सम्यक साधना भनिएको छ । जो जो यस धर्मगंगामा डुब्की लगाएका छन्, ढिलो चाँडो मुक्त अवस्थामा पुगेका छन् । आफूले बुझेको र अग्रजहरुबाट थाहा पाएसम्म यो साधना पथमा हिँड्ने कसैले पनि आफ्नो इहलीला आफँैले समाप्त गरेको उदाहरण छैन । चित्त विशुद्धिको मार्गमा आत्महत्या गर्ने गरी उत्पन्न हुने मनोविकारलाई नै समाप्त गरिदिएपछि कसैले पनि आत्महत्या गर्दैन ।
विभिन्न धार्मिक लेपका कारण कसैलेपनि भगवान बुद्धले के सिकाए भनेर खोज्ने कोशिस गरेनन् तर भगवान हाम्रो नवौँ अवतार हुन् भनेर पूजा गर्दै रहे । तर, पूजाले मन सफा भयो वा भएन त्यो कसैले हेर्न सकेनन् । पूजा नराम्रो होइन तर राग द्वेष सहितको पूजाको कुनै अर्थ छैन । आफ्नो आराध्यदेवका गुण आफूमा आउन सकुन् भन्ने पूजालाई वास्तविक पूजा भनिन्छ । यस्तो निस्काम पूजा गर्न सिकाउने विधि लुप्त भयो । बाटो हराएपछि उक्त बाटोमा आफैं हराउँदै र अल्मलिदै जान्छ । त्यहाँ अनकंटार झाडी विकास हुन्छ । मानसिक, सामाजिक, आर्थिक सबै हिसाबले सही ज्ञान सिकाउने विद्या हराएपछि यो नौलो लाग्नु स्वभाविक हो । यसलाई हामीले आफ्नो जीवनमा धारण गर्न सक्यौँ भने यसले हामीलाई एउटा १० दिनमै हाम्रा संस्कार, बिकार तथा विचारबाट बाहिर ल्याउन सक्छ ।
तत्काल मनको स्वभाव परिवर्तन गर्न सकिन्छ । एक उदाहरण, तिहाड जेल, विश्वका धेरै कैदीहरुलाई राख्ने ठाउँ हो । यो भारतको दिल्ली राज्यमा पर्दछ । त्यहाँ १० हजार कैदीलाई राख्न सक्ने क्षमता छ । किरण वेदी (हाल भारतको पोण्डिचेरी राज्यको गर्भनर) जेल प्रमुख रहेको बेलामा राम सिंह भन्ने प्रहरीले विपश्यना ध्यान गरेका रहेछन् । किरण वेदी जेल सुधार गर्ने हरसम्भवका उपाय अपनाउन खोज्दै थिइन । यसैवीचमा उनलाई प्रहरीले विपश्यना ध्यान विधि एकदम राम्रो छ । मेरो पहिलाको स्वभाव र अहिलेको स्वभावमा निकै परिवर्तन आएको छ भनेपछि यस कुरामा उनलाई निकै चासो बढ्यो । त्यसपछि उनले पूज्य गुरुज्यू सत्यनारायण गोयन्कालाई सम्पर्क बनाइन र एकैचोटी जेल भित्र १ हजार कैदीहरुलाई विपश्यना ध्यान सिकाइयो । परिणाम नसोचेको आयो । यसको चर्चा धेरै गर्दा लामो हुन्छ । हेर्न चाहनेहरुको लागि युट्युबमा डुइङ टाइम डुइङ विपश्यना भन्ने लगभग १ घण्टाको डकुमेन्ट्री रहेको छ । यसलाई हेर्न सक्नु हुनेछ ।
मेरो सानीआमाको छोरा मसँग जहिले रिसाएर बस्थे । एक १० दिवसीय विपश्यना ध्यान शिविर बसेपछि उनले मलाई भेट्ने चाहना गरेअनुसार हामी अनामनगरको शिखर फुडल्याण्डमा बसेर उनले रिसाएको कुराप्रति रिएलाईजेशन गरेका थिए । एक १० दिनमै कसैको मानसिक अवस्थालाई परिवर्तन गर्ने विधिलाई हामीले पाठ्यक्रमबाट भएपनि जानकारी दिलाउनु पर्छ । हाम्रा एकजना सहायक आचार्य जो आजपनि बुढानिलकण्ठ धर्मश्रृंगमा सेवामा हुनुहुन्छ । वहाँमा डरको विकार उत्पन्न भयो । वहाँ ३० दिनको ध्यान साधनामा बस्नु भएको थियो । वहाँ जहाँ जानपनि पहिला निकै डराउनु हुन्थ्यो । जब डरको विकार उत्पन्न भयो । आत्महत्या गर्न डोरी खोज्न थाल्नु भयो । ध्यान केन्द्रमा जति गरेपनि डोरी पाउनु भएन । रातिको १ बजे श्रद्धेय मदन तुलाधर (मदन गुरुज्यू) ज्यूको सानिध्य पाउनु भयो । वहाँले विकारको उत्पत्ति र विनाशको विषयमा प्रवचन तथा ध्यान सिकाएपछि छातिबाट कालो डल्लो बाहिर निस्केको अनुभूति भएछ । त्यो दिनदेखि वहाँमा डरको विकार छैन । हिजो सानो कुरामा डराउने व्यक्ति आज अनकन्टार मुहानपोखरीको जंगलमा जान वहाँलाई समस्या छैन । त्यसैले आत्महत्या गर्ने विकार पनि आफैं हट्दै जानेमा म विश्वस्त छु । समाजका हरेक व्यक्तिले यो साधना कम्तीमा एक १० दिन बस्नै पर्छ जस्तो लाग्छ ।
अतः विश्व स्वास्थ संगठनको आँकडानुसार संसारमा आत्महत्या गर्ने देशमा नेपाल सातौं स्थानमा पर्ने रहेछ । यहाँ महिलाले झन बढी गर्ने रहेछन् । पुरुषको थिचोमिथो सहन नसकेर पनि होला । अन्य कारण पनि छन् । लकडाउन पछि १५०० को हाराहारीमा आत्महत्या गर्ने बढे । यो संख्या अझ बढी हुन सक्ने मानसिक रोग विशेषज्ञहरूको दाबी छ । वर्षेनी २० हजार भन्दा बढीले आत्महत्या गर्दा रहेछन् । हामी कोरोनालाई महामारी भन्दै गर्दा कतै आत्महत्या गराउनतिर त लागि रहेका छैनौैं, गम्भीर भएर सोच्न ढिलो भैसकेकोजस्तो लाग्छ । अहिलेका क्वारेन्टिनहरुमा ध्यानलाई बढावा दिने हो भने पनि त्यसबाट श्रृजित समस्या समाधान हुन सक्छन् । खराब मानसिक अवस्था जो कसैमा आउन सक्छ । यो कुरा उसको रहनसहन संस्कारमा भर पर्छ । उसले मनको गतिलाई हेर्न जानेको अवस्थामा यो संख्या घट्नेमा म विश्वस्त छु ।
सरकारले नीति बनाएर कार्यान्वयन गर्नुपर्छ । समाजका सबै वर्गसँगको छलफलपछि नीति बनाइनु पर्छ । यो विषयलाई पाठ्यक्रममा राख्नु पर्छ । मनको यो पाटो विकास हुनै नदिनको लागि ध्यान साधनाको अभ्यासतिर लाग्नु पर्छ । जीवनमा सबैको मनमा एकपल्ट त आत्महत्या गरांै भन्ने आइहाल्छ । प्रेम सदभाव बढाउने परिपाटीको विकास हुन जरुरी छ । अहिलेको हाम्रो शहरिया परिवेश इर्श्या - डाहाले भरिएको छ । पारिवारिक कलह बढेका छन् । प्रतिस्पर्धात्मक शिक्षा प्रणालीको विकासका कारण पनि आत्महत्या बढेको पाइन्छ ।
(लेखक जोशी पेशाले कानून व्यवसायी हुन्, उनी विपश्यनाका साधक पनि हुन् ।)
प्रतिक्रिया